“दुःखीको घरमा मात्र तेरो बास हुने भए
हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।”
गलेश्वर, १२ असार । साहित्यकार बालकृष्ण समले मुकुन्द इन्दिरा खण्डकाव्यमा व्यक्त गरेको माथिको कवितांशसँग ठ्याक्कै मेल खान्छ, म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी चाउनेकी ७० वर्षीया घमिष्टा भण्डारी र उनका दाजु चन्द्रबहादुर भण्डारीको जीवनकथा ।
कविताको हरफले त मुकुन्द इन्दिराको घर त रहेछ भन्ने अर्थ दिएको छ, तर भण्डारी दाजुबहिनीको त घरसमेत नहुँदा अर्काको गोठमा दाउराको सिरानी र परालको सिरक ओडेर बाँच्नुपर्ने बाध्यता छ । भण्डारी दाजुबहिनी विगत पाँच वर्षदेखि पशुचौपायालाई बनाइएको गोठमा बस्दै आएका छन ।
भत्किने अवस्थामा रहेको गोठभित्र रहेको पराललाई ओड्ने सिरक, वनजङ्गलबाट ल्याएको दाउरालाई सिरानी बनाएर सुत्ने गरेका छन । गोठभित्र कुनामा रहेको अँगेना मुस्किलले दुई÷चार दिनमा एकपटक बल्छ । पुराना भाँडाकुँडा चुहिने अवस्थामा छन् भने एकछाक पकाउने चामलसमेत छैन । छिमेकीले पकाएर दिएको भातकै भरमा रात कटाउने गरेका दाजुबहिनीले पेटभरि भात खान पाउनुलाई नै अहोभाग्य ठान्छन् ।
गाउँकै विपन्न भण्डारी दाजुबहिनीलाई स्थानीय धनवती गिरीले पशुचौपाया राख्ने गोठमा आश्रय दिएकि छन । गर्मी मौसममा नजिकै पशुचौपाया भएकाले पनि लामखुट्टेबाट जोगिन आगो बाल्ने गरेका छन । “खानेकुरा केही छैन्, बस्ने बास छैन, दाई बिरामी छन्”,। उनले एक सातादेखि वनजङ्गलबाट ल्याएको तरकारी र गाउँबाट मागेर ल्याएको भात खाएको बताउँदै बिरामी दाइलाई उपचार गर्ने पैसासमेत नभएको बर्ताईन।
गोठभित्र सुत्ने र खाना पकाउनेभन्दा पनि पराल, पुराना कपडा र दाउरामै रात बिताउने गरेको र बिहानै गाउँलेको काममा निस्किएर बेलुकी केही खानेकुरा ल्याउने गरेको स्थानीयवासी जानकारी दिए । “अलपत्र अवस्थामा बस्ने ठाउँ दिएको छु, मेरो पनि आर्थिक अवस्था कमजोर नै भएकाले उनीहरूलाई आवश्यक केही सहयोग गर्न सकेको छैन ।
विसं २०७२ वैशाखमा गएको भूकम्पमा चर्किएको गोठमा बस्न बाध्य भण्डारी दम्पत्तीलाई बाह्रै महीना समस्या हुनेगरेको स्थानीयवासीको भनाइ छ । “न्यानो लुगा र बाक्लो सिरक ओढ्ने सपनाजस्तै छ, छेउमै पशुचौपायाको गोठ भएकाले गर्मी महीनामा पनि रात काट्न मुस्किल हुन्छ”, घमिष्टाको भनाइ उद्धित गर्दै एक स्थानीयवासीले भने ।
घमिष्टाका दाजु नशा र शरीर दुख्ने समस्याका कारण हिँडडुल गर्न सक्नुहुन्न । भोक लागेर चिच्याउन थालेपछि स्थानीयवासीले समेत केही खानेकुरा दिने गरेका छन् । पशुसरह जीवन जिउन बाध्य भण्डारी दाजुबहिनीलाई सानो बस्ने घर र सम्मानयुक्त जीवन स्थापित गर्न स्थानीयवासीले सहयोगको याचना गरेका छन् । खान, बस्न र बाँच्न पाउने अधिकारबाट समेत वञ्चित भएका भण्डारीलाई तत्काल गोठबाट सुरक्षित घरमा सार्न खाद्यान्न र लत्ताकपडाको आवश्यकता देखिएको छ ।