काठमाडौं महानगरले आकाशे पानी सङ्कलन र पुनःभरण सरकारी कार्यालयबाटै

काठमाडौँ, २१ साउन । काठमाडौँ महानगरपालिकाले आकाशे पानी सङ्कलन र पुनःभरण सरकारी कार्यालय र कर्मचारीको घरघरबाट शुरु गर्ने भएको छ । वर्षाको समयमा आकाशे पानी सङ्कलन गर्ने र त्यसलाई जमीनमुनि पठाएर यहाँको पानीको समस्या हटाउने महानगरले योजना बनाएको छ ।

गुठी संस्थाले आज यहाँ आयोजना गरेको ‘आकाशे पानी सङ्कलन र पुनःभरण’ विषयक आधारभूत तालीम कार्यक्रममा कामपा वातावरण विभागले पुनःभरण कार्यक्रम छिट्टै शुरु गरिने जनाएको छ । भूमिगत पानीको सतह सन्तुलनका लागि आकाशे पानी सङ्कलन गर्ने र जमीनमुनि पठाइने विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए । अहिले काठमाडौँको पानीको अभाव कम गर्न उक्त कार्यक्रमबाट सहयोग पुग्ने उनले बताए । “महानगरको वातावरणीय सन्तुलनका लागि एकीकृत र व्यवस्थित कार्यक्रमको खाँचो छ”, श्रेष्ठले भने ।

पूर्वमन्त्री गणेश साहले काठमाडौँलगायत अन्य ठाउँमा पानीको समस्या रहेको बताए । “कुनै ठाउँमा कम त कुनै ठाउँमा बढी समस्या छ”, उनले भने । तालीमका सहभागीलाई आकाशे पानी सङ्कलन, प्रणाली जडान खर्च, यसको सञ्चालन प्रक्रिया, सङ्कलित पानीको गुणस्तर, उपयोगलगायत विषयमा प्रशिक्षण दिइएको थियो । काठमाडौँको जमीनमुनि पानीको सतह भेटिने गहिराइ बढ्दै गएको पाइएको छ । जमीनमुनि पानी जान नसक्दा धेरै ठाउँमा डुबानको समस्या हुने गरेको छ ।

Loading...