सुर्खेत, ५ साउन । जन्मदिन भन्नेबित्तिकै अहिले धेरैले ‘केक’ भन्ने मात्र सम्झन्छन् । ‘केक’ हरेक अवसरमा प्रयोग गरिने सौखिन साधन बनेको छ । जन्मदिनको पर्याय बनेको ‘केक’ बाल मस्तिष्कमा निकै गहिरो छाप बनेर बसेको छ ।
‘केक’ ले क्रेजी बनाएर होला, आजभोलि बालबालिका त घरमा हजुरबुबा, हजुरआमा, आमाबाबु, काकाकाकी, मामामाइजु, दाइदिदीलगायत विभिन्न नातासँग सम्बन्धित सबै आफन्त जन्मेको दिन सम्झाउन थालेका छन् ।
तर सुर्खेत पश्चिम चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले आफ्नो ३८औँ जन्मदिन मानवीय धर्म र संवेदनासँग जोडेर मनाएका छन्। जुन कार्य शहरमा बसेर केक काट्न रहर गर्नेहरुका लागि मननीय छ ।
अध्यक्ष शाहीले शुक्रबार चौकुने गाउँपालिकाको सान्नेघारी माध्यमिक विद्यालय गुटुका १५ टुहुरा (अनाथ) बालबालिकासँग खुशी साटेर जन्मदिवस मनाए । जन्मदिवसको अवसरमा उनले अनाथ सबै बालबालिकालाई एकसरो कपडा र शैक्षिक सामग्री प्रदान गरे । उनले भने, “मेरो खुशी केकसँग होइन, तिनै अनाथ बालबालिकासँग नैतिकता र जीवन दर्शनका कुरा गरेर साटेँ ।”
भागदौडपूर्ण जिन्दगीमा एकमुठ्ठी खुशी आदानप्रदान गर्न थोरै समय भए पनि टुहुरा बालबालिकासँगै रहेर जन्म दिवस मनाउन पाउँदा मन हर्षित भएको उनले बताए। जन्मदिनमा उपहार लिने नभई दिने चलनको विकास होस् भन्न र गर्नका निम्ति गुटुका अनाथ बालबालिकासँग जन्मदिवस मनाइएको उनको भनाइ थियो ।
कर्णालीको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले पाषणवेदको पातमा खीर राखेर ताजा सेलरोटीसँग अचार मिलाएर खाने र दीर्घायुको कामना गर्ने मौलिक संस्कृति कायम राख्न नसक्नु हाम्रै कमजोरी भएको तर्कगरे । “विविधतायुक्त जाति, भाषा र संस्कृतिमा नेपालको पूर्वदेखि पश्चिम सबै क्षेत्र समृद्ध छ”, आचार्यले भने, “यसलाई विश्वव्यापीकरण गर्न सकेका छैनौँ ।”