बोरिस जनसन ब्रिटेनको भावी प्रधानमन्त्री

ब्रिटेनको कन्जर्भेटिभ दलले प्रधानमन्त्री टरिसा मेको उत्तराधिकारीका रूपमा बोरिस जनसनलाई चुनेको छ।

टोरी दलको नेतृत्वको प्रतिष्पर्धाको परिणाम ब्रिटेनको स्थानीय समयानुसार पौने १२ बजे घोषणा भएको हो।

दलका लगभग एक लाख ६० हजार सदस्यले गरेको मतदानको निर्णय लण्डनमा सार्वजनिक भएको हो। परिणाम सार्वजनिक भएपछि नयाँ नेताका रूपमा जनसनले पार्टीपंक्तिलाई सम्बोधन गरेका थिए। बुधवार उनले टरिजा मेको उत्तराधिकारीका रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्रीको सपथ ग्रहण गर्नेछन्।

अर्थमन्त्री फिलिप ह्यामन्ड र कानूनमन्त्री डेविड गेउकले जनसन प्रधानमन्त्री भए पदबाट राजीनामा दिने बताएका थिए। जनसनको सम्भावित जीतलाई ध्यान दिँदै विरोधमा विदेश मन्त्रालयका एक जना मन्त्री सर एलन डन्कनले पहिले नै राजीनामा दिएका थिए।

दलका वरिष्ठ नेताहरूले लण्डनका पूर्वमेयर बोरिस जनसनको नेतृत्वमा सरकारमा सहभागी नहुने बताए पछि उनी शुरूदेखि नै जितको दाबेदार देखिएका थिए।

ब्रिटेन युरोपेली सङ्घबाट बाहिरिने नीतिमा आफ्नै दलका सांसदहरूको विरोध खेपेकी प्रधानमन्त्री टरिजा मेले संसद्‍मा बुधवार हुने प्रश्नोत्तरमा सहभागी भएपछि महारानी एलिजावेथ समक्ष आफ्नो राजीनामा प्रस्तुत गर्नेछिन्। उनको उत्तराधिकारीले त्यसको केही समयपछि नै महारानीसँग भेटेर कार्यभार सम्हाल्ने छन्।

मतदान प्रक्रिया

देशभरीबाट दलका सदस्यहरूले गएको साढे दुई सातामा पत्रमार्फत् मतदान गरेका हुन्। यो कन्जर्भेटिभ दलको इतिहासमा सदस्यहरूले प्रधानमन्त्री छान्न पाएको पहिलो अवसर हो।

गत महिना अन्तिम दुई नेताको नेतृत्वको प्रतिस्पर्धा सीमित भएदेखि नै सन् २०१६ मा ब्रिटेनले युरोपेली सङ्घ छोड्नुपर्ने भन्दै प्रचारप्रसारमा लागेको जनसन नेतृत्वका लागि अगाडि रहेका थिए।

पूर्वमन्त्री डोमिनिक राबले स्काई न्यूज टिभीलाई पहिलो चरणको मतदानमा ५० प्रतिशत सांसदको मन जितेका जनसन दललाई एकताबद्ध गर्न उपयुक्त स्थानमा रहेको बताएका थिए।

अर्का मन्त्री जेम्स ब्रोकेनसायरले च्यानल फोरलाई जनसन युरोपसँग सबैभन्दा राम्रो प्रस्ताव प्राप्त गर्न र त्यो प्रस्तावलाई संसद्‍बाट पारित गर्न उपयुक्त व्यक्ति भएको बताएका थिए।

ब्रिटेनको सांसदले मेको प्रस्तावलाई तीनपटक अस्वीकार गरेको थियो। विदेशमन्त्री हन्टले आफू युरोपबाट बाहिरिने राम्रो प्रस्ताव प्राप्त गर्न उपयुक्त स्थानमा रहेको र युरोपले दिएको समयसीमा थप गर्न सक्ने बताएका थिए। जनसनले भने अक्टोबर ३१ भित्रै ब्रिटेनलाई युरोपेली सङ्घबाट बाहिर ल्याउन आफू कटिबद्ध भएको बताएका छन्।

चान्सलर फिलिप ह्यामण्ड, न्यायमन्त्री डेभिड गोक र अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टेवार्टले जनसन विजयी भएमा राजीनामा गर्ने बताएका थिए।

Loading...