शासन परिषद्का सदस्यहरूद्वारा शपथग्रहण

खार्तुम, ४ भदौ । सुडानमा नयाँ गठित शासन परिषद्का सदस्यहरूले बुधबार शपथग्रहण गरेका छन् ।

यसअघिको सैन्य परिषद्लाई रूपान्तरण गर्न नागरिक अगुवाको समेत सहभागीतामा बनाइएको शासन परिषद्का सदस्यहरूले शपथग्रहण गरेका हुन् ।

देशको शासन व्यवस्था चलाउने गरी बनाइएको स्वायत्त शासन परिषद्का सदस्यहरूलाई सैन्य परिषद्कै नेतृत्व गर्नुभएका प्रधानमन्त्रीले नै नियुक्त गरेका हुन् ।

नयाँ शासन परिषद्का सदस्यहरूले शपथग्रहण गरेसँगै यसअघिको सङ्क्रमणकालीन सैन्य परिषद् विस्थापित भएको छ ।

गत अप्रिलमा तत्कालीन राष्ट्रपति ओमर अल बसिरलाई अपदस्थ गरेर सेनाले शासन हातमा लिएर सैन्य परिषद् गठन गरेको घोषणा गरेको थियो ।

राष्ट्रपति बसिरविरुद्ध नागरिकले गरेको आन्दोलनलाई बहाना बनाएर सेनाले शासन हातमा लिएपछि फेरी आन्दोलन भएको थियो ।

नागरिक सरकार गठनको माग गर्दै आएको आन्दोलनबाट झुकेर सैन्य परिषद् नेतृत्वले सेना र आन्दोलनकारी अगुवाको सहभागितामा नयाँ शासन परिषद् बनाएको हो ।

नागरिक अगुवासहितको शासन परिषद् गठन भएपछि अहिले देशभरी खुशीयाली छाएको समाचारमा जनाइएको छ ।

नागरिक सैनिक स्वायत्त शासन परिषद्का ११ सदस्यको नामावली मङ्गलबार अबेर घोषणा गरिएको थियो । परिषद्मा आन्दोलनकारीमध्येका छुट्टाछुट्टै समूहबाट समेत सहभागिता रहेको छ ।

यसअघिको सैन्य परिषद्को नेतृत्व गरेका सैनिक जनरल अब्देल फता अल बुर्हानले नै नयाँ शासन परिषद्को अध्यक्षता गरेका छन् ।

अबको सङ्क्रमणकालीन ३९ महिनामध्ये शुरुको २१ महिना उहाँ नै प्रधानमन्त्री रहनु हुनेछ भने त्यसपछि विपक्षी तथा आन्दोलनकारीको तर्फबाट अब्दुल्ला हामडोक प्रधानमन्त्री बन्नेछन् । उनले पनि अहिलेको शासन परिषद्को सदस्यको रूपमा बुधबार नै शपथग्रहण गरेका छन् ।

शासन परिषद्मा नियुक्त भएका ११ जनामध्ये दुई जना महिला रहेका छन् भने एक जना अल्पसङ्ख्यक क्रिश्चीयन समुदायका रहेका छन् ।

नयाँ शासन परिषद् गठनसँगै सुडानको राजनीतिक सङ्कट मत्थर हुँदै सहज बाटोतर्फ जाने अपेक्षा धेरैले गरेका छन् ।

पाउरोटीको मूल्य बढेको विरोध गरेर शुरु भएको आन्दोलन राष्ट्रपति बसिरविरुद्ध केन्द्रित भएपछि शुरु भएको सुडानको राजनीतिक सङ्कट सैनिक नागरिक सरकार गठनसँगै मत्थर हुन लागेको हो ।

Loading...