तुलसीपुर, ११ भदौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै सुपरजोन कार्यक्रम लागू भएको भएको दाङको देउखुरी क्षेत्रमा एक कृषकले मकैका विभिन्न परिकार बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । राप्ती गाउँपालिका–४ पिपरखुट्टीका गोरबहादुर कुमालले मकैको विभिन्न परिकार बेचेर आम्दानी गर्दै आएका हुन् ।
उक्त परियोजनाले मकै उत्पादनका साथै त्यसका परिकार बनाउन प्रोत्साहन गरेकाले जुनकिरी कृषक समूह पिपरखुट्टीको पहलमा आफू यस कार्यमा सम्लग्न हुँदै आएको उनले बताए । “ अहिले मकैका परिकार बनाएर मनग्य आम्दानी गर्दै आएको छु”, उनले भने ‘ उक्त समूहले मलाई मकैका परिकार बनाउन सिकाएको हो ।”
कुमालले मकैबाट अहिले सुप, मोमो, पपकर्ण, केक, हलुवा, रोटी , फ्राई चाट, उसिनेको, पोलेको, फ्राई र भुटेको मकै, आटो, ढिडोलगायत परिकार बनाउने गरेका छन । होटल तथा रेष्टुरेन्टमा पाइने परिकारभन्दा मकैको परिकार धेरै सस्तो रहेको र यसले मधुमेह, ग्याष्टिक, क्यान्सरजस्ता रोगबाट बच्न पनि यस्ता परिकार उत्तम हुनाका साथै बिकाउ पनि हुने उनले बताए ।
ती परिकार स्वास्थ्यका लागि उत्तम र स्वादिष्ट हुनेभएकाले धेरै बिक्नाका साथै दैनिक रू एक हजारसम्म कुमालले आम्दानी गर्दै आएका छन । एक पटक मकैको परिकार खाएपछि ग्राहकहरु पटकपटक आउने गरेको समेत उनको भनाइ थियो । ग्राहकले सबैभन्दा बढी मोमो, सुप र फ्राई मन पराउने गरेका छन् । भारतको पञ्जावमा करीब १४ वर्ष कुकको काम गरेका कुमालले स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ मकैका परिकार बनाएर बेच्न थालेका हुन । मकैका परिकारमात्रै बिक्री गर्ने ठूलो होटेल सञ्चालन गर्ने सोच रहेको उनले बताए ।