काश्मिरी जनताको पक्षमा आवाज बुलन्द पार्न पाकिस्तानी प्रधानमन्त्री खानको आग्रह

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले काश्मिरका बारेमा लिएको कदमको विरोध गर्दै देशव्यापी रूपमा प्रदर्शन गर्न आह्वान गरेका छन् ।

“म सबै पाकिस्तानीहरूलाई भोलि १२ बजेदेखि साढे १२ बजेसम्म घर बाहिर निस्किएर प्रदर्शनमा सहभागी हुन आह्वान गर्दछु,” खानले बिहीबार भनेका हुन् । उनले प्रदर्शनमा उत्रिनु भनेको काश्मिरका जनताप्रति ऐक्वबद्धता जनाउनु भएको पनि बताए ।

प्रधानमन्त्री खानले ट्वीटरमा लेखेका छन्, “हामी काश्मिरी जनताको पछाडि छौँ भन्ने सन्देश कडारूपमा दिन सक्नुपर्दछ ।”

उनले शुक्रबार संयुक्तरूपमा प्रदर्शनमा उत्रिन पटकपटक आग्रह गरेका छन । संयुक्त राष्ट्रसङ्घको महासभाको पूर्वसन्ध्यामा उहाँले यस्तो प्रदर्शनको आह्वान गरेका हुन् ।

उनले आउँदो महिनामा हुने महासभामा काश्मिरको दूतको रूपमा काश्मिरका जनताको पक्षबाट आवाज उठाउने बताएका छन् ।

भारत र पाकिस्तानबीच काश्मिरको विषयमा लामो समयदेखि विवाद रहँदै आएका समय भारत प्रशासित काश्मिरलाई भारतले दिँदै आएको स्वायत्ततासम्बन्धी व्यवस्था रहेको संविधानको धारा ३७० लाई खारेज गरी उक्त क्षेत्रलाई केन्द्र सरकारको मातहतमा राख्ने निर्णय गरेपछि भारत पाकिस्तानको विवाद थप जटिल बनेको छ । पाकिस्तानको पहलमा यो विषय राष्ट्रसङ्घ सुरक्षा परिषद्मा पु¥याइएको छ ।

भारतीय गृहमन्त्री अमित शाहले धारा ३७० लाई केन्द्र सरकारको निर्णयमा निलम्बन गर्ने घोषणा गरेका थिए । सोही निर्णयअनुसार राष्ट्रपतिले काश्मिरलाई दिइँदै आएको विशेषाधिकारको व्यवस्था रहेको संविभानको धारा ३७० र अनुच्छेद ३५ ‘ए’ लाई खारेज गरेको सूचना जारी गरेका थिए । उक्त निर्णय भारतीय संसद्बाट पनि अनुमोदन भैसकेको छ ।

भारतको यो घोषणासँगै पाकिस्तानसँगको सम्बन्ध फेरि चिसिएको छ भने अन्य देशहरू पनि विभाजित भएका छन् ।