दरबार स्कुल र त्रि–चन्द्रलाई पत्रु बनाएर नयाँलाई उत्कृष्ट बनाउने कुराले हाम्रो उल्टो गति स्पष्ट पार्छ

उदयराज खनाल

शिक्षाले यस्तो आत्मबलशाली व्यक्तित्वको विकास गर्छ, जसले उपलब्ध ज्ञान र सीपको अधिकतम उपयोग गर्दै स्वतन्त्र र सामूहिक चिन्तनबाट नयाँ ज्ञान सिर्जना गर्दै समाजमा व्याप्त समस्याको उत्तरदायी समाधान निकाल्दै एक आत्मसम्मानित विश्व नागरिकको जीवनयापन गर्न सक्छ । दक्ष जनशक्तिमात्र विकासको आवश्यक स्रोत हो, अन्य सबै सहायकमात्रै । नत्र, हीराखानीका देश गरिब र हीरा काट्ने धनी हुँदैनथे । यो तथ्यलाई जापानले डेढ सय वर्ष अघिको मेइजीकालमा प्रमाणित गरेको थियो । त्यसबेला राजाको नाममा राज गर्ने भारदारलाई अधिया पोस्ने कृषक भोकै सुत्थे । यसबाट मुक्ति पाउन १५ वर्षका सम्राट मेइजीले सार्वजनिक सङ्कल्प गरे– विश्वमा उपलब्ध ज्ञान हासिल गरेर देश बलियो पार्ने । ज्ञान र सीप हासिल गर्न युवा विदेश पठाइए । पाश्चात्य शिक्षा पद्धति लागू गर्न हजारौँ गणित र विज्ञान शिक्षक निम्त्याइए । उतैकाजस्ता औद्योगिक र बैङ्किङ क्षेत्र स्थापना गरेर विकासको जग बसाइयो । अहिले टाइसुटमा सजिने जापानीको व्यवहारमा परम्परा जीवित छ ।
नयाँ नेपालको खोजमा लागेका हामी भने परम्परा भत्काएर आत्मपहिचान मेटाएमात्र विकास हुने आत्मघाती भ्रममा छौँ । फागुको मदन महोत्सवभन्दा भ्यालेन्टाइन डेमा रमाएर आधुनिक हुँदै, बच्चाको सहभागिता देउसीभैलोमा घटाएर हेलोविनमा बढाउने होला । आफ्नो हावापानी सुहाउँदो मीनपचासको बिदा खारेज गरेर ठिहिरोमा हाजिर गराउनुमा विकास देखेका शिक्षाविद्लाई युरोप अमेरिकामा कक्षा तताइएको हुन्छ भन्नेतर्फ वास्ता भएन । शैक्षिक सत्र मिलाउने नाममा त्यत्रा बालबालिकाको एक÷डेढ वर्ष खेर फालेर के हासिल भयो ?
दोस्रो विश्वयुद्धपछि, कोरिया, सिङ्गापुर, मलेसियाजस्ता देशले पनि जापानकै बाटो लिए । कोरियाली विद्यार्थीको आन्दोलनमा न विद्यालय बन्द भयो, न त प्रयोगशाला र पुस्तकालय ध्वस्त । उनीहरूले उपलब्ध साधन संरक्षण र सदुपयोग गर्दै विज्ञान प्रविधिमा निपूर्ण र खेलकुदमा अब्बल बनेर देशको तीव्र विकास गरे र ‘ओभरटाइम’को सङ्घर्षले क्रूर सैनिक तानाशाह फाले । अझ पनि लोकतन्त्रको पहरेदार बन्दै जनता बाटो बिराउने नेतालाई कठघरामा उभ्याउँदै छन् । वैज्ञानिक शिक्षा हेतु शैक्षिक हडताल गर्ने हाम्रा विद्यार्थीको ध्यानचाहिँ ठेकेदारीमै केन्द्रित छ । विजितको इतिहास र संस्कृति मेटाउन नालन्दाका पुस्तकालय जलाएको पढियो । आफ्नै पुस्तकालय जलाउने र प्रयोगशाला तथा अस्पताल फोड्ने भष्मासुरीलाई जर्नल जलाउन निर्देशन दिने कुर्सीमा पदोन्नत गर्नेचाहिँ यहीँ देखियो ।


उदयराज खनाल

मकौलेले भारतका लागि तयार पारेका शिक्षण पद्धतिको समर्थन जुटाउन लेखेका थिए– यो शिक्षा दिन थालेको ३० वर्षपछि कुनै पनि सम्मानित बङ्गालीले मूर्तिपूजा गर्ने छैनन् । यस्तो कुटिल उद्देश्य राखे पनि विद्याले ‘तमसोमा ज्योतिर्गमय’ नै गर्छ । यस्तो बेलायती शिक्षाले अरविन्द घोसलाई स्वधर्मको विश्व व्याख्याता बनायो भने महात्मा गान्धीलाई आत्मसम्मानको अनुपम रक्षक । कोलकातास्थित हालको स्कटिस चर्च कलेजमा पाश्चात्य दर्शन र इतिहास पढेका विवेकानन्दले विश्वलाई वेदान्त र योगसँग परिचित गराए ।
मकौलेकै नक्कल गरेर सुरु भएको आधुनिक नेपाली शिक्षामा दक्षिणकै पाठ्यक्रम, परीक्षण र सम्बन्धन थियो । त्यस प्रभावबाट मुक्त हुन लिएको बाटो भने उल्टो प¥यो । स्थापित त्रि–चन्द्र कलेजजस्तालाई विश्वविद्यालय उन्मुख नगराएर तिनैको स्रोत दोहन गर्न खडा भएको नाममात्रको विश्वविद्यालयमा देशभरिकै कलेजलाई कोचियो । मन्त्रीबाट सुरु भएको उपकुलपतिमा, अञ्चलाधीश पनि पदासीन भए । मन्त्री नै कुलपति र सहकुलपति हुने विश्वविद्यालयका पदमा कुनै गुट नेताको दाबेदारीमात्र आवश्यक योग्यता छ । साइतमा गुट बदल्नेको प्राज्ञिक अपराध पनि माफ । कलेजलाई क्याम्पस भनेर पुगेन अब उपकुलपतिलाई ‘प्रेसिडेन्ट’ भनेर गुणस्तर बढाउने रे ! विश्वविद्यालयको शब्दार्थ नै विश्वमा उपलब्ध ज्ञानको संरक्षण र प्रसारण तथा नयाँ ज्ञानको खोज गर्ने थलो हो । हामीचाहिँ सदैव तालाबन्द रहने संस्कृत र कृषिजस्ता एकल विश्वविद्यालयबाट कतै नभएका नामधारी डिग्री प्रदान गर्छौं । विश्वमा पुराना शिक्षालय उत्कृष्ट हुन्छन् । दरबार स्कुल र त्रि–चन्द्रजस्तालाई पत्रु बनाएर नयाँलाई उत्कृष्ट बनाउने व्यवस्थाले हाम्रो उल्टो गति स्पष्ट पार्छ ।
प्राध्यापकको सल्लाहमा विभागीय प्रमुख बनाउने परम्परा तोडेर सहायक डीनको चाकडी गरे पुग्छ । विशिष्टसरहका प्राध्यापकले अतिरिक्त कक्षा लिँदै कोर्स सकेर अनुसन्धानसमेत गर्न भ्याएको कुनै महŒव छैन । कक्षाबाट भाग्दै प्रशासनतिर पदोन्नति भएकाले शिक्षकको हाजिरी नै कक्षामा हुन्छ भन्ने पनि बिर्सिए । असफल पञ्चायती सेमेस्टरकै कुरूप नक्कललाई दाताको आदेशमा रातारात लादियो । त्यसबेला विरोध गर्नेहरू राष्ट्रिय नेता बने ।
महŒवहीन पारिएको विज्ञानलाई खाद्य प्रविधिको घाँडो भिराएर प्रविधिसरह तुल्याए पनि प्रयोगशाला सदैव अभावग्रस्त छ । देखाउनका लागि झिकाइएका अत्याधुनिक उपकरण उपयोग नै नभई थोत्रिन्छन् भने जसोतसो चलेका उपकरण सामान्य मर्मत पनि हुँदैन । विज्ञान शिक्षामा प्रयोगलाई अनुपयोगी ठानेपछि उपकरण नछोएरै प्रमाणपत्र पाइन थाल्यो । स्नातकोत्तरसम्मै प्रयोगात्मक कक्षा बहिष्कृत छन् । सबैले सारेको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्कमा भेद गरियो भनेर विभागमा तालाबन्दी हुन्छ । पञ्चायती नयाँ शिक्षाले पठन, लेखनलाई सामान्य शुद्धीकरणमा सीमित ग¥यो । गणित र विज्ञानको गरेर सिक्ने जटिल अभ्यास र प्रयोगलाई असान्दर्भिक बनायो । विद्यार्थीले केही सोच्नै नपर्ने, आफ्नो सोचलाई लिपिबद्ध गर्नै नपर्ने र हातको सीप नचाहिने अवस्था आयो ।
नेपालको सुकुलगुन्डे शिक्षाले बेरोजगारमात्र उत्पन्न ग¥यो भन्दै डाक्टर, इन्जिनियरको सट्टा हेल्थ असिस्टेन्ट र ओभरसियरमात्र आवश्यक ठह¥यायो । गणितलाई अनुपयोगी मान्दै अनौठो जीवनोपयोगी शिक्षा अनिवार्य गराइयोे । जान्ने र सोच्ने काममा बन्देज लगाएर विदेशमा ढुङ्गा फोर्दै रेमिट्यान्स पठाउने अर्धशिक्षित भए पुग्ने ठानियो । विकसित देशमा त, काष्ठ, धातु, विद्युत्कर्मी र खेलकुद तथा सङ्गीतजस्ता अनिवार्य शिक्षामा सबैले उत्तीर्णाङ्क ल्याउनैपर्छ । अमेरिकाले विद्यार्थी गणितमा कमजोर भएर एसियालीले उछिने भन्दै विशेष योजना लागू गर्छ । एसटीईएम भनेर, विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका निपूर्ण व्यक्तिलाई देश भिœयाउने कार्यमा जुटेको छ । यिनैको दक्षतामा समृद्धि लुकेको उसलाई थाहा छ ।
आदर्श शिक्षण प्रणालीले प्रत्येक व्यक्तिमा निहित प्रतिभाको पहिचान र प्रस्फुटन गर्नुपर्छ । यो पहिचान गर्न त्यति सरल नभएकाले विभिन्न विधामा प्रयत्न गर्दै आफूअनुकूल विषय छान्न दिनुपर्छ । हाम्रा युवाले कुनै पनि देशका युवासँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ । तर, जातीय आरक्षणले सात सुर नै निकाल्न नसक्नेलाई स्वरसम्राट बनाउन सक्छ ? समाजवादी शिक्षाले उत्कृष्टताको बाटो रोकेर सबैलाई एउटै न्यूनस्तरमा झार्ने हो र ? राजनीतिक उद्देश्यले गठित शिक्षा आयोगका सिफारिस जति विवादित छन्, त्यति नै शैक्षिक गुणस्तर घटेको छ । स्पष्ट छ, त्यस्ता आयोगका तथाकथित विज्ञमा विषयगत ज्ञान र शिक्षणको प्रत्यक्ष अनुभव पर्याप्त छैन । यस्ताको दिवास्वप्नले शिक्षाको स्तर बढ्दैन ।
सार्वजनिक विद्यालयमा राजनीति नगरेर गुणस्तरीय शिक्षा प्रदान गर्न थाल्ने हो भने निजीको समस्या आफैँ सुल्झिन्छ । कलिलालाई राजनीतिक भेलामा उपस्थित गराउनु, तिनको मस्तिष्कमा राजनीतिक वाद थोपर्नु बालहिंसा हो । यसर्थ, शिक्षा क्षेत्रमा केही जटिल कदम चाल्नैपर्छ ।
सर्वप्रथम त, उच्चमाध्यमिक तहसम्म राजनीतिक क्रियाकलाप निषेध गरेर प्रधानाध्यापकदेखि सबैले कक्षामा अनिवार्य पढाउनैपर्ने नियम आवश्यक छ । शिक्षक सङ्गठन पार्टीगत नभएर विषयगतको फेडरेसनमा विकसित हुनुपर्छ । यिनले आफ्नो विषयको विकास गर्ने उपाय, पढाउँदाको कठिनाइ र तिनको निराकरणबारे प्रतिवेदन तयार पारेर, अधिवेशनमा छलफल गराएर, सम्बन्धित निकायबाट कार्यान्वयन गराउनेतर्फ लागे शिक्षाको गुणस्तर आफैँ बढ्छ । प्राध्यापक सङ्घलाई पनि राजनीतिक पार्टीको चङ्गुलबाट मुक्त गरेर विशुद्ध प्राज्ञिक क्षेत्रको उन्नयनबारे वादविवाद गर्ने संस्थान बनाउनु अनिवार्य छ । प्राज्ञिक उत्कृष्टताका आधारमै उच्च पद प्राप्त हुने व्यवस्थाले मात्र सबै प्राध्यापकको हौसला कायम राख्छ । विद्यार्थी युनियन पनि ज्ञान र सीप प्राप्त गर्ने प्रभावशाली उपायको खोजमा केन्द्रित हुनुपर्छ ।
(भौतिकशास्त्रका प्राध्यापक खनालले गोरखापत्रका लागि यो लेख लेखेका हुन् ।)