अनलाइनमा काम गर्ने एक पत्रकारको हत्या

एजेन्सी । मेक्सिकोमा एक पत्रकारको हत्या भएको छ । मेक्सिकोको चर्चित अनलाईन गुरेरो इन्स्टान्टेमा कार्यरत पत्रकार रोजेलियो बारागान हत्या गरी एउटा कारमा राखेर फालिएको अवस्थामा भेटिएका हुन् ।

हत्या गरिने पत्रकार गुरेरो इन्स्टान्टे पोर्टलका निर्देशक समेत रहेका थिए । पत्रकार रोजेलियो उक्त अनलाईनमा दश वर्षदेखि कार्यरत थिए। उनको शव एक वेवारिसे कारमा भेटिएको थियो । उनको अनुहार सहित शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको जनाइएको छ।

मेक्सिकन सञ्चार माध्यमको पक्षमा वकालत गर्ने संघसंस्थाहरुले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्। पत्रकारको सुरक्षामा काम गर्ने अन्तराष्ट्रिय संस्था रिपोर्टर्स विदआउट बोर्डर्सले मेक्सिको, सिरिया र अफगानिस्तानलाई पत्रकारका लागि विश्वमै सबैभन्दा खतरनाक सूचीमा राखेको छ।

मेक्सिकोमा यस वर्ष मात्र रोजेलियोसहित सात जना पत्रकारको हत्या भइसकेको छ। सन् २००० यता मात्र मेक्सिकोमा १०० भन्दा बढी पत्रकारको हत्या भएको आरएसएफले जनाएको छ।

यी अधिकांश हत्या लागूऔषध तस्करी र राजनीतिक भ्रष्टाचारसँग जोडिएका छन्। एएफपीका अनुसार मेक्सिकोमा अधिकांश हत्याको स्वतन्त्र र बलियो अनुसन्धान नहुने तथा दोषीमाथि कुनै कारबाही हुने गरेको छैन।

गत महिना पत्रकार नोर्मा साराबियाको दक्षिणपूर्वी राज्य टाबास्कोमा गोली हानी हत्या गरिएको थियो। मे महिनामै मेक्सिकोको क्यारेबियन तटीय शहरमा संवाददाता फ्रान्सिस्को रोमेरोको हत्या भएको थियो।

Loading...