नेपाल सरकारले हालसालै नेपाल लगानी सम्मेलन २०१९ सम्पन्न गरेको छ । यस सम्मेलनलाई नेपालको आर्थिक जगत्ले निकै चासो र महत्वका साथ हेरेको देखिन्छ । दुई वर्षअघि सन् २०१७ मा पनि नेपालले यस्तै प्रकृतिको लगानी सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा प्रत्यक्ष वैदेशिक लगानीका लागि दश वटा आर्थिक क्षेत्रहरुमा ८ देशका २६ वटाविभिन्न कम्पनीहरुले १३.७४ अर्ब अमेरिकी डलर बराबरको लगानी प्रतिबद्धता जनाएको भएपनि अत्यन्त नगन्य लगानी भित्रिएको थियो । त्यसकारणले पनि यो लगानी सम्मेलन २०१९ लाई निकै चासो र संशयका साथ हेरिएको पाइन्छ । यस आलेखमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धि नेपालको ऐतिहासिक पृष्ठभूमि, सन् २०१७ र अहिलेको लगानी सम्मेलन बीचको तात्विक अन्तर, र नेपालको अर्थतन्त्रका लागि प्रत्यक्ष वैदेशिक लगानीको महत्व÷अवसर तथा चुनौतिहरुलाई सामान्य चर्चा तथा विश्लेषण गर्ने प्रयास गरिएको छ ।
नेपालले सन् १९८० को दशकमा आर्थिक उदारीकरणको नीति अवलम्वन गरेपछि वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, १९९२ बमोजिम नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको लागि आधिकारिक बाटो खुलेको देखिन्छ । यस ऐनको उदेश्य नेपालको समग्र आर्थिक विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी र नयाँ नयाँ प्रविधिहरु भित्र्याउने रहेको भएता पनि यस ऐनमा गरिएका व्यवस्थाहरु व्यवहारत अलि जटिल, प्रक्रियागत तथा झन्झटिलो भएका कारण एवम् देश एक पछि अर्काे राजनीतिक अस्थिरताबाट पनि गुज्रिरहेका कारण नेपालमा आशातित प्रत्यक्ष वैदेशिक लगानी भित्रिन सकेको थिएन । नेपाल राष्ट्र बैँकले सन् २०१७ मा प्रकाशित गरेको एक सर्वेक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०१५÷१६ सम्म नेपालमा कूल १३७ अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको देखिन्छ, जुन नेपालको जिडिपीको ६.१ प्रतिशत हुन आउँछ । जसअनुसार वैदेशिक लगानीको झण्डै ७० प्रतिशत हिस्सा सेवा क्षेत्र र २९.५ प्रतिशत हिस्सा उद्योग क्षेत्र तथा नगन्य हिस्सा कृषि क्षेत्रले ओगटेको देखिन्छ । लगानीको आकार र सङ्ख्याका हिसाबले हेर्दा नेपालका दुई छिमेकी राष्ट्रहरु भारत र चीनबाट नै मुख्य रुपले वैदेशिक लगानी भित्रिएको देखिन्छ ।
सन् २०१७ को लगानी सम्मेलन पुरानै ऐन नियम तथा कानूनी संरचना अन्तर्गत रही गरिएको तथा सम्भावित विदेशी लगानीकर्ताहरुबीच नेपालको राजनीतिक संक्रमण अन्त्य भए नभएको अन्यौलताका माझ सम्पन्न भएकोले प्रतिबद्धता भएवमोजिको लगानी भित्रिन नसकेको देखिन्छ भने यस पालिको लगानी सम्मेलन दुई तिहाइ बहुमतको सरकारले आयोजना गरेको तथा यस दौरानमा वैदेशिक लगानी सम्बन्धि नयाँ ऐन २०७५ पारित भएको तथा वैदेशिक लगानीसँग प्रत्यक्ष तथा परोक्ष हिसाबले जोडिन आउने अन्य ऐन नियमहरुमा आवश्यक संशोधन गरिएको तथा ऊर्जा पूर्वाधार, पर्यटन पूर्वाधार, यातायात पूर्वाधार, आद्यौगिक पूर्वाधार, सहरी पूर्वाधार, कृषि पूर्वाधार र शिक्षा तथा स्वास्थ्य क्षेत्रका विभिन्न ७७ सोकेस प्रोजेक्टहरुसहित यो लगानी सम्मेलन आयोजना गरिएको कारण लगानी सम्मेलन २०१९ लाई लगानी सम्मेलन २०१७ भन्दा फरक तथा केही आशलाग्दो मान्न सकिन्छ ।
आर्थिक सर्वेक्षण २०१७÷१८ अनुसार नेपालको कूल गा्रहस्थ बचत जिडिपीको १५ प्रतिशत, राष्ट्रिय बचत ४३.९ प्रतिशत र कुल लगानी ५१.७ प्रतिशत रही स्रोत अपर्याप्तता ७.८ प्रतिशतले ऋणात्मक रहेको देखिन्छ । यो स्रोत अपर्यप्तता पूर्ति गर्नको लागि पनि वैदेशिक लगानीलाई एउटा भरपर्दो विकल्पका रुपमा हेर्न सकिन्छ । त्यस्तै, विभिन्न आर्थिक दृष्टिकोणबाट विश्लेषण गर्दा नेपालको समग्र आर्थिक विकास तथा विशेषतः आर्थिक बृद्धिका लागि वैदेशिक लगानीका धेरै सकरात्मक पाटोहरु देख्न सकिन्छ । नेपालले लगातारको दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्नको लागि वैदेशिक लगानी अपरिहार्य छ । वैदेशिक लगानीसँगै अर्थतन्त्रमा नयाँ नयाँ प्रविधि तथा विश्वस्तरको व्यवस्थापकीय कौशल पनि भित्रिने भएकोले यसले देशमा वस्तु तथा सेवाको समग्र उत्पादन तथा उत्पादकत्व बढाउन अहम् भूमिका खेल्ने देखिन्छ । त्यस्तै, देशको पूर्वाधाार क्षेत्र, ऊर्जा, पर्यटन र उद्योग क्षेत्रको विकास तथा विस्तारमा पनि वैदेशिक लगानीले सकारात्मक प्रभाव पार्न सक्ने क्षमता राख्दछ । देशमा बेरोजगारीको चरम समस्या रहेको तथा रोजगारीकै लागि देशको ठूलो श्रम शक्ति वैदेशिक रोजगारीका लागि विभिन्न देशहरुमा जानुपर्ने बाध्यता रहेको वर्तमान परिदृश्यमा देशमै रोजगारीका अवसरहरु सिर्जना गर्नमा पनि वैदेशिक लगानीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने देखिन्छ । नेपालमा उपलब्ध विभिन्न स्रोतसाधन प्रयोगविहीन भइरहनु परेको वर्तमान अवस्थामा वैदेशिक लगानीको माध्यमबाट तिनको समूचित उपयोग गर्न सकिने देखिन्छ ।
त्यस्तै, विदेशी फर्महरुले नेपालमा आफ्नो व्यवसाय सञ्चालन गर्दै गर्दा स्वदेशी फर्महरुले नेपालमा सञ्चालित विदेशी फर्महरुको व्यवसायिक अभ्यासलाई अनुसरण गर्दै उद्यमशीलता तथा नयाँ व्यवस्थापकीय क्षमताको विकास गर्न सक्ने संभावना पनि उत्तिकै रहन्छ, जुन नेपालको अर्थतन्त्रको मजबुतिको लागि निकै महत्वपूर्ण सावित हुन सक्छ । त्यस्तै, वैदेशिक लगानीले नेपालमा बजारको विकास तथा विस्तारलाई पनि सकारात्मक सहयोग पु¥याउन सक्छ । साथै वैदेशिक लगानीले आर्थिक गतिविधिहरुमा तीब्रता दिई नेपालको अर्थव्यवस्थालाई निकै चलायमान तथा गतिशील बनाउन पनि सहायकसिद्ध हुन सक्छ । त्यस्तै, नेपालको निर्यात बढाएर तथा आयात प्रतिस्थापनजन्य वस्तु उत्पादन गरेर नेपालको कहालीलाग्दो व्यापार घाटालाई न्युनीकरण गर्नमा पनि वैदेशिक लगानीले उल्लेखनीय भूमिका खेल्न सक्ने संभावना देखिन्छ । यसकारण नेपाली अर्थतन्त्रको वर्तमान अवस्थालाई मध्यनजर गर्दा अवको केही दशकका लागि वैदेशिक लगानी अपरिहार्य प्रायः देखिन्छ ।
यद्यपी वैदेशिक लगानीका केही जोखिम तथा चुनौतिहरु पनि देखिन्छ । सर्वप्रथम त अल्पकालका लागि यसले स्वदेशी फर्महरुलाई केही अप्ठेरोमा पार्न सक्ने देखिन्छ । यसले राष्ट्रिय पूँजी निर्माणको प्रक्रियालाई खल्बल्याउन पनि सक्छ । साथै नेपालको समग्र राज्यव्यवस्था कमजोर रहेको वर्तमान परिप्रेक्ष्यमा वैदेशिक लगानीबाट नेपालको राजनीति कुप्रभावको सिकार हुन सक्ने संभावना पनि उत्तिकै देखिन्छ । यी केही जोखिमका बावजुत पनि हाललाई वैदेशिक लगानी नेपालको आर्थिक विकास तथा वृद्धिका लागि एउटा उपर्युक्त तथा भरपर्दा विकल्पकै रुपमा देखिन्छ र वैदशिक लगानीको वातावरण राम्रो बनाउने दिशामा लाग्नु नै वर्तमान सरकार तथा सरोकारवालाहरुका लागि बढी श्रेयस्कर हुने देखिन्छ ।