विदेशिएका युवालाई स्वदेशमै फर्काउने उद्देश्य बोकी कृषि पेशामा ‘अब्बल’ किसान

बाँके, ८ साउन । खजुरा गाउँपालिका–३ का तुलबहादुर कँडेल ठूलो लगानी गरेर कृषि पेशालाई व्यावसायिक रुपमा अँगाल्ने कृषक हुन् । नेपालगञ्जको बसाइ छाडेर खजुरामा बाख्रापालन व्यवसायबाट कृषि क्रान्ति गर्ने र विदेशिएका युवालाई स्वदेशमै फर्काउने उद्देश्य बोकी कँडेलले हिलपार्क कृषि तथा पशुपालन फार्म सञ्चालन गरिरहेका छन् ।

तुलबहादुरको फार्ममा अहिले दिनहुँजसो आगन्तुक पाहुना आएर ज्ञान र शीप लिएर जोशिँदै फर्किन्छन् । नेपालगञ्जमा होटेल व्यवसाय गरेर करोडौंको मालिक बनेका उनि विलासी गाडी चढ्दाको भन्दा कृषि पेशाले खुशी दिएको बताउछन् । गाडीमा संसार डुल्दा शरीर दुख्ने समस्या रहेको र कृषि कर्म गर्न थालेदेखि स्वस्थ बनेको उनको अनुभव छ ।

खजुरा–३ सिर्जनाटोलमा रहेको उनको फार्ममा करीव एक दर्जनले रोजगारी पाएका छन् । देशकै ठूलो पशुपालन फार्म बनाउने उनको लक्ष्य छ । । च्याउ उत्पादक कृषकका रुपमा खजुरामा लालबहादुर सुनारको नाम निकै परिचित छ । वैदेशिक रोजगारीबाट खाली हात फर्केका उनले जीविका धान्न तरकारीसँगै च्याउखेती गर्न थाले।

सात वर्षअघि थोरै लगानीबाट व्यवसाय शुरु गरेका उनले हालसम्म यसै फार्ममा रु एक करोडभन्दा बढी लगानी गरिसकेका छन । अथक मेहनतकै कारण लालबहादुर देशकै उत्कृष्ट च्याउ उत्पादक किसानका रुपमा सम्मानित पनि भएका हुन् । दैनिक दुई क्विन्टलसम्म च्याउ उत्पादन गरेका उनले राष्ट्रपति उत्कृष्ट पुरस्कार र सार्कस्तरीय अवार्डसँगै थुप्रै पुरस्कार पनि प्राप्त गरिसकेका छन ।

गाउँपालिकाका एक किसानले यति ठूलो पुरस्कार पाउँदा गाउँपालिकाकै नाम समेत देश विदेशमा चिनिन पुगेको उनले बताए । उनको फार्म अवलोकन गर्न देशका विभिन्न जिल्लाबाट समूह, सहकारीका किसान, कृषिसम्बन्धी चासो राख्नेहरु आउने गरेका छन् । उनको कामबाट प्रेरणा र शीप सिकेर धेरैले व्यवसाय सञ्चालन गरेका छन् ।

जिल्लाकै सबैभन्दा धेरै टमाटर उत्पादन गर्ने कृषकका रुपमा परिचित गेनालाल मुराउ उमेरले ७२ कटिसके पनि उनको जोश र जाँगरले भने जो कोहीलाई पनि प्रेरणा दिन्छ । मौसममा दिनको १५÷२० क्विन्टलसम्म टमाटर बिक्री गर्दै आएका मुराउले उत्पादन गरेको टमाटरको माग अन्यत्रभन्दा ज्यादा छ ।

टमाटर खेती बढाउँदै लगेका मुराउले गतवर्ष १५ बिघा जग्गामा खेती गरेका थिए। टमाटरसँगै आँपलगायतका फलफूल खेती पनि गर्दै आएका मुराउले जिल्ला, क्षेत्रीय तथा राष्ट्रिय पुरस्कारहरु पाइसकेका छन् । उनको बारेमा जान्न र यस्तै तरीकाले खेती गर्न टाढाबाट युवा किसानहरु अवलोकन गर्न आउने गरेका छन् ।

Loading...