काठमाडौ, १४ साउन । पहिला पहिला जनसंख्या निकै कम थियो । वर्षभर बाँच्न पूर्णरुपमा मानिस कृषि उत्पादनमा भर पर्नुपर्दथ्यो । वर्षभरिका लागि अन्नको जोह गर्न वर्षायाममा खेती लगाउनु नै पर्थ्यो । नसके भोकमारी लाग्ने डर हुने गर्दथ्यो । जनसंख्या पनि कम अनि आकाशे पानीकाे भरमा खेती लाउनुपर्ने भएकाेले निकै गाह्रो हुन्थ्याे । त्यही कारण मानिसहरु त्यतिबेला तान्त्रिकको सहायता लिने गर्दथे ।
त्यसका लागि मानिसभन्दा निकै गुणा बलियो भूतलाई कब्जामा लिने गरिन्थ्यो । तान्त्रिकले भूतलाइ बन्धन लिने गर्दथे । तान्त्रिककाे बन्धनमा नियन्त्रित बलिया भूतले छोटो समयमा धेरै काम सकाउने गर्दथे । तर त्यस्ता भूतलाइ मासु, रक्सी अनि धेरै अन्न खुवाएर पाल्नु पर्दथ्याे । त्यसरी पाल्नु परेता पनि मानिसहरु त्यस्ताे गर्न बाध्य थिए । खेती सकेपछि त्यसरी तान्त्रिककाे नियन्त्रणमा ल्याइएकाे भूतलाइ सधै पाल्न नसकिने भएकाेले पन्छाउनु पर्दथ्याे । असार महिना सकिए लगत्तै कृषि कर्म सकिने हुनाले त्यसपछि गाह्राे काम गर्न भूत पालिराख्नु पर्दैनथ्याे । यसरी विधिवत तरिकाबाट पुजा गरी भूत पन्छाउने पर्व नै गथामुग: अर्थात घण्टाकर्ण पर्व भनिएको हो ।
काठमाडौँ उपत्यका भित्र मनाइने मध्य गथामुग: अर्थात् घण्टाकर्ण श्रवण कृष्ण चतुर्दशीका दिन मनाइने गर्दछ । उपत्यकाका तिनै शहर काठमाडौ, ललितपुर, भक्तपुरका प्रमुख भित्रि शहरमा मुख्य गरी मनाइने गर्दछ । दोबाटा र चैबाटामा यसदिन नर्कट लगायत बिरुवाका हाँगालाइ तीनखुत्ता त्रिपाद बनाई सम्बर भैरवका रुपमा ठड्याइ भूत पन्छाउने पर्व मनाइन्छ । यो पर्वको सुरुवातसँगै क्रमश अन्य पर्वहरु प्रारम्भ हुने कारण यस पर्वलाई “सिनाज्या” (कृषि कर्म) सकिए लगतै समापन दिनका रुपमा मनाइने पर्व पनि भनिन्छ । दिनभर ठड्याइएको त्रिपद गथामुग:मा स-साना नानीहरुको कपडाको पुतली बनाई बाँधी साँझ घर ठेगाना नभएका एक व्यक्तिलाई घण्टाकर्ण भूतको रुपमा पुजाआजा दक्षिणा दिइ सोही त्रिपदमा राझी तानेर खोलामा लागि बिसर्जन गर्ने गरिन्छ ।
गथामुग: चत्रुदाशीलाई नेवार समुदायमा तान्त्रिक वा बोक्सी विद्या सिक्ने सबैभन्दा उत्तम दिनका रुपमा पनि लिइन्छ । पर्वको मध्यराति पीठ-पीठमा गइ कुबिध्या सिक्नेहरुले मन्त्र साधना गर्ने गर्दछन । यसरी साधना गरी सिकेको कुबिध्या भूत प्रेतले कुप्रभाव नपारोस भन्ने मनसाय बाट यस् दिन प्रत्येकको घरको ढाेकामा फलामको त्रिपद किला ठोक्ने र पित्तल, तामा, फलामका औठी लगाउने परम्परा रहेको छ ।