‘विष्टको आँगनको ओसिलो कुनामा अचट्दै
बाको हातेकल नजिकै बसेर
मालिकको पाइजामा तुर्पाइ गर्दागर्दै
कतिबेला पोखिएको मेरो तनमा
समयले तरुनी रङ पत्तै भएन
र त
मेरा बाले सिएका सुकिला लुगा लगाउनेहरुले नै
मसलाको रुखजस्तै
एकै चोटि नाङ्गो बनाए मलाई’(विन्दु शर्मा, गोधुलीमा मालती)
विश्व कविता दिवसका उपलक्ष्यमा बिहीबार राजधानी आयोजित कविता गोष्ठीमा सीमा सुरक्षा गर्न आह्वान, जातीय विभेदको विरोध, बाल मनस्थिति, स्खलन हुँदै गरेको चरित्र, काठमाडौँ शहरका विकराल समस्यालगायत विषयवस्तु समेटेर गद्य तथा पद्य कविता, मुक्तक र एक लाइन कविता वाचन गरिएको थियो ।
सो अवसरमा पाकिस्तानी कवि प्रियानी तथा नेपाली कवि विश्वविमोहन श्रेष्ठ, रमेश पौडेल, डम्बर पहाडी, श्याम रिमाल, बलराम दाहाल, लक्ष्मी उप्रेती, नवीन प्यासी, जयन्ता पोखरेल, कौशिला रिसाल, भीष्म उप्रेती, लिखत पाण्डे, गोपाल अश्क, विन्दु शर्मा, शान्ति शर्मा, जयन्ती सत्याल, देवकी अभिलाषीलगायत २७ कविले आफ्ना कविता वाचन गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानले विशेष कविता गोष्ठीको आयोजना गरेर पुराना कवि र नयाँ कविलाई साक्षात्कारको अवसर जुराउनु महत्वपूर्ण भएको नेपाल प्रज्ञा– प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले बताए ।
“प्राचीन समाजका बारेमा जानकारी पाउने एउटा महत्वपूर्ण माध्यम कविता हो”, उनले भने । नेपाली भाषा विश्वका अल्पसङ्ख्यक भाषामध्ये एक रहेको उनी बताउँछन । कविताले सबैलाई आनन्दित तुल्याउने भन्दै काइँला भन्छन, “जो मान्छे आनन्दित हुन्छ, उसको आयु पनि बढ्छ ।”
सन् १९९९ मा फ्रान्सको पेरिसमा सम्पन्न युनेस्कोको तीसौँं महासन्धिले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा घोषणा गरेको थियो । प्रतिष्ठानका सदस्य सचिव डा जगतप्रसाद उपाध्यायले यसले सुन्ने र सुनाउने प्रथाको विकास गरेको बताए । “कविताले साहित्य अमृत नै हो भन्ने अनुभूति दिलाएको छ”, उनले भने । कविता लेख्छु भनेर लेखिने विधा नभई स्वतः विकास हुने उनी बताउँछन ।
सो अवसरमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले सबै पुस्ताका र सबै समुदायका कविलाई समेट्ने प्रयत्न गरेको बताए । उनी भन्छन, “कविता विश्वभरिका व्यथालाई समेटेर अन्त्यमा आफ्नो व्यथा व्यक्त गर्ने विधा हो ।”
प्रतिष्ठानका पूर्वउपकुलपति डा विष्णुविभु घिमिरेले नेपाली कविले पाटनको कृष्ण मन्दिर र भक्तपुरको न्यातपोल जस्तो अमर र कलात्मक कविता लेख्नुपर्ने विचार व्यक्त गरे । “हामीले अहिलेसम्म अरुको विचार लेख्यौंँ, अब आफ्नो विचार लेख्नुपर्छ”, उनले भने । प्रतिष्ठानका काव्य विभागका प्रमुख डा हेमनाथ पौडेलले कविताले आम मानिससँग सम्वाद गर्दै समाज रुपान्तरणमा योगदान दिनुपर्नेमा जोड दिए ।