नेपालले भुटानको पोस्टमा गर्यो आधादर्जन गोलको वर्षा

काठमाडौं, १२ भदौ । नेपाली युवा फुटबल टोलीले अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो सम्भावना देखाएको छ । दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाली युवा टोलीले गोलको बर्षा लगाएको छ ।

नेपाली यू–१५ फुटबल टोलीले भुटानलाई गोलको वर्षा लगाएको हो । भुटानको पोस्टमा आधा दर्जन गोल गर्दै नेपाल साफ यू–१५ फुटबल च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ ।

भारतमा जारी साफ यु–१५ को पाँचौं संस्करण अन्तर्गत बिहिबार भएको राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले भुटानको गोलपोस्टमाम ६ गोल प्रहार गरेको हो । भुटानले नेपालको पोष्टमा एउटा गोल पनि हान्न सकेन ।

भारतको पश्चिम बंगालस्थित कल्याणी रंगशालामा भइरहेको प्रतियोगितामा नेपालले यो ऐतिहासिक कीर्तिमान कायम गरेको हो । नेपालको जितमा नेपाली टोलीका कप्तान प्रदीप लम्सालले दुई, अशिम राई, क्रिस सापकोटा, सुगम जिम्मी र निराजन खत्रीले १–१ गोल गरे।

खेल सुरु भएको पाँच मिनेटमै पेनाल्टी अवसर पाएको नेपालले राम्रो सुरुवात गर्यो । नेपालका लागि पाँचौ मिनेटमा प्रदीप लम्सालले पेनाल्टीमार्फत पहिलो गोल गरेपछि निकै उत्साहित भयो । प्रदीपले पोस्टको मध्यभागमा गरेको प्रहारलाई भुटानका गोलरक्षकले ठम्याउन नै सकेनन् ।

त्यसको लगत्तै नेपालका लागि नवौं मिनेटमा निराजन खत्रीले अर्को गोल गरे । उनले गोल पोस्ट नजिकैबाट प्रहार गरेको बल जाली चुमेपछि नेपालको अग्रता दोब्बर भयो । त्यसपछि ४८औं मिनेटमा कप्तान प्रदीपले अर्को गोल गरे । उनले डी बक्सबाहिर वान भर्सेस वानको स्थितिमा पाएको पासलाई सहज रुपमा गोलमा परिणत गरे ।

७५ औं मिनेटमा अशिम राईले अर्को गोल गरे । उनले डी बक्सको बाहिर पाएको बललाई अघि बढाउँदै बायाँ किनाराबाट गोल गरेका हुन् । त्यसपछि ८५औं मिनेटमा क्रिस सापकोटाले अर्को गोल गरे । नेपालका गोलकिपरले मैदानभन्दा आधा अगाडि फ्याकेको बललाई अघि बढाउँदै क्रिसले गोल गरेका हुन ।

त्यसपछि इञ्जुरी समयमा नेपालका सुगम जिम्मीले आकर्षक गोल गरे । त्यससँगै नेपालले भुटानमाथि ६–० को जित निकाल्यो । नेपाललाई फाइनल प्रवेशका लागि केहीबेरमा हुने भारत र बंगलादेशबीचको खेल कुर्नुपर्ने भएको छ। भारतले बंगलादेशलाई पराजित गरेमा फाइनलमा भारत र नेपाल भिड्नेछन्। यदि बंगलादेशले भारतलाई पराजित गर्दै गोलअन्तरमा नेपाललाई पनि पराजित गर्न सकेको खण्डमा फाइनलमा भारत र बंगलादेश भिड्नेछन्।

नेपाल पहिलो खेलमा भारतसँग ५–० ले पराजित भएको थियो। त्यसपछि पूनरागमन गर्दै दोस्रो खेलमा श्रीलंकालाई २–० र तेस्रो खेलमा बंगलादेशलाई ४–१ गोलअन्तरले पराजित गरेको थियो।

Loading...