काठमाडौं । यसपटक महिनाकाे अन्तिममा लगातार ३ दिन विदा परेकाे छ ।
भाेलि साउन ३० गते जनै पूर्णिमा तथा रक्षा बन्धन हाे । त्यसैगरी साउन ३१ गते शुक्रबार गाइजात्रा पर्व हाे । त्यसपछि महिनाकाे अन्तिम दिन यसपटक शनिवार परेकाे छ । भाेलि बिहीबार जनै पूर्णिमासँगै रक्षाबन्धन, क्वाटी खाने दिन र संस्कृत दिवस पनि परेका छन् । याे दिनलाइ काठमाडाैं उपत्यकासहित देशका विभिन्न ठाउँमा निकै महत्वका साथ मनाइन्छ । नेवार समुदायमा क्वाटी खाने दिनमा विशेष रुपमा मनाउने प्रचलन छ । सात थरि गेडागुडी मिलाएर बनाएकाे परिकारलाइ विशेष पुजा गरेर खाने चलन छ ।
तर, संघीय सरकारले रक्षा बन्धन तथा जनै पूर्णिमाका अवसरमा विदा दिने कि नदिने भन्नेबारेमा अझै तय गरिसकेकाे छैन । संघीय सरकार गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले रक्षा बन्धनका लागि अहिलेसम्म मन्त्रालयले विदा दिने तय नभएकाे बताए । जनै पूर्णिमा र रक्षाबन्धनका अवसरमा प्रदेश नम्बर १ र २ नम्बर प्रदेश सरकारले भने विदा दिने बताइएकाे छ ।
शुक्रबार गाइजात्राकाे दिन भने उपत्यकामा सार्वजनिक विदा हुनेछ । गाइजात्राकाे विदा सरकारले वार्षिक विदामै उल्लेख गरेका कारण उपत्यकामा विदा हुनेछ । ३२ गते शनिवार पनि विदा हुने भएकाेले यसपटक लगातार विदा परेकाे हाे ।
क्वाटी याे चाडमा छुटाउनै नहुने विशेष परिकार हाे । भिजाएर अङ्कुरीत भएका गेंडागूडीबाट बनेको परिकार “क्वाँटी” हो । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वाः’ भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले “क्वाति” भनेको झोलिलो परिकार हो । दुइदिन अघिदेखि पानीमा भिजाई राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ ।
जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू-पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।
यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा जनैपूर्णिमाकै दिन परिवर्तन गर्ने प्रचलन छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
जनै फेर्ने दिनको मन्त्र:
“येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।”
रक्षाबन्धनका दिन दिदीवहिनीहरुले आफ्ना दाजू-भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने पनि गर्दछन । नेपालको तराइक्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढि रहेको छ ।
आजको दिन ज्वाँइ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।