गृहमन्त्रीसँग विप्लवका प्रवक्ता आगो । हस्तक्षेप नरोके कडा संघर्षको चेतावनी

काठमाडौँ, १७ साउन । नेपाल कम्युनस्टि पार्टीले पोखरा पृथ्वी चोकस्थित सस्तो बजारका व्यवसायीमाथि हस्तक्षेप गरेको भन्दै विरोध जनाएको छ ।

विगत पाँच वर्षदेखि फुटपाथका व्यापारीले लगानी गरेर सस्तो बजार संचलान गर्दै आएका साना व्यपारीलाई उठिबास लगाउन सरकार भ्रष्ट तत्वसँग मिलेको नेकपाले बताएको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले मंगलबार विज्ञप्ति जारी गरेर सरकार र नेपाल वायु सेवा निगम साना व्यापारीविरुद्ध षड्यन्त्र गरिरहेको भन्दै घोर आपत्ति जनाएका छन् ।

मुल गेटमा लाइएको तालावन्दीले बजार भित्रका कुखुरा कराई–कराई मरिरहेको, फलफूल र तरकारी सडेर खेर गएको बताउँदै प्रवक्ता प्रकाण्डले टेण्डरमा दिने प्रक्रिया तुरुन्त बन्द गर्नुपर्ने माग समेत गरेका छन् ।

एक महिनादेखि प्रहरीले थुनामा राखेका शिव खनाल र चन्द्रबहादुर नेपालीलगायत गिरफ्तार व्यापारीलाई रिहाईको गर्दै प्रहरी दमनबाट घाइतेको उपचारको माग समेत गरका छन् ।

“सरकार र गृह प्रशासनले बजार एवं व्यापारीहरुमाथिको हस्तक्षेप र नेपाल वायू सेवा निगम तथा ठेकदारको लुट रोकेन भने हाम्रो पार्टी साना व्यापारीको पक्षमा उभी कडा संघर्षमा प्रवेश गर्ने विषय समेत प्रष्ट पार्न चाहान्छ” विज्ञप्तिमा भनिएको छ ।

यस्ताे छ विज्ञप्तीकाे पूर्ण पाठ

पोखराको पृथ्वी चोकस्थित सस्तो बजारमाथि देउवा सरकार र त्यसको गृह प्रशासनले गरेको हस्तक्षेपबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेश विज्ञप्ति जारी गरिएको छ ।

१) विगत ५ वर्षदेखि पोखराका फुटपाथ व्यापारीहरुले पृथ्वी चोकको सस्तो बजारमा व्यापार–व्यवसाय गरेर आफ्नो जीविका चलाउँदै आएको कुरा सर्वविदितै छ । २१७ जना फुटपाथ व्यापारीहरुले प्रतिव्यक्ति ३ देखि ४ लाख लगानी गरी सस्तो बजारलाई अहिलेको अवस्थामा पु¥याएका थिए । नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको जमीनमा अवस्थित उक्त बजारको कूल भाडा ४९ हजार रुपैयाँ व्यापारीहरुले तिर्दै आएका थिए ।

२) व्यापारीहरुले गरेको बजार–व्यवस्थापन र बजारको विकाश भएपछि राज्य र भ्रष्ट तत्वहरुले टेण्डर प्रणालीको वाहानामा व्यापारीहरुबाट सस्तो बजार खोस्ने षड्यन्त्रको रुपमा राजु गोरखालीको बुवा–आमाको नाममा रहेको सूर्य डिल प्रा.लि.लाई ११ लाख मासिक भाडा लिने सर्तमा टेण्डरमा दिए । शुरुमा ४९ हजार पछि ६३ हजार भाडा तिरी राखेका व्यापारीहरुलाई टेण्डरको वाहानामा ११ लाख तिर्नु पर्ने वाध्यता सृजना गरेपछि व्यापारीहरुले त्यो अस्वीकार गरे र आन्दोलित भए ।

३) टेण्डर प्रथा खारेजी गर्नु पर्ने, बजारको भाडा सिधै नेपाल वायु सेवा निगमलाई बुझाउने व्यवस्था हुनु पर्ने र ठेकदार प्रथाको नाममा व्यापारीमाथिको लुट खारेज गर्नु पर्ने लगायतका माग राखेर व्यापारीहरुले संघर्ष गर्दा जनार्दन गृह प्रशासनले दमन गर्‍यो । दमनमा ५ जना व्यापारीहरु घाईते भए भने ५/६ जना व्यापारीहरु गिरफ्तार गरिए । जसमा शिव खनाल र चन्द्र बहादुर नेपाली १ महिनादेखि अझै थुनामा छन । गृह प्रशासनले बजारको मूल ढोकामा ४ वटा ताल्चा लगाएको एक महिना भैसक्यो । तालावन्दीले बजार भित्रका कुखुरा कराई–कराई मरे भने फलफूल र तरकारी सडेर गयो । बजार खण्डहरमा परिणत गराईएको छ ।

४) सस्तो बजार र त्यहाँका साना व्यापारीहरुका विरुद्धको षड्यन्त्र सरकारका दलाल तथा भ्रष्ट मन्त्री, नेपाल वायु सेवा निगमका ःम्, गृह प्रशासक र ठेकदारको मिलिमगतमा गरिएको कुरा प्रष्ट हुन आउँछ । हाम्रो पार्टी यस कु–कार्य, हस्तक्षेप र दमनको घोर निन्दा एवंं भ्रत्सना गर्दछ ।

५) हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पोखरा सस्तो बजारका व्यापारीहरुको जायज माग र त्यसको निम्ति गरिएको संघर्षको जोडदार समर्थन गर्दछ । गृह प्रशासनले व्यापारी र बजारमाथिको हस्तक्षेप तुरुन्त बन्द गरोस्, थुनामा राखिएका शिव खनाल र चन्द्र बहादुर नेपालीलाई छिटै रिहा गरियोस् । लुट र ठगीको कुत्सित उद्देश्यले बजार र साना व्यापारीहरुमाथि लादिएको ठेकदारी एवं टेण्डर प्रथालाई खारेजी गरी व्यापारीले सिधै नेपाल वायु सेवा निगमलाई भाडा बुझाउने व्यवस्था गरियोस् । यथाशक्य बजार र व्यापार–व्यवसाय संचालन हुने वातावरण बनाईयोस् ।

यदि सरकार र गृह प्रशासनले बजार एवं व्यापारीहरुमाथिको हस्तक्षेप र नेपाल वायु सेवा निगम तथा ठेकदारको लुट रोकेन भने हाम्रो पार्टी साना व्यापारीको पक्षमा उभी कडा संघर्षमा प्रवेश गर्ने विषय समेत प्रष्ट पार्न चाहान्छ ।

धन्यवाद !

प्रकाण्ड
प्रवक्ता
नेपाल कम्युनिस्ट पार्टी

Loading...