अमेरिकाको न्यूयोर्कमै विद्युत सेवा अवरुद्ध, लाखौ मानिस प्रभावित

एजेन्सी । अमेरिकाको न्यूयोर्क शहरको म्यानहटन क्षेत्रमा विद्युत सेवा प्रभावित हुँदा लाखौं मानिसहरु प्रभावित भएका छन् । म्यानहटनमा ट्रान्सफर्मरमा विष्फोट भएपछि विद्युत सेवा प्रभावित भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार शनिबार बेलुकी ६ बजेर ४७ मिनेटदेखि म्यानहटनका केही क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको थियो । विद्युत सेवा अवरुद्ध हुँदा वेष्ट ४२ स्ट्रिट र वेष्ट ७२ स्ट्रिटमा सबैभन्दा धेरै असर परेको बताइएको छ । यसबाट ७३ हजारभन्दा धेरै घरमा बिजुली गएको थियो ।

त्यस्तै, सब-वे, सिनेमाघर र सडकबत्तिसमेत यसबाट प्रभावित भएका थिए । यद्यपि मध्यरातबाट अधिकांश स्थानमा विद्युत सेवा सुचारु भएको अधिकारीले जनाएका छन् ।

यसबाट कुनै मानवीय क्षति नभएको अमेरिकी अधिकारीले जनाएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा ट्रान्सफर्मरमा विष्फोट भएको बताइएपनि उक्त विष्फोट हुनुको कारणबारे केही खुलाइएको छैन ।

Loading...