नेपालको पहिलो खेल आज कतारसंग, लाइभ कहाँ हेर्ने ? खेल समय, हेड टु हेड 

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता सिंगापुरमा सोमबार सुरु भएको छ। आयोजक सिंगापुर सहित प्रतियोगितामा नेपाल, मलेसिया, कुवेत र कतार गरि ५ टोलि सहभागी रहेका छन्। प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल मंगलबार कतारसंग खेल्नेछ।

नेपालको पहिलो खेल र प्रतियोगिता बारे तपाईहरुको सबै जिज्ञासाको समाधान एकै ठाउँमा :-

नेपालको पहिलो खेल – कतारसंग , खेल समय : मंगलबार ७:१५ बजे विहान ( नेपाली समय ) , इन्डियन एसोसिएसन मैदान, सिंगापुर , नेपालको आगामी खेलहरु –  जुलाई २४ – मलेसियासंग, जुलाई २७ – कुवेतसंग , जुलाई २८ सिंगापुरसंग

नेपालको खेल लाइभ कहाँ हेर्ने ?  सिंगापुर क्रिकेट एसोसीएसनको फेसबुक पेजले नेपालको र प्रतियोगिताको सबै खेलको प्रत्यक्ष प्रशारण गर्नेछ। सिंगापुर क्रिकेट एसोसीएसनको फेसबुक पेजमा गएर प्रत्यक्ष हेर्न सक्नु हुनेछ। 

नेपालले विश्वकप २०२० मा छनौट हुन के गर्नुपर्छ ? जारि टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) को विजेता टिम मात्र अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकपको अन्तिम छनौट ( ग्लोबल छनौट ) प्रतियोगिता खेल्न छानिनेछ। युएईमा ११ अक्टोबर देखि आयोजना हुने ग्लोबल छनौटमा विश्वभरबाट छानिएका १४ टिम खेल्नेछन् जसबाट उत्कृस्ट ६ टिम २०२० अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने सातौँ संस्करणको टि-२० विश्वकप खेल्न छनौट हुनेछ।

कतारसंग नेपालले बिगतमा खेलेको छ ? कतारसंग अन्तिम पटक नेपालले १० वर्ष अघि २००९ एसीसी टि-२० मा खेलेको थियो। इतिहासमै नेपालले कतारसंग मात्र २ पटक टि-२० खेलेको छ जसमा एउटा खेलमा नेपाल र एउटामा कतार विजयी भएको थियो।

एसीसी टि-२० २००७ ( मलेसिया )  समुह चरण : कतार ३ विकेटले विजयी

खेलमा टस जितेर कतारले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२८ रन बनाएको थियो। नेपालको लागि दिपेन्द्र चौधरीले सर्वाधिक अविजित ५९ रन तथा मेहबुब आलमले ४५ रन बनाएका थिए। आलमले ४० बलमा तथा चौधरीले ५० बलमा समान ४ चौका र १ छक्का प्रहार गरेका थिए।

कतारले १२९ रनको लक्ष्य १९.३ ओभरमा पुरा गर्यो। उसको लागि रुशारत अलिले अविजित ४९ रन बनाए। आक्रामक ब्याटिंग गरेका उनले २२ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै नेपालको जित खोसे। नेपालको बलिंगमा शक्ति गौचनले ३ विकेट ( ४-०-२१-३ ) , मेहबुब आलमले २ विकेट ( ४-०-१४-२ ) तथा पारस खड्का र बसन्त रेग्मीले १/१ विकेट लिए पनि जितको लागि पर्याप्त रहेको थिएन।

एसीसी टि-२० २००९ ( युएई )   समुह चरण : नेपाल ६ विकेटले विजयी

खेलमा टस जितेर ब्याटिंग रोजेको कतारले १९ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्रै बनाउन सकेको थियो। नेपालको बलिंगमा  शक्ति गौचन ( ४-०-१९-३ ) र बसन्त रेग्मी ( ४-०-११-३ ) ले ३/३ तथा सन्जम रेग्मी ( ३-०-२५-२ ) ले २ विकेट लिएका थिए। ९७ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। ज्ञानेन्द्र मल्लले अविजित ३९ रन ( ४४ बलमा २ चौका ) तथा दिपेन्द्र चौधरीले २८ रन बनाए। बसन्त रेग्मी र शक्ति गौचन खेलको संयुक रुपमा प्लेयर अफ द म्याच चुनिएका थिए।

कतार टिम कस्तो छ ? नेपालले जित्ला त ? 

गत वर्ष अप्रिलमा कुवेतमा आयोजित टि-२० विश्वकप छनौट ( एसिया पश्चिम ) प्रतियोगिताको उप-विजेताको रुपमा कतार एसिया फाइनल खेल्न छनौट भएको थियो। त्यस प्रतियोगितामा कतारले युएईसंग बाहेक अन्य ४ खेलमा जित हाँसिल गरेको थियो। युएई टि-२० विश्वकप ग्लोबल छनौट खेल्न आयोजक रुपमा छनौट भइसकेको छ।

कतार टि-२० अन्तर्राष्ट्रिय वरियतामा २१ औं स्थानमा रहेको छ भने नेपाल १० स्थान माथि ११ औं स्थानमा रहेको छ। प्रतियोगिताको पहिलो खेलमा सोमबार कतारले सिंगापुरसंग हार बेहोरीसकेको छ। सिंगापुरले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा कतारले १५३ रन बनाएको थियो।

तमुर सज्जाद कप्तान रहेको कतारको बलिंग भन्दा ब्याटिंग पक्ष बलियो मानिन्छ। मुहम्मद तन्भिर, तमुर सज्जाद, मोहम्मद रिज्लान जस्ता ब्याट्सम्यानहरु ठुलो इनिंग खेल्न सक्छन् भने बलिंगमा तिब्र गति बलर इकबाल हुसेन र नौमन सरवार पनि लयमा रहेका छन्। सिंगापुरसंग हारको बाबजुद इकबाल हुसेनले ४ विकेट लिएका थिए भने ब्याटिंगमा मोहम्मद रिज्लानले अविजित ३३, तमुर सज्जादले ३४, ओपनर फैसल जावेदले २९ तथा मुहम्मद तन्भिरले २६ रन बनाएका थिए।

नेपाल जस्तो ठुलो वरियताको टिमसंग खेलेको अनुभव नभए पनि कतार आस्चर्यजनक नतिजा ल्याउन सक्ने टिम हो। तर सिंगापुरसंग पराजित भएको कतारले नेपाललाई पराजित गर्न भने मुस्किल हुनेछ। सिंगापुरको इन्डियन एसोसीएसं मैदान छोटो भएकोले नेपाली बलरहरुले सावधानी भने अपनाउनु पर्नेछ।

अन्तिम-६ खेलमा कतारको नतिजा :- 

Vs सिंगापुर – ३३ रनले पराजित ( सिंगापुर १८६/७ , कतार १५३/९ ) , Vs  युएई – ९ विकेटले पराजित ( कतार ११५ , युएई १२१/१ )
Vs बहराइन – ५ विकेटले विजयी ( बहराइन ११२/८ , कतार ११५/५ ) Vs साउदी अरब – ४ विकेटले विजयी ( साउदी १३५/७ , कतार १३६/६ ) Vs माल्दिभ्स – ४४ रनले विजयी ( कतार १४९/७ , माल्दिभ्स १०५/७ ) Vs कुवेत – २६ रनले विजयी ( कतार १६७/६ , कुवेत १४१/९ )

नेपालको कमजोर र बलियो पक्ष :- नेपालले प्रतियोगिता खेल्नु अघि मलेसियासंग २ वटा टि-२० अन्तर्राष्ट्रिय खेलेको थियो। दुवै खेलमा जिते पनि दोश्रो खेलमा नेपाललाई मलेसियाले जित्न असहज बनाएको थियो।

मलेसियासंग दुवै खेलमा नेपालको ओपनिंग साझेदारी कमजोर रहेको थियो। पहिलो खेलमा प्रदिप ऐरी र पारस खड्काले २९ तथा दोश्रो खेलमा पारस र पवन सर्राफले ३४ रन बनाएका थिए। पारस खड्काले पहिलो खेलमा अविजित ८६ तथा दोश्रोमा २३ रन बनाएर उत्कृस्ट लयमा रहेको संकेत गरेका छन्। तर ओपनिंग जोडीको रुपमा आएका पवन सर्राफले १० तथा प्रदिप ऐरीले ८ रन बनाएका थिए। प्रतियोगितामा अब पारसको ओपनर जोडीको रुपमा को आउनेछन् त्यो निश्चित छैन।

त्यो बाहेक तेश्रो नम्बरमा ब्याटिंग गरिरहेका ज्ञानेन्द्र मल्लको फर्म नेपालको चिन्ता हो। मलेसियासंग दुवै खेलमा समान ७ रन बनाएर आउट भएका थिए। लगातार टि-२० क्रिकेटको नेपाली घरेलु प्रतियोगिता देखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्म असफल मल्लको फर्म नेपालको चिन्ता हो। ओपनर र तेश्रो नम्बरको ब्याट्सम्यान विकेटमा नजम्दा नेपाली  मध्यक्रमलाई बढी दबाब रहेको छ।

दिपेन्द्र ऐरीको आगमनले टिम थप मजबुत हुनेछ

मध्ये क्रममा शरद भेसावकर र बिनोद भण्डारी लयमा आउनु नेपालको लागि सुखद संकेत रहेको छ भने प्रधानमन्त्रि कपको दौरान औलाँमा चोटले घाईते दिपेन्द्र ऐरीको टिममा आगमनले ब्याटिंगलाई अझ मजबुत बनाउनेछ। शरदले मलेसियासंग दोश्रो टि-२० मा ४० तथा बिनोद भण्डारीले ५१ रन बनाएका थिए।

नेपालको बलिंग पक्ष भने मजबुत रहेको छ। सन्दिप लामिछाने, बसन्त रेग्मी जस्ता स्पिनर तथा सोमपाल कामि, करन केसी र अविनाश बोहरा जस्ता तिब्र गति बलरको उपस्थितिले बलिंग सन्तुलित मानिएको छ। सिंगापुरको इन्डियन एसोसीएसन मैदानको बाउन्ड्री सानो भएकोले नेपाली बलरहरुलाई रन जोगाउन सहज भने हुनेछैन। सोमपाल, करन र अविनाशले मलेसियासंगको टि-२० सिरिजमा राम्रो प्रदर्शन गरेकोले ३ जना मध्ये को २ जना अन्तिम-११ मा खेल्नेछन् पनि हेर्न लायक हुनेछ। स्पिनरको रुपमा सन्दिप लामिछानेको स्थान पक्का हुँदा बसन्त रेग्मी र ललित राजबंशी मध्ये अन्तिम-११ को रोजाईमा पनि प्रतिस्पर्धा हुनसक्छ।

टिम नेपाल :- पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, पवन सर्राफ, दिपेन्द्र ऐरि , रोहित पौडेल, बिनोद भण्डारी, प्रदिप ऐरि , बसन्त रेग्मी, सोमपाल कामि, करन केसी, सन्दिप लामिछाने, ललित राजबंशी, अभिनाश बोहरा

टिम कतार :- इमाम उल हक, फैसल जावेद, कमरान खान, मुहम्मद तन्भिर, तमुर सज्जाद ( कप्तान ) , नौमन सरवार, मोहम्म्मद रिज्लान, जाहिर इब्राहिम, अवेस मलिक, इकबाल हुसेन, मोहम्मद नदीम ( अन्य ३ खेलाडीको नाम प्राप्त भएको छैन )

Loading...