सन १९४९ अप्रील २२ मा लेनिनको जन्मदिनको अवसरमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । पार्टी स्थापना हुँदा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरन्जन गोबिन्द बैध्य, नारायण बिलास र मोतीदेबी (मोतीदेवी उक्त समयमा उपस्थित थिइनन पनि भनिन्छ, पार्टी गठनको छलफलमा मात्र सहभागी भएको पनि भनिएको छ) थिए।
पुष्पलालले कम्युनिस्ट पार्टी घोषणा गर्ने समयतिरै कलकत्तामा केशजंग रायमाझी र बनारसमा मनमोहन अधिकारी अध्ययनरत थिए । उनीहरुबीच राम्रो दोस्ती थियो । उनीहरुकै सक्रियतामा माक्र्सिस्ट स्टडी सर्कल गठन भएको थियो । उक्त सर्कलमा डि पी अधिकारी, शैलेन्द्र कुमार उपाध्याय, एमबी प्रधान आदि पनि जोडिएका थिए । उनीहरु मध्ये धेरै जना मध्यम वर्गीय र केशरजंग रायमाझी कुलीन वर्गका थिए। मनमोहन र रायमाझी उक्त सर्कललाई नै कम्युनिस्ट पार्टीको रुप दिन चाहन्थे। पुष्पलालले उनीहरुलाई थाहा नै नदिइ ५ जना जम्मा भएर पार्टी नै गठन गरेकोमा तीब्र असन्तुष्टि थियो । मध्यम वर्ग र पढेलेखेका अधिकारी र रायमाझीलाई पुष्पलालले किसान पृष्ठभूमीका नेवारहरु जम्मा गरेर पार्टी गठन गरेको मन परेको थिएन । उनीहरु मन भित्रैबाट पुष्पलाललाई नेता मान्न गाह्रो थियो ।
नेपाल कम्युनिस्ट पार्टी गठन गर्दा नै भारतीय कम्युनिस्ट पार्टीबाट सहयोग लिइएको थियो । उतिखेर प्रख्यात भारतीय कम्युनिस्ट नेता नृपेन चक्रवर्ती नै पुष्पलालका सहयोगी थिए । कम्युनिस्ट पार्टी गठन हुने बित्तिकै त्यसमा असहमती रहेको र मनमोहन र रायमाझीहरुले अर्को कम्युनिस्ट पार्टी घोषणा गर्दा राम्रो सन्देश नजाने ठहर गरी उनै नृपेन चक्रवर्तीको सक्रियतामा मनमोहन, रायमाझी, पुष्पलालहरुबीच छलफल चलाई १५ सेप्टेम्बर १९४९ मा फेरि कम्युनिस्ट पार्टीको घोषणा गरियो । जस्मा पुष्पलालको नेतृत्वमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्र कुमार उपाध्याय र अयोध्या सिंह (भाकपाको प्रतिनिधि) थिए । यहाँनेर नेपाली कांग्रेस मात्र भारतीय कांग्रेसको प्रभावमा थियो भन्नू सत्य हुँदैन । नेपाल कम्युनिस्ट पार्टीमा त भारतीय कम्युनिस्ट पार्टीका प्रभावशाली नेता अयोध्या सिहलाई नै केद्रीय कमिटीमा राखिएको थियो ।
झण्डै जन्मकालमै दुई टुक्रा हुनबाट बचेको नेपाल कम्युनिस्ट पार्टीको जन्ममिति १९४९ को २२ अप्रील मान्नेकी सोही सालको १५ सेप्टेम्बरलाई भन्ने विवाद पछिसम्म रहेको पाइएको छ । कम्युनिस्ट पार्टी विभिन्न टुक्रामा बिभाजन भैसकेको स्थितिमा पुष्पलालप्रति श्रद्धा नभएका समूहले २२ अप्रील भन्दा १५ सेप्टेम्बरलाई नै जन्मदिन मानेका थिए । अहिले आएर चाहिँ २२ अप्रीललाई नै नेपाल कम्युनिस्ट पार्टीको जन्मदिन भनेर सबैले स्वीकार गरेका छन । पुष्पलालको मृत्युको धेरै समयपछि उनलाई पनि मर्यादा दिन शुरु गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालले आफ्ना सहकर्मीहरुबाट कहिल्यै सुख पाएनन । २००८ सालमै उनलाई महासचिवबाट हटाइयो । पार्टीमा मनमोहन र केशजंग रायमाझीले कब्जा जमाए । बि.सं. २०१३ सालमा मनमोहनले राजाको बैधानिक नेतृत्वमै समाजवाद ल्याउने कुरा गरे भने २०१९ सालमा केशरजंग पञ्चायतमा प्रवेश गरे । पुष्पलाल नेतृत्वको मानेमा कमजोर र कम्युनिस्ट आदर्शको रुपमा उच्चकोटीमा पर्दछन । शुरूवातमा मनमोहन र रायमाझी कम्पनी र जीवनको उत्तरार्धतिर मोहनबिक्रम समेतले पुष्पलालको हुर्मत लिन बाँकी राखेनन । मोहन विक्रमले गद्दार पुष्पलाल भन्ने पुस्तक नै लेखे । कम्युनिस्ट पार्टीको पुनर्गठन र नयाँ जनवादी क्रान्तिको पहल लिन पनि पुष्पलालले कोशिस गरेकै हुन तर सफल हुन सकेनन । आफुलाई कम्युनिस्ट भनी गौरव गर्नेहरुले नै पुष्पलाललाई जीवनभरी नै खेदीरहे, चिमोटीरहे । बिसं २०३४ सालमा पुष्पलालको दुःखद देहावसान भयो ।
यही गज्याङगुजुङ, अनेकौं फुटकाबीचमा ०२८ सालको झापा विद्रोह हुँदै एमालेसम्मको यात्रा एकातिर छ भने अर्कोतिर ०२८ साल मै मोहनबिक्रम सिंहको सक्रियतामा गठन भएको केद्रीय न्युक्लियस, चौथो महाधिवेशन, मशाल, एकताकेद्र हुँदै माओवादीमा रुपान्तरण भयो । जनवादी व्यवस्था स्थापना गर्दै समाजवाद र साम्यवादतिर जाने सपना सहित शुरु भएको जनयुद्धको नेतृत्व गरेको यो पार्टी अहिले भने एमालेसँग विलीन भएर संसदीय व्यवस्था मै रमाइरहेको छ । जनयुद्धलाई केवल संसदीय गणतन्त्रसम्म मात्र सिमित गराइयो । बैध्य, विप्लव (नेकपा), मोहनबिक्रम, आहुती र कट्टेलहरुले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्न सक्लान वा नसक्लान अहिल्यै निश्चित गर्न सक्ने स्थिति छैन र आशाको विकल्प पनि छैन।कार्यगत र मोर्चागत सहकार्य पार्टी एकतासम्म जाओस शुभकामना छ ।
उपसंहार
स्थापना समयदेखि नै संकीर्णता, गज्याङगुजुङ, गुटबन्दी, सैद्धान्तिक अलमलमा फसेको नेपालको कम्युनिस्ट आन्दोलनले अहिलेसम्म उहीँ पुरानो विरासत धानिरहेको छ । नयाँ इतिहास बनाउन सकेको छैन । अहिले सरकारी नेकपा दुई तिहाईको संसदीय बहुमत सहित सत्तामा छ । देशमा ठूलाठूला भ्रष्टाचार, दलालीका घटनाहरुमा घटिरहेका छन तर सरकार निरीह छ।समाजवादको नारा लिएको सरकारको यात्रा क्रमश सामाजिक फासिबाद तर्फ अग्रसर छ भने बिप्लबले नेतृत्व गरेको पार्टी प्रतिबन्धित भएको छ।क्रान्तीकारी कम्युनिस्ट आन्दोलनको यात्रामा आसाका किरणहरु त देख्न सकिन्छ तर बिश्वासयोग्य स्थिती देखीदैन। अहिलेको कम्युनिस्ट आन्दोलनमा मुख्यत डक्ट्रीन र लिडरसिपको अभाव खट्किन्छ।
सन्दर्भ स्रोतः विभिन्न समयका दस्ताबेजहरु, प्रबुद्ध मानिसहरूसँग भएका व्यक्तिगत छलफल ,नेपालमा कम्युनिस्ट पार्टीको इतिहास, डा सुरेन्द्र के सी समेत