धान रोप्ने समयमा नहर भत्केपछि किसान चिन्तित

बेझाड, ३ साउन । जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर भत्किएको छ । रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन हुँदै आएको यस नहर अहिले धान रोप्ने समयमा भत्किन पुगेपछि कृषक चिन्तित बनेका छन् । विभिन्न भागमा निर्माणकार्य भइरहेका बखत नहरमा एक्कासि ठूलो पानी छाडेकाले बन्दै गरेको पर्खाल भत्किन पुगेको हो ।

गत वैशाखको पहिलो हप्ताबाट मर्मतकार्य शुरु भएको मूल नहरको रजघरा क्षेत्रमा करीब ८० मिटर पर्खाल भत्किएको छ । समयमा निर्माण नगर्ने तथा आलटाल गरेर बस्ने, अन्तिममा आएपछि ठेक्का आह्वान गरेर काम गराउने परिपाटीले काम पूरा गर्ने समयको अभावले नहर क्षति हुन पुगेको स्थानीय पिताम्बर गौतमले बताए ।

“बजेट नै ढिला निकासा गर्ने, ठेकेदारले त काम गरिरहेका छन् तर पर्खाल ढलान गरेपछि एक/दुई दिन पनि पूरा सुक्न नपाउँदै ह्वात्तै पानी सञ्चालन गरिएकाले नहर भत्किन पुगेको छ” उनले भने । प्रदेश नं ५ भौतिक तथा पूर्वाधार मन्त्रालयमार्फत रु १० करोड बोलपत्र आह्वान भएकामा रु सात करोड ४१ लाखको लागतमा नहर मर्मतको कार्य शुरु भएको हो ।

मूल नहरको दुई हजार ८०० मिटर बढी आरसीसी पर्खालसहितको ढलान, तीन हजार ३०० मिटर बढी शाखा नहरको मर्मतका लागि छ शाखामा विभाजन गरी तीन निर्माण कम्पनीले खुला प्रतिस्पर्धाबाट रु सात करोड ५१ लाखमा ठेक्का लिएर काम गरिरहेका छन् । मूल नहरको ६६० मिटरको शाखा नं २, ७९१ मिटर शाखा नं ४ र साना कल्भर्टसहितको शाखा नं ६ र ७ ब्रदर्श कन्ट्राक्टिङ एण्ड कन्स्ट्रक्सनले जिम्मा लिएर मर्मतको काम गरेको हो ।

शाखा नं ३ को मूल नहर ६६० मिटर शिव खिम्ती कन्स्ट्रक्सनले र शाखा नं ५ को ७०८ मिटर डी कैलाश कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको थिए । तीमध्ये शाखा नं ४, ६ र ७ को निर्माणकार्य समयमै सम्पन्न भइसकेको छ भने शाखा नं २, ३ र ५ को ५५१ मिटर बढी निर्माणकार्य सम्पन्न हुन बाँकी रहेको छ । पानीले असार अन्तिममा काम भएको शाखा नं २, ३ र ५ को ८० मिटर आरसीसी पर्खाल ढलाएको छ ।

असारको अन्तिमसम्म काम गरेका निर्माण व्यवसायीले पनि नहरमा व्यवसायीसँग सल्लाह नै नगरी पानी एक्कासि ठूलो पानी छाड्नाले समस्या भएको ब्रदर्श कन्ट्राक्टिङ एण्ड कन्स्ट्रक्सन प्रालिका समशुलहक मियाँले बताए । “साउन १ गतेदेखि तीन चरण गरेर पानी छाड्ने समितिसँग कुरा भएकामा एक्कासि एक मिटर २० सेमीको उचाइसम्म पानी छाड्दा भर्खर ढलान भएको पर्खाल थेग्न नसकेर भत्कन पुग्यो”, उनले जानकारी दिए ।

निर्माणकार्य सम्पन्न हुन बाँकी रहेकाले अहिले भत्केका संरचना र निर्माण गर्न बाँकी भाग बाली भित्र्याएपछि शुरु गरिने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख श्रीधर भट्टराईले बताए । धान रोप्न कृषक आत्तिएपछि काम नसकिँदै पानी सञ्चालन गर्दा भत्किन पुगेको उपभोक्ता समितिका अध्यक्ष हिरण्यराज रेग्मीले जानकारी दिए ।

“नहरमा साउन १ गतेदेखि नियमित पानी सञ्चालन भइरहेको छ, अहिले तत्काललाई निर्माणकार्य नगरे पनि पानी आउँदैन कि भनेर डराउनुपर्ने अवस्था छैन”,उनले भने । घाँचतिरको भागमा बनाउँदै गरेको पर्खाल भत्केकाले आत्तिहाल्नु नपर्ने उनको भनाइ छ । साविक रामपुर, दर्छा र खालिवन गाउँ विकास समितिका तल्लो क्षेत्रमा रहेका जमीनलाई सिँचाइ गर्नका लागि ठूलो लगानीमा नहर निर्माण गरिएको हो ।

साविक दर्छा गाविसको ओइरेघाटमा बाँध बाँधेर निस्दीखोलाको पानीलाई सिँचाइका लागि ल्याएपछि बाँझिएका जमीन सदुपयोगमा आएका छन् । रु पाँच करोडको लागतमा विसं २०४१ मा निर्माणकार्य शुरु भई ०४६ मा पूरा भएपछि नहर सञ्चालनमा आएको हो । झण्डै २२ किमी लम्बाइ रहेको यस नहरबाट तीन हजार ९१० घरपरिवारको ७७० हेक्टर क्षेत्रफल जमीन सिञ्चित हुने गरेको छ । अहिले भने पुनःनिर्माणको सर्वेक्षण गरेपछि सिञ्चित क्षेत्रफल एक हजार २०० पुगेको छ ।

यस नहरबाट यहाँका १९ हजार ९२१ जनसङ्ख्या लाभान्वित भएका छन् । यो नहर मर्मतसम्भारका लागि समय–समयमा बजेट आइरहेपनि पूर्णरूपमा सुधार नहुँदा उपभोक्ताले सास्ती खेप्दै आइरहेका छन् । मूल नहरबाट पाँच शाखा र ४१ उपशाखा रहेको छ । नहरबाट सिञ्चित क्षेत्रफल घट्दो र मालपोत कार्यालयबाट लगत कट्टा हुने क्रम बढ्दो छ ।

Loading...