यस्तो हुनेछ कार्तिकमा हुने जापानी भाषा परीक्षा, नेपाली भाषा प्रशिक्षकलाई जापानमै लगेर तालीम दिइने


१० साउन, काठमाडौं । जापानले नेपालका जापानी भाषा प्रशिक्षकहरुलाई आफ्नै देशमा लगेर भाषा तालीम दिने भएको छ । त्यसका लागि नेपालका भाषा प्रशिक्षकहरुले श्रम मन्त्रालयमार्फत आवेदन दिनुपर्ने भएको छ । त्यसका आधारमा उनीहरु जापानमै गएर जापानी भाषा सम्बन्धी तालीम लिन पाउने भएका हुन् । त्यसका लागि श्रम मन्त्रालयमार्फत आवेदन खुलासमेत गरिएको छ ।

नेपालबाट कामदार आपूर्तिका लागि तयारी गरिरहेको जापानले नेपालका भाषा प्रशिक्षण दिने संस्थाका प्रशिक्षकहरुलाई जापानमै लगेर भाषाका न्युन्तम पक्षहरुबारे जानकारी दिन लागेको हो । उनीहरुले तालीम लिएर फर्किएपछि नेपालमा भाषासँगै कामको प्रकृतिअनुसार भाषा परीक्षाका मापदण्डहरुबारे प्रशिक्षण चलाउनेछन् । श्रम मन्त्रालयका अनुसार भाषा परीक्षाका लागि विभिन्न तयारीहरु भइरहेको छ ।

जापानले नेपालमा प्रोमेट्रिक नामक संस्थालाई भाषा परीक्षा सञ्चालन गर्ने अनुमति दिइसकेको छ । जापान फाउन्डेसनले आफ्नो वेबसाइटमा नेपालमा कात्तिकको १०, ११, १८ र १९ गते भाषा तथा सीप परीक्षा गर्न प्रस्ताव गरेको छ ।

पहिलो चरणमा जापानले नेपालबाट नर्सिङ केयरमा कामदार आपूर्ति गर्ने जनाइएको छ । जापानले पहिलो चरणमा नेपालसहित कम्बोडिया, फिलिपिन्स, म्यान्मार र मंगोलियाबाट कामदार लैजाँदै छ । जापानले यिनै देशबाट ३ सिजनमा ४०÷४० जना भाषा प्रशक्षिकलाई लगेर तालिम दिन लागेको छ । यसमध्ये २ वटा चरणको प्रशिक्षणमा नेपाली भाषा प्रशिक्षकहरु सहभागी हुन पाउनेछन् ।

नेपाली कामदार लैजानेबारे जापानसँग नेपालले ‘सहकार्यको समझदारी’ गरिसकेको छ । समझदारीमा जापान जाने नेपाली कामदारले जापानी नागरिक सरह वा सो भन्दा बढी पारिश्रमिक तथा सुविधा पाउने भनिएको छ ।

कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत लगायतका १४ क्षेत्रमा कामदार लैजाने सहमति भएको छ । जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) को पहिलो र दोस्रो वर्गका कामदार लिने भनेको छ । पहिलो वर्ग (एसएसडब्लूआई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ । दोस्रो वर्ग (एसएसडब्लू (आईआई)का कामदारका लागि भने उच्च तहको सिप आवश्यक पर्छ । १४ मध्ये दुई वटा क्षेत्रमा मात्रै विशिष्टीकृत सिप परीक्षण हुने श्रम मन्त्रायले जनाएको छ । बाँकी छनोटमा मुख्य रुपमा भाषालाई नै आधार मानिने जनाइएको छ ।

कस्तो हुँदैछ परीक्षा
भाषा परीक्षा कम्प्यूटरमा आधारित हुने भएको छ । त्यसैअनुसार कामदारले तयारी गर्नुपर्ने छ । १४ ‘क्याटेगोरी’ का लागि जापानी भाषा र सीप परीक्षा अलग–अलग समयमा हुने बताइएको छ ।
परीक्षामा उत्तीर्ण हुने मात्रै जापान जाने अवसरको लागि योग्य हुनेछन् । परीक्षामा उत्तीर्णको मात्रै जापान जान पाउने कामदारको रोस्टरमा नाम दर्ता हुनेछ । भिसा आएपछि मात्रै कामदारले जापानलाई श्रम गन्तब्य बनाउन पाउनेछन् ।

२० मिनेटको भाषा परीक्षा र ६० मिनेटको सीप परीक्षा हुन्छ । पास भए–नभएको परीक्षार्थीले तत्कालै थाहा पाउँनेछन् । जाँच दिएको दुई हप्तामै जाँचको प्रमाणपत्र प्राप्त हुनेछ ।

५ वर्ष काम गर्न पाउने
सीप र भाषा परीक्षा उत्तीर्ण गरेर जापान जाने कामदारले ५ वर्ष काम गर्न पाउने छन् । कामदारले काम गर्न पाउने अवधिबारे छुट्टै कार्यावधि बन्नेछ । असल कामदारले अर्को ५ वर्ष काम गर्न पाउने सहकार्यको समझदारीमै उल्लेख छ । भाषा र सीप परीक्षाको लागि जम्मा खर्च ४५०० जापानी येनको हाराहारीमा हुने छ । जापान जान शैक्षिक योग्यता तोकिएको छैन । उमेर भने १७ वर्ष माथि हुनुपर्ने बताइएको छ ।

Loading...