कोरिया जाने कामदारका लागि नयाँ व्यवस्था, भाषा परीक्षा उत्तीर्णबाट ५० प्रतिशत यसरी बाहिरिँदै

८ साउन, काठमाडौँ । कोरिया सरकारले नेपाली कामदारका लागि नयाँ नियम लागु गरेको छ । नेपाली कामदारमा ‘डिप्रेसन’ र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको हो ।

स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेको पाइएकाले कोरियाले सीपलाई प्राथमिकता दिएर कामदार लिने नयाँ नीति लिएको हो । यसअघि भाषा परीक्षा उत्तीर्ण गरेपछि कोरिया जान योग्य मानिथ्यो ।

कोरियाले सन् २०२० जनवरी १ देखि लैजाने नेपाली कामदारको अनिवार्य सीप परीक्षण गर्ने भएको हो । गत जुन ८ र ९ को भाषा परीक्षामा उत्तीर्ण भएका १२ हजार ९ जना सीप परीक्षणमा सहभागी हुनुपर्नेछ । यसका लागि नोभेम्बर २० मा परीक्षा तय भएको छ ।

भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सहभागी भएका थिए ।

काठमाडौंस्थित कोरियाको मानव संसाधन विभाग (एचआरडी) ले भाषा परीक्षामा उत्तीर्ण भए पनि सीपमा अदक्ष हुँदा समस्या सिर्जना भएको जनाएको छ । ‘सीप परीक्षण कार्य क्षेत्रसँग सम्बन्धित छ । त्योसँगै अनुभव रहेको प्रमाणपत्र, तालिम, शैक्षिक योग्यता भएकाहरू छनोट हुनेछन्,’ एचआरडी काठमाडौंकी निर्देशक पार्क सुङ हिले भनिन्, ‘यो नयाँ प्रणालीको सुरुवात हो ।’

कृषिमा १ सय १० र उत्पादनमा सय पूर्णांक तोकिएको छ । सीप परीक्षणका लागि पाठ्यक्रम सार्वजनिक गरिएको छैन ।

भाषा परीक्षामा उत्तीर्ण १२ हजार ९ जनाबाट ६ हजार ७ सय जनासम्म छनोट गरिनेछ । सन् २०२० मा कोरियाले उत्पादन क्षेत्रमा ४ हजार ७ सय जना र कृषि तथा पशुपालनतर्फ २ हजार छनोट गर्ने योजना छ ।

सबै परीक्षामा उत्तीर्ण भएपछि कोरियामा रोजगार पाउने ग्यारेन्टी नभएको जनाइएको छ ।

‘रोजगारदाताले छनोट र करारपत्रमा हस्ताक्षर गरेपछि मात्रै रोजगार ग्योरन्टी हुने हो । त्यसअघिका प्रक्रिया कोरिया जानका लागि योग्य उम्मेदवार छनोटका लागि मात्रै भएको कोरियाले जनाएको छ । कामदार कति जना जान्छन् भन्ने कुरा रोजगारदाताको मागमा भर पर्ने जनाइएको छ ।

कोरियामा भाषा परीक्षामा ५० अंक ल्याउने व्यक्ति उत्तीर्ण हुने नीति छ । तर नेपालका लागि सय पूर्णांकमा उत्पादन क्षेत्र रोज्नेले ९५ र कृषि तथा पशुपालन रोज्नेले ८३.२५ अंक ल्याउनुपर्ने नीति बनाइएको छ । कोरियाको श्रमबजारमा स्थानीय कामदारको अभाव भएपछि सन् २००४ देखि रोजगार अनुमति प्रणालीअनुसार विदेशी कामदार लैजान थालिएको हो । साना र मझौला रोजगारदाताले कोरिया सरकारसँग विदेशी कामदार ल्याउन अनुमति लिनुपर्छ ।

तीन प्रणालीबाट नेपाली कोरिया जान पाउँछन् । पहिलो भाषा र सीप परीक्षामा पाउने अंकका आधारमा, दोस्रो कोरियाबाट फर्केर विशेष भाषा परीक्षा उत्तीर्ण भएका र तेस्रो रोजगारदाता परिवर्तन नगरेका प्रतिबद्ध कामदार जान पाउँछन् ।

कोरियामा ६४ हजार नेपाली गइसकेका छन् । गत जनवरीदेखि जुलाई १६ सम्ममा ४ हजार कामदार गएका छन् । सन् २०१८ मा ८ हजार ५ सय ११ जना सूचीकृत छन् । रोजगारदाताले छनोट गरेपछि मात्रै सूचीकृत कामदार कोरिया जान पाउनेछन् ।

Loading...