समाजवादी र कम्युनिष्टलाई अमेरिका छाड्न ट्रम्पको चेतावनी !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चेतावनी दिएका छन् ।

ट्रम्पले मंगलबार एकसाथ तीन पटक ट्वीट गर्दै अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने भन्दै ति विचार भएकालाई अमेरिका छाड्न चेतावनी दिएका हुन् । 

उनले यसबाट खुसी हुन नसक्नेहरुले अमेरिका छाड्न सक्ने विकल्प रहेको भन्दै त्यो उनीहरुको एक्लो छनौट हुने बताएका छन् । उनले खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीप्रति समेत एकसाथ प्रहार गरेका छन् । ट्रम्पले गरेको यो ट्वीट विवादमा परेको छ ।

केही व्यक्तिले अमेरिकालाई घृणा गरिरहेको भन्दै ट्रम्पले त्यस्ता व्यक्ति इजरायल विरोधी, अलकायदा समर्थक रहेको जिकिर गरेका हुन् । उनले वामपन्थी डेमोक्र्याटहरुले खुला सिमाना चाहेको र त्यसबाट लागू पदार्थ, अपराध र मानव बेचबिखन जस्ता कार्यलाई प्रोत्साहन दिन खोजेको आरोप पनि लगाएका छन् ।

अमेरिका अहिले जस्तो बलियो कहिल्यै नभएको दावी गर्दै उनले सैनिक शक्तिको पुनर्गठन, अहिलेसम्मकै उच्च स्टक मार्केट, सबैभन्दा कम बेरोजगारी कायम हुन सफल भएको दावीसमेत गरेका छन् ।

Loading...