नेपाली सेनाका मेजरलाई काठमाडौंबाट गएको प्रहरीको टोलीले पूर्वी पृतनाकै गेटमा गर्यो पक्राउ

काठमाडौं, २५ साउन । लागु औषध ब्राउन सुगरसहित नेपाली सेनाका एक बहालवाला मेजर पक्राउ परेका छन् । उनलाई प्रहरीले रहस्यमय तरिकाले पक्राउ गरेको हो ।

पक्राउ पर्ने नेपाली सेनाका मेजर अजितप्रताप सिंह हुन । उनलाई नेपाली सेनाको पूर्वी पृतना बाहिरबाट प्रहरीले गिरफ्तार गरेको हो । इटहरीको हलगढामा नेपाली सेनाको पूर्वी पृतना छ । मेजर सिंह साँझ ६ बजेतिर मात्र सेनाको त्यही पृतनाबाट बाहिर निस्किएका थिए । निस्किएको केहीबेरमै उनलाई प्रहरीले समातेको हो ।

उनलाई पक्राउ गर्न नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौंको टोली नै पुगेको बुझिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंले इलाका प्रहरी कार्यालय, इटहरीको सहयोग लिएको बताइएको छ । काठमाडौंबाट सुनसरी पुगेको टोलीले मेजर सिंह ब्यारेकबाट बाहिर निस्किए लगत्तै पक्राउ गर्नुले उनी पहिल्यैदेखि कारोवारी थिए वा उनलाई भित्रैबाट फसाउन यो गिरफ्तारी गराएको हो भन्ने आशंका जन्मिएको छ ।

अरुबेला नेपाली सेनाका अधिकृतले गरेको कसूरको अनुसन्धानका लागि नेपाली सेनाको सैनिक प्रहरी गणलाई बुझाउने गरेको छ ।तर, प्रहरी आफैले पनि केही गम्भीर प्रकृतिका मुद्दामा मुद्दा चलाउन सक्ने व्यवस्था छ । लागूऔषध सम्बन्धी कसूरलाई गम्भीर प्रकृतिको मुद्दा नै मानिन्छ । त्यसैले सेनानी सिंहको यो केसमा भने प्रहरी आफैंले म्याद थपेर अनुसन्धान गर्ने देखिएको छ । आज शनिवार भएकोले प्रहरीले आइतबार सेनानी सिंहमाथि अनुसन्धान गर्न म्याद थप गर्ने जनाएको छ ।

सैनिक ऐन, २०६३ को दफा ७८ मा उल्लेखित ‘प्रोभोष्ट मार्सल’को व्यवस्थाले सैनिक प्रहरीलाई अधिकृतमाथि अनुसन्धान गर्ने अधिकार दिएको छ ।

Loading...