नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट, एक जनाको मृत्यु

काठमाडौं, १७ साउन । नख्खु कारागारभित्र कैदीबन्दीबीच दिउसै झडप हुँदा एक जनाकाे मृत्यु भएको छ ।

ललितपुरको नख्खुमा रहेको कारागारभित्र शुक्रबार दिउसो कुटाकुट भएको हो । उक्त कुटाकुटमा परी पूर्णबहादुर राजी नाम गरेका एक व्यक्तिकाे मृत्यु भएकाे हाे । उनी कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा जेल सजाय काटिरहेका थिए ।

कारागार स्रोतका अनुसार कर्तव्य ज्यान मुद्दाका पवनकुमार महतोले पूर्णबहादुर राजीमाथि एक्कासी अाक्रमण गरेका थिए । त्यसपछि केहीबेर कुटपिट भएकाे थियाे । महतोले राजीमाथि भुइँमा विच्छ्याइएको ब्लकले प्रहार गरेका थिए ।

कुटाकुटमा गम्भीर घाइते भएका राजीलाइ विर अस्पताल पुर्याइएकाे थियाे । वीर अस्पतालमै उपचारका क्रममा राजीकाे मृत्यु भएकाे हाे । 

कुटाकुटमा सम्लग्न महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले नियन्त्रणमा लिएको जनाएको छ । साथै प्रहरीले दुईजनाको विवादको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । उनीहरु दुवै जना कोठाबाहिर घाम तापेर बसेका थिए । उनीहरुबीच एकाएक कुटाकुट भएपछि अन्य कैदीबन्दी गएर छुट्टाएका थिए ।