के तपाईंले घरमा कुकुर पाल्नु भएको छ ? यदि छ भने कुकुरलाई कहाँ सौच गराउनुहुन्छ ? तपाईलाई थाहाँ नहुन सक्छ कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ भने तपाइले समाजलाई रोगको संक्रमणतर्फ धकेलिरहनु भएको छ ।
एक अध्ययनअनुसार कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुन्छन् । एउटा कुकुरले वर्षको सरदर १ लाख २५ हजार ग्राम ग्राम दिसा गर्छ । एउटै कुकुरको दिसा जथाभावी फालियो भने एक वर्षमा साढे २८ अर्ब बढी त्यस्ता हानिकारक ब्याक्टेरिया फैलिने बताइन्छ ।
कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म, टेपवर्मजस्ता जुकाका अण्डा मानिसको शरीरमा प्रवेश गर्ने विज्ञहरुको भनाई छ। त्यो दिसामार्फत बाहिरी वातावरणमा आइसकेपछि सागसब्जी, श्वासप्रश्वास आदिको माध्यमबाट मानिसको शरीरमा पस्छ । मानिसको शरीरमा पसेपछि तिनले नाम्लेकिराको रूप लिन्छन् । नाम्लेकिरा यस्तो एउटा परजीवी हो, जुन ५ हजारभन्दा धेरै प्रजातिको हुन्छ । यसको लम्बाइ १५ मिटरसम्म लामो हुन्छ ।
कुकुरको शौचबाट आउने ब्याक्टेरियाले मानिसलाई गम्भीर प्रकारको रोग लाग्ने चिकित्सक बताउँछन्। नाम्लेकिरा मान्छेको आन्द्रामा गएर बस्छ । गुजुल्टिएर बस्ने हुनाले यसले आन्द्राको काममा अवरोध गर्छ । पेट दुख्ने, खाना नपच्ने जस्ता समस्या यसकै कारण पनि हुनसक्छ ।
कहिले काही यो किरा कलेजोमा पनि पुग्छ जसले कमलपित्त (जन्डिस) गराउन सक्ने खतरा रहन्छ भने यो दिमागमा गएर बसेमा यसले टाउको बेस्सरी दुख्ने, रिगंटा लाग्ने, बेहोस हुने, आँखा धमिलो हुने, छाला पहेँलो हुने, खोकी लाग्ने र श्वास फेर्न ग्राहो हुने आदिजस्ता समस्या देखा पर्न सक्छ ।
यसर्थ, आफ्नो कुकुरलाई जथाभावी दिशापिसाव गराउनु आफैलाई रोग निम्त्याउनु भएको चिकित्सकहरु बताउछन । घरकै एक छेउमा कुकुरलाई सौच गराई त्यसको विसर्जन गर्नु सचेत नागरिकको कर्तब्य पनि भएको वातावरण बिज्ञहरुको भनाइ छ ।
जनस्वास्थ्य लाई मध्येनजर गरी घरपालुवा कुकुरलाई जथाभावी सौच नगराउन र भुस्याहा कुकुरको नियन्त्रण गर्न स्थानीय सरकारहरुले समेत चासो राख्नुपर्ने देखिन्छ ।