सप्तरी २ साउन । घरको चुलो गजगजे हिलोले पुरिएका, सामान हिलोले लतपतिएका र भिजेको एक पोको चामल घाम लागेको मौका छोपेर आँगनको ओभानो भागमा सुकाइएको थियो ।
यो दृश्यमा बुधबार अपराह्न बाढीले पुरेका भाँडाकुँडा र खाद्यान्न पाइन्छ कि भनेर मझेरी खोतल्दै हुनुहुन्थ्यो सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ का त्रिभुवन मिश्र । बाढीले बगाउनबाट जोगिएका सामान बचेको छ कि भन्ने आशले उहाँ पाँगोले भरिएको मझेरी खोतल्दै थिए । श्रीमती श्यामादेवीले सघाउँदै थिइन ।
तीन दिन भूजाको भरमा बसेका मिश्र दम्पतीले बाढीबाट बचेको अन्न पकाएर बुधबारदेखि सामान्य पेट भर्न थालेको छ । उनको घरभित्र भरिएको पाँगो माटो देख्दा जो कोहीको मन भक्कानिन्छ । मिश्र परिवारमा यो समस्या भएको पहिलो भने होइन ।
उनी भन्छन, “समस्या मेरो २०औँ वर्षदेखि यही कुरा छ, राजाको पालादेखि अहिलेसम्म समस्यैसमस्या, अब हामी कसरी बच्ने ?” उनको मनको वह अझै रोकिएन । “म बर्बात् छु बरबात्, सबै सम्पत्ति हेर्नुस्, धानचामल छैन, भोलि के खाने, अहिलेसम्म सरकारको राहत पाएको छैन ।”
विडम्बनाको कुरो त हरेक वर्षजसो नै उनी पीडित बनेका छन् । आएको राहत टाठाबाठाले मात्रै कुम्याउँछन् । उनका अनुसार कमजोर र गरीब परिवारले राहत पाउनै मुस्किल छ । “अरु साल पनि राहत आउँथ्यो, उनीहरूकै मान्छे राख्छन्, बाँडीचुँडी खान्छन्, हामीले केही भेट्दैनौँ”, मिश्रले विगतको अनुभवसहितको पीडा पोखे ।
यहाँका धेरै बस्तीमा यस्तै पीडा छ । खाने र बस्नेको ठाउँ ठेगान छैन, कतिबेला बाढी आउने भन्ने चिन्ता उस्तै छ । असार २७, २८ मा ज्यान बचाउन गरेको सङ्घर्ष झल्झल्ती सम्झन्छन् पीडितहरू ।
घर ओभाने बनेको छैन । खाने अन्न छैन, लगाउने कपडा छैन, बस्ने बास छैन, रातमा निद्रा छैन । स्थानीय सत्यनाथ मिश्र भन्छन, “अहिलेको अवस्था एकदम बिग्रेको छ, सबैको घरमा पानी नै पानी छ, जग्गा जमीन पुरिदिएको छ, खाना पकाउन सकिएको छैन र सरकारको कुनै सुविधा आएको छैन ।”
गाउँ भएर खाँडो खोला बग्छ । अविरल वर्षाका कारण केहीमाथि कटान गरेर खाँडो खोला बस्तीतर्फ सोझिएर क्षणभरमै बस्तीमा हावाकावा बनायो । खेतीयोग्य जमीन पुरेको छ । धानको बीउ सखाप पारेको छ ।
तिलाठी–कोइलाडीका महेश्वर झा खाँडो खोलाले कृषिमा ठूलो क्षति पु¥याएको बताउँछन । “बीउ जति थियो, त्यो बगीहाल्यो, अब किसानसँग बीउ नै छैन, धान कसरी फल्छ ?” झा प्रतिप्रश्न गर्नुहुन्छ । घर भत्किएको र भाँडाकुँडा बगाएर पीडित बनेका स्थानीय बाढीको डर कम भए पनि गाँस, बास र कपासको जोहो गर्ने पीडा थपिएको बताउँछन् ।
साल्ट ट्रेडिङका पूर्वकर्मचारी शतिशचन्द्र झाले खेतीयोग्य जमीन बगर बनेको र बीउ हिलोले पुर्दा किसानलाई ठूलो मर्का परेको बताए । “पक्की घर बच्या छ, अरु बच्या छैन, चाँडोभन्दा चाँडो यो खाँडो खोलाको बाँध बन्नु प¥यो, अनि ढुक्कसँग निद्रा लाग्छ ।” झाले गाउँको अवस्था बताए । सप्तरीमा मानवीय क्षति नभए पनि बस्ती र खेतीबालीमा ठूलो क्षति पुुुुुुगेको छ । प्रमुख जिल्ला अधिकारी सुुुुुुुुुरेन्द्र पौडेलले चार हजार ५०० घरपरिवार प्रभावित भएको बताए । उनले राहत वितरणको काम जारी रहेको भन्दै छुटेका भए खोजेर वितरण गर्ने बताए । उनले यहाँको केही स्थान अझै डुबानमा रहेको बताए ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायत सरकारको उच्चस्तरीय टोलीले बुधबार सोही ठाउँमा गएर स्थलगत अवलोकन गरी पीडितको अवस्थाबारे जानकारीसमेत लिए ।
सप्तरीको यो प्रतिनिधि समस्या तराईमा बाढी र डुबान पीडितको यथार्थ चित्रण हो । रौतहट, धनुुषा, सिराहालगायत जिल्लामा योभन्दा बढी पीडा छ । बाढी र डुबानको पीडा कम भए पनि घरवारविहीन भएका र खाने अन्न नभएका सर्वसाधारणको अवस्था भने अझै चुनौतीपूर्ण छ । उनीहरू राहतको पर्खाइमा छन् । कतिपय स्थानमा राहत वितरणको काम तीव्र छ भने कतिपय ठाउँमा पुुग्न नसकेको यो तथ्यले पुष्टि गर्छ ।
स्थानीय गाउँपालिकाको सक्रियतामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीय समुदाय खाँडो खोलाले भत्काएको स्थानमा अस्थायी ड्याम बनाउनमा व्यस्त छन् । यहाँका नदी, खोलानालाले धेरै ठाउँमा भत्काएकाले स्थानीयका प्रयास सम्भव हुने देखिँदैन । लामो दूरीका सडक सञ्जाल विच्छेद भएकाले त्यसको पुनःनिर्माण टड्कारो आवश्यकता छ ।
प्रदेश नं २ को विवरणअनुसार यहाँका आठ जिल्लामा ३२ जनाको मृत्यु भएको छ । रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् । प्रदेश नं २ मा एक लाख १८ हजार घरका सात लाख व्यक्ति प्रभावित छन् । तीन हजार ६५० घरमा पूर्ण क्षति पुगेको छ । लालबकैया, कमला र वाग्मतीलगायत साना खहरे खोलाले ठूलो क्षति पु¥याएको छ ।
अर्थका कारण राहतमा कुनै कमी हुन नदिने उल्लेख गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको हरेक जिल्लामा तत्कालका लागि रु १० लाखका दरले राहत उपलब्ध गराएको र मृतक परिवारलाई प्रतिमृतक रु तीन लाखका दरले राहत दिने निर्णय गरेको जानकारी दिए । राहत वितरण कसरी भइरहेको छ भनेर हेर्ने संयन्त्र नहुने हो भने वास्तविक पीडितले राहत नपाउने गुनासो स्थानीयको छ । सप्तरीका प्रमुुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यसपटक आँकलन गरिएको भन्दा बेग्लैरुपमा बाढी र डुुबान भएको बताउँछन ।
गृह मन्त्रालयका राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणअनुसार असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको, २९ हराइरहेका र ४१ घाइते भएका छन् । विपत्मा परेर सबैभन्दा बढी रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् ।
ललितपुर र सिराहामा छ÷छ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा पाँच÷पाँच जनाले ज्यान गुमाएका छन् । ओखलढुङ्गा, महोत्तरी र डोल्पामा चार÷चार तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौँमा तीन÷तीन जनाको मृत्यु भएको छ । यस्तै सुनसरी, बारा, धादिङ र दाङमा दुई÷दुई, इलाम, पाँचथर, सङ्खुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा एक÷एक जनाको मृत्यु भएको जनाइएको छ ।