पोर्ट ओ प्रिन्स, ७ साउन । हाइटीका राष्ट्रपति जोभेनेल मोसेले सोमबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले फ्रिज विलियम मिसेललाई यहाँको नयाँ प्रधानमन्त्रीका रुपमा सोमबार नियुक्त गरेको जनाइएको छ ।
यसअघिका प्रधानमन्त्री जिन माइकल लापिनले राजिनामा दिएपछि सोमबार विलियिम मिसेललाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका हुन् ।
लापिनले राजिनामा दिएपछि मैले यहाँका राष्ट्रिय राजनीतिक दलका नेताहरुका साथै सिनेट र चेम्बर अफ डेपुटिजसँग परामर्श गरेँ र उनलाई हाइटीको नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेँ– राष्ट्रपति मोसेले ट्वीटमा लेख्नुभएको छ ।
उनको मनोनयनलाई सांसदहरुले अनुमोदन गर्नुपर्दछ । राष्ट्रपति मोसेले सो ट्वीटमा भनेका छन्– मलाई लाग्छ मैले हाइटीका लागि यो राम्रो निर्णय गरेको छु ।
निवर्तमान प्रधानमन्त्री लापिनको कार्यकाल अत्यन्तै छोटो रहेको बताइएको छ । उनि गत मार्च महिनामा मात्र नियुक्त भएका थिए ।
सोमबार नियुक्त भएका प्रधानमन्त्री विलियम मिसेल यसअघि हाइटीको अर्थमन्त्रीका रुपमा काम गरेका थिए । उनि हाइटीका राष्ट्रपति मोसेका विश्वासका व्यक्ति पनि थिए ।
उनलाई अब हाइटीको सरकारलाई जनताको विश्वास आर्जन गर्नुपर्ने जिम्मेवारी आएको छ । यस कार्यलाई हाइटीका अधिकारीहरुले निकै गाह्रो भनेका छन् ।
हाइटी अमेरिकी राष्ट्रहरुमै सबैभन्दा गरिब देशका हो भनिएको छ । संयुक्त राष्ट्रसंघमा हालैमात्र गरिएको एक बैठकमा हाइटीमा करिब ५९ प्रतिशत नागरिक गरिबीको रेखामुनी छन् भनिएको छ ।