काठमाडौं, ६ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नयाँ नयाँ तथ्य आएका छन् । नयाँ तथ्यसँगै उनको अनुसन्धान अझ जटिल बनेको छ ।
उसो त मानिसहरुले शालिकको आत्महत्या नभई हत्या हो भन्ने पनि शंका गरेका छन् । यसका बारेमा सामाजिक सञ्जालमा थुप्रै टिप्पणी भएका छन् । कसैले उनको शरिरमा निलडाम भेटिएको र फलामका रड पनि भेटिएको भन्दै प्रचार पनि गरिएको देखिन्छ । खासगरी रवि लामिछानेका शुभचिन्तकहरुले यसो भनेर उनको बचाउ गरिरहेका छन् । उनको पक्षबाट बोल्नेहरु र अपरिपक्व युट्यूबरहरुले यसलाई अझ विवादास्पद बनाउने प्रयत्न गरिरहेको देखिन्छ । शालिकको मृत्यु प्रकरणबारे प्रहरीले भने अनुसन्धान गरिरहेको छ ।
प्रहरीले गरेको अनुसन्धानका क्रममा थुप्रै तथ्यहरु भेटिएका छन् । जुन तथ्यले शालिकको मृत्यु के कारणले भयो भन्ने अझै एकिन भइनसकेको स्रोतको दावी छ । यही क्रममा केही दिन अघि पोस्टमार्टम रिपोर्ट आएको थियो । पोस्टमार्टम रिपोर्टमा उनको झुन्डिएर नै मृत्यु भएको बताइएको थियो । तर, अहिले फेरि अर्को तथ्य आएको छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा भएको अध्ययनबाट उनको मृत्युमा केही शंका उत्पन्न भएका छन् । विधि विज्ञान प्रयोगशालामा देखिएका तथ्य र पोस्टमार्टको रिपोर्ट समेत बाझिएको छ ।
स्रोतका अनुसार शालिकराम पुडासैनीको शवसँगै भेटिएका सामानहरु हेर्दा उनले विष र रक्सीको प्रमाणहरु पनि भेटिएका छन् । उनले त्यो सेवन नै गरेका थिए वा कसैले नजिक हालेको थियो भन्ने एकिन हुन सकेको छैन । तर, उनको साथबाट लिएका स्याम्पल र सामानहरुबाट यो तथ्य पत्ता लागेको बताइन्छ । त्यसैले विधिविज्ञान प्रयोगशालामा पटक पटक दोहो¥याएर यसको जाँच गरिएको बताइन्छ । पोस्टमार्टम रिपोर्टमा भने यस्ता केही कुरा उल्लेख नगरिएको स्रोतको दावी छ । विधिविज्ञान प्रयोगशालामा यस्तो तथ्य देखिएपछि प्रहरीले उनले कुन कुरा पहिला गरेका थिए भन्ने पनि अध्ययन गरेको स्रोतको दावी छ ।
यसअघि ननस्टप खबरमा यस्तो समाचार प्रकाशन गरिएको थियो । यो पनि पढ्नुहोस्
शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका चर्चित पत्रकार रवि लामिछानेलाई पक्राउ गरिए पनि उनलाई अदालतले सुरुकै दिन धरौटीमा रिहा गर्ने धेरैको अपेक्षा थियो । रवि आफैले आफूमाथि गलत आरोप लगाइएको भए पनि शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न आफुले प्रहरीलाई सहयोग गर्ने बताएका पनि थिए । तर, रविलाई धेरैको अनुमान र अपेक्षा विपरित अदालतले १० दिन हिरासतमा राख्न अनुमति दियाे । प्रहरीले गरिरहेको अनुसन्धान हेर्दा अझै केही दिन म्याद थपेर राख्ने सम्भावना देखिन्छ ।
स्रोतका अनुसार रविमाथिको अनुसन्धान लम्बिनुमा एक प्रमुख कारण रहेको छ प्रहरीको विधिविज्ञान प्रयोगशालामा भइरहेको त्यही अध्ययन । नारायणगढको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका रविका पूर्व सहकर्मी पत्रकार शालिकराम पुडासैनीसँग भेटिएका सामानको यतिखेर प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा अध्ययन भइरहेको छ । उनको पोष्टमार्टम रिपोर्ट भने आइसकेको छ । तर, मृत शरिरका साथमा भेटिएका अन्य सामानहरुको जाँच भइरहेको विधिविज्ञान प्रयोगशालाबाट भने अहिलेसम्म कुनै रिपोर्ट आउन सकेको छैन । सोही कारण रवि माथिको अनुसन्धान अझै नसकिएको प्रहरीले बताउँदै आएको छ र चितवन जिल्ला अदालतमा सरकारी वकिल मार्फत म्याद थप गराउन माग गर्दै आएको छ । यसक्रममा पहिलो पटक १० दिन र पछिल्लो पटक पनि १० दिन म्याद थप्न माग गरे पनि दुबै पटक पाँच पाँच पटक गरी १० दिन म्याद थप गरिएको छ । तर, अझै पनि त्यो रिपोर्ट आउन समय लाग्ने स्रोतले जनाएको छ ।
स्रोतका अनुसार विधि विज्ञान प्रयोगशालाले रिपोर्ट ढिला दिनुमा अन्य कारण भने होइन । विधिविज्ञान प्रयोगशालामा पुगेको सबै सामानहरुको जाँच गर्दा त्यसको रिपोर्ट र पोष्टमार्टमको रिपोर्टमा केही फरक फरक तथ्य देखिएकोले हाे । त्यसरी फरक फरक तथ्य देखिएपछि विज्ञहरुले त्यसलाई दोहोर्याइ तेहेर्याइ जाँच गर्ने गरेका छन् । जसले गर्दा त्यसको समय बढी लागेको स्रोतको दावी छ । यसरी हेर्दा जाँच अझै केही दिन लम्बिने देखिएको छ । प्रयोगशालाकै जाँच नसकिएपछि उता रविलाई दोस्रो पटक थपिएको म्याद पनि गुज्रेर फेरि म्याद थपाउन सक्ने देखिएको बताइन्छ ।