मित्रराष्ट्र पाकिस्तानको रावलपिन्डीनजिकै रहेको एक आवासीय क्षेत्रमा सेनाको विमान दुर्घटना हुँदा कम्तीमा १७ जनाको ज्यान गएको छ । राजधानी इस्लामाबाद नजिक रहेको शहर रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ ।
स्थानीय संचार माध्यमले जनाए अनुसार सैन्य तालिमका लागि उडाइएको उक्त विमान मंगलवार विहानै आवासीय क्षेत्रका घरहरुमा ठोक्किएको थियो । दुर्घटनाग्रस्त विमानमा लागेको आगो केही घरहरूमा पनि सल्किएको थियो।
सरकारी संचार माध्यम रेडियो पाकिस्तानका अनुसार उक्त दुर्घटनामा मृत्यु हुनेमा २ जना पायलट, ५ आर्मी स्टाफ र १० सर्वसाधारण मानिस सहित १७ जना पुगेका छन्। त्यसैगरी १२ जना घाइते भएका छन् । सेेनाले उनीहरुको उपचारमा कुनै कसर बाँकी नराख्ने बताएको छ ।
त्यहाँबाट प्राप्त तस्बिरमा धुँवाले कालो भएका भवनहरूको भग्नावशेष र नजिकै रहेको घरको छतमा विमानको अवशेष देखिएको छ ।
सन् २०१० मा पनि इस्लामाबाद नजिकै विमान दुर्घटना हुँदा १ सय ५२ जनाको मृत्यु भएको थियो। त्यो नै पाकिस्तानमा भएको सबैभन्दा डरलाग्दो विमान दुर्घटना थियो ।