भैँसी पालनको केन्द्र बन्दै सुनद्वारी गाउँ

सुर्खेत, ११ भदौ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको केन्द्र बड्डीचौर नजिकै सुनद्वारी गाउँ छ । ८३ घरधुरी रहेको यस गाउँमा ३० जना कृषक मिलेर सुनद्वारी दूग्ध उत्पादन तथा वितरण कृषक समूह सञ्चालनमा ल्याएका छन् ।

गत आर्थिक वर्ष प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यो समूहलाई ६० वटा भैँसी वितरण ग¥यो । समूहका अध्यक्ष रत्नलाल सुवेदीले प्रत्येक सदस्यलाई दुई–दुई वटा भैँसी वितरण गरेको जानकारी दिए । समूहमा आबद्ध कृषकले कम्तीमा तीनदेखि आठ वटासम्म भैँसीपालन गरेका छन् ।

गाउँमै दूध सङ्कलन केन्द्र छ । दैनिक ७०० लिटरभन्दा बढी दूध सङ्कलन हुने गर्दछ । बजारको समस्या छैन । यहाँको दूध स्थानीय बड्डीचौर बजारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरसम्म पुग्ने गरेको कृषकको भनाइ छ । समूहका अध्यक्ष सुवेदीले ताजा तरकारी र दूग्ध पदार्थ उत्पादनका हिसाबले गाउँपालिकाकै नमूना गाउँका रुपमा सुनद्वारीले आफ्नो पहिचान बनाएको बताए ।

घरमै आम्दानीको स्रोत भएपछि युवा कालापहाड भारत र खाडी मुलुकतर्फ जाने क्रम रोकिएको छ । यस्तै एक पात्र हुन, गोविन्द पौडेल । स्नातक उत्र्तीण गरेका उनले चार वटा भैँसी पालेका छन ।

तीन वर्ष मलेसिया बसेर फर्किएका पौडेलले तरकारी र भैँसीपालनबाट राम्रो आम्दानी गरेको भन्दै खुशी व्यक्त गरे। “बाँझो जमीनमा अर्गानिक मोडेलको तरकारी खेती गरेको छु, तरकारीसँगै दूध, दही र घ्यूउ बेचेर मासिक रु ५० हजार जति बचत गर्ने गरेको छु ।” उनले भने ।

सुनद्वारीकै छविलाल कँडेलले भैँसीपालन शुरु गरेपछि मजदूरीका लागि भारत जान छाडेको बताए । “सहकारीबाट ऋण लिएर एउटा भैँसी आफैँले किने, दुई वटा भैँसी प्रदेश सरकारले दियो,” उनले भने “तरकारी खेतीसँगै व्यावसायिक भैँसीपालन गर्ने सोच बनाएर गोठमा लगानी गरिसकेको छु ।”

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतका सूचना अधिकारी मोहन गिरीले सुनद्वारीलाई भैँसीको स्रोत केन्द्रको रुपमा विकास गर्ने योजनाअन्तर्गत भैँसी वितरण गरिएको बताए । “नजिकै जङ्गल भएकाले सुनद्वारी भैँसीपालनका लागि उपयुक्त ठाउँ हो,” उनले भने “स्रोत केन्द्रको रुपमा विकास गर्न पहिलो चरणमा ३० जना व्यावसायिक कृषकलाई दुई–दुई वटा भैँसी वितरण गरेका हौँ ।”

उनले बाँकी घरधुरीलाई यसै वर्ष भैँसी वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । सुनद्वारी भैँसीको स्रोत केन्द्र मात्र नभई अर्गानिक तरकारीको भण्डार पनि हो । यहाँ कृषकले रासायनिक मल÷विषादीको प्रयोग गर्दैन । घरमा भकारो सुधारदेखि पशुचौपायाको मलमूत्र सङ्कलन गरेर खेतीबालीमा प्रयोग गर्ने गरिन्छ ।