भिरबाट खसाएर गाई मार्ने कार्यमा सरकारी कार्यालय नै सम्लग्न ! उपमहानगरको गाडीका ५ चालक पक्राउ

सुर्खेत, १४ भदौ । बाँकेबाट पाँच वटा ट्रकमा गाई लगेर सुर्खेत पुर्याउने ट्रक चालक र त्यसका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । दैलेखको शिरस्थान लाने भनेर ट्रकमा लगिएका गाईहरु सुर्खेतको कटकुवा जंगलमा छाडिएका थिए । त्यसमध्ये केही गाईहरु भिरबाट खसालेर मारिएको थियो । उपमहानगरकै गाडीमा हालेर लगिएका गाइ भिरबाट खसालिएका कारण यसमा नेपालगञ्ज उपमहानगरकाे सम्लग्नता देखिएकाे सराेकारवालाहरु बताउँछन । उक्त महानगरका कुन तहका मान्छे यसमा सम्लग्न थिए भन्ने खाेजि हुन थालेकाे छ । त्यसैगरी बाँके जिल्ला प्रशासन कार्यालयले यति ठूलाे संख्यामा गाइहरु के का अाधारमा दैलेख लान स्वीकृति दियाे भन्ने कुराकाे पनि छानविन हुनुपर्ने कुरा उठेकाे छ । 

अनौठो त यो छ कि नेपालगञ्ज उपमहानगरपालिकाकै गाडीमा राखेर २९१ गाई सुर्खेतको जंगल पुर्याइएका थिए । साथै जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रअनुसार नै नेपालगञ्ज उप–महानगरपालिकाले ती गाईहरु दैलेखको शिरस्थान पठाउन लागिएको थाहा भएको छ । तर, एकातिर जिल्ला प्रशासन कार्यालयको चिठीदेखि उपमहानगरपालिकाको पहल देखिन्छ र उपमहानगरकै गाडीमा गाई लगिएका छन्, अर्कोतिर ती गाई लाने भनिएको ठाउँमा कोही कसैलाई पनि केही थाहा छैन । गाई मगाइएको पनि छैन । त्यसैले यो घटना रहस्यमय बनेको छ । के नेपालगञ्ज उममहानगरले गाईहरु उठाएर रातारात डाँडा कटाउन यस्तो प्रपञ्च गरेको हो भन्ने प्रश्न उठेको छ ।

यससँगै लगिएका गाई मध्ये धेरै गाइलाई सुर्खेतको अप्ठेरो बाटोमा लगेर भिरबाट खसालिएको छ । भिरबाट खसालिएका मध्ये अहिलेसम्म ३० गाई मरिसकेका छन् । बाँकी केही गाई अहिले पनि घाइते छन् । नेपालगञ्ज उममहानगरपालिकाको काञ्जीहाउसबाट लगिएका ती गाई लाने भनिएको दैलेखको शिरस्थान क्षेत्र पर्ने भैरवी गाउँपालिकाले यसबारे आफूलाई कुनै केही जानकारी नभएको र आफूहरुले लिखित वा मौखिक कुनै माग पनि नगरेको प्रष्ट पारेको छ । भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले भनेका छन, “यहाँ त्यति ठूलो सङ्ख्यामा गाई–गोरु पाल्न सकिने ठाउँ छैन्, भ्रमपूर्ण प्रचार गरिएको छ, शिरस्थान क्षेत्रका लागि कुनै माग भएको छैन् । यो घटना रहस्यमय छ।” शिरस्थान मन्दिर क्षेत्र भैरवी गाउँपालिका–१ मा पर्छ । त्यहाँ शिरस्थान मन्दिर व्यवस्थापन समिति पनि छ । उक्त समितिले पनि आफूहरुले गाई–गोरुको माग नगरेको प्रष्ट पार्दै यो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । 

प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको छ । सुर्खेत प्रहरीले पाँच ट्रकका चालक र सहचालक गरी सात जनालाई शुक्रबारै नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिसकेको छ । मुलुकी अपराधसंहिताअन्तर्गत पशुपक्षी सम्बन्धी कसुर गर्नेलाई कानूनी कारवाही गर्ने प्रावधान छ । अपराधसंहिताको उक्त कसुर अन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । उपदफा २ मा गाई र गोरु मारेमा तीन वर्ष कैदको हुने व्यवस्था छ ।

यसैबीच सुर्खेतको कटकुवा जङ्गलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी केही गाईलाई पुनः नेपालगञ्जतर्फ पठाइएको छ ।स्थानीय प्रशासनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई आजदेखि नेपालगञ्ज फिर्ता पठाउन थालेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले १४२ वटा गाई नेपालगञ्ज पठाइएको जानकारी दिएका छन् । उनले घाइते रहेका कतिपय गाई–गोरुको औषधि उपचार गरी फिर्ता पठाइने बताए ।

वीरेन्द्रनगर नगरपालिकाको पशु स्वास्थ्य शाखाका चिकित्सकको टोलीले शुक्रबार मृत भेटिएका गाईको मुचुल्का तथा शव परीक्षण गर्नुका साथै घाइतेको उपचार गरिरहेका छन् । साथै जिल्ला प्रहरी कार्यालयले मरेका गाईको परीक्षण गरिरहेको जनाएको छ । परिक्षणको रिर्पोटपछि मात्र गाईको हत्या भएको हो वा होइन भन्ने वा होइन भन्ने एकिन हुने प्रहरीले जनाएको छ ।

यी गाईहरु शुक्रबार बिहान ३ बजेतिर वीरेन्द्रनगर वडा नं– १४ पर्ने कटकुवा जङ्गलमा छाडिएको बुझिएको छ । उक्त क्षेत्रका स्थानीयवासीले ‘गौहत्या’ भएको भन्दै घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरेका छन् । यो घटनाको विरोधमा सुर्खेतमा विरोध प्रदर्शन पनि भएको छ । शनिवार सदरमुकाम विरेन्द्रनगरको मङ्गलगढी चोकबाट शुरु भएको र्‍याली वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले गाईलाई दानवीय हिसाबले भीरबाट खसालिएको भन्दै घटनाको निन्दा गरे ।

उनले भने, “एउटा प्रदेशका छाडा पशु चौपाया अर्को प्रदेशको अनुमति बेगर ल्याएर छाडियो, नेपालगञ्ज उपमहानगरपालिकाको गम्भीर लापरबाही हो । दोषी जुनसुकै ओहदाको भए पनि कारवाही गर्न सरकारले हिम्मत गरोस्, गाई राष्ट्रिय जनावर मात्र होइन हाम्रो ९हिन्दू० धर्म–संस्कृतिसँग जोडिएको अभिन्न प्राणी हो,यस्तो अपराधलाई छुट दिन सकिन्न ।”

Loading...