११ वुँदे सहमतिमा सरकार चुक्यो भन्दै एकाथरी वौद्दिकहरूले चन्द्रकान्तका लागि भाङको घट्टा घोल्दै छन् । चन्द्रकान्त उर्फ सिके राउत त्यसलाई तुनतुन तुन्क्याउँदै छन् । नशाकै शुरमा फ्री मधेशको व्यानर देखाउँदै दीपावली मनाईरहेका छन् ।
११ वुँदेले उनको मागलाई वैधानिक हैसियत प्राप्त भएको दावी गरिरहेका छन् । उनले त आफ्नो पक्षमा अर्थ्याउने नैं भए । त्यो कुनै आश्चर्यको विषय भएन । तर नेपालमा एउटा अत्यन्तै राष्ट्रवादी तप्का छ, तिनले समेत सहमतितर्फ औंला उठाउँदै आएको छन् ।
प्रतिपक्ष दललाई सरकारविरूद्द कुन नारा लिएर जाने भन्ने समस्या थियो, यो सम्झौताले तिनलाई सहजता मिलेको छ । सरकारले विखण्डनको वाटो खोलेको तिनको आरोप छ । वरिष्ठ कानूनविदहरूलाई तर्क गर्ने, बहस गर्ने विषय नपाएर छटपटी चलेको थियो, अब त्यो अवस्था रहेन । सरकार कानूनतः तल परेको शैलीमा सिकेलाई हौस्याइरहेका छन् ।
अरू त अरू, सरकारी पार्टीभित्रकै नेताहरू समेत सम्झौतालाई आफ्नो गुटलाई दर्विलो वनाउने र अवसरको लागि स्थान वनाउने अभियानमा दाउपेच चलाईरहेका छन् । सिकेले विगतको गतिविधि त्यागेको घोषणा किन गरेनन, सवैले गर्ने साझा प्रश्न यही भएको छ । अनि लेखकहरूले पनि यही मौकामा सरकारले गल्ति गरेकै हो भन्ने शैलीमा लेख रचनाहरू पस्किरहेका छन् ।
मूलधारका बिग हाउस मिडियाहरूले पनि यीनै विचारहरूलाई स्थान दिईरहेको देखिन्छ । ‘हो हो । विखण्डनकारीसंग सरकार झुकेकै हो. ।’ लाग्दछ, प्रधानमन्त्रिको मुखबाट यही वाक्य सुन्न हरकोही लालायित भएर बसेका छन् । जसले गर्दा साँच्चै नैं विखण्डनकारीसंग सरकार झुकेकै हो त भन्ने अन्योलता सीर्जना भएको छ ।
के सरकार झुकेकै हो त सिकेसँग ?
यो सवालको जवाफ ११ बुँदे भित्रै छ । हामीलाई प्रधानमन्त्रिको हाउभाउ फिटिक्कै मन पर्दैन । उखान चुटेर हैरान पार्छन् । देशभित्र आफ्नो वर्गको पनि राज्यसत्ता होस् भनेर संघर्षमा लागेका मान्छेहरूलाई लुटेराको संग्या दिन्छन् । पहिचानको माग गर्नेहरूलाई जन्मकैदको लागि मुद्दा लगाउँछन् । राष्ट्रिय महत्वको सम्झौता व्यक्तिगत मामिला जस्तो गरेर एकलौटी निर्णय गर्छन् । प्रतिपक्षसँग मात्र हैन आफ्नै पार्टी सहयात्रीसंग समेत सल्लाहको आवश्यकता महशुस गर्दैनन ।
भजनमण्डली वाहेकका आवाजहरू यीनलाई ननिको लाग्छ । भेडा र हनुमानहरुको संग्रहमा सौखिन यीनलाई चराहरूका गीत मन पर्दैनन । सामाजिक सञ्जालहरू मन पर्दैनन । मोटामोटी रूपमा भन्नु पर्दा आफ्नो अनुहार नियाल्ने दर्पणसँग यीनलाई झर्को छ ।
यी र यस्ता तमाम कमजोरीहरूका वाबजुद ११ वुँदेमा यीनले राष्ट्रलाई तल पार्ने, कमजोर वनाउने काम गरेका छैनन । वुँदा नम्वर १ अखण्ड नेपालको खम्बा हो । यो वुँदा स्वीकारेपछि विखण्डनको माग स्वतः चाउरी पर्छ । यो सवैलाई थाह छ । तर यहॉनिर ६ नम्वर बुँदालाई कमै मानिसहरूले मात्रै नियालेको हुन सक्छन् जहॉ सिके राउत डल्लो परेका छन् ।
संबिधान विपरीत यसअघि प्रचारमा आएका किताव-पम्पप्लेट, अडियो, भिडियो, नक्शा, झण्डा, राष्ट्रिय गान… लगायतका सामाग्री उत्पादन एवं वितरण नगर्ने भन्नुको अर्थ अलग देशका लागि यस अघि गरिंदै आएका गतिविधि अब आइन्दा नगर्ने भन्ने कवुल नै हो भन्ने वुझ्नु नैं अहिलेको सही वुझाई हुन आउँछ । र विगतमा यस्तो गतिविधिमा संलग्न भएकै आधारमा सरकारले कारवाही नगर्ने भन्नुको अर्थ मूलधारको राजनीतिमा आउन सहमत भएकोले विगतको गल्तिलाई माफि दिएको रूपमा बुझ्न कठीन छैन ।
तर सिके राउत यतिखेर बुँदा नम्वर दुईमा उल्लेखित जनअभिमत शब्दलाई स्वतन्त्र मधेश राष्ट्रको लागि जनमत संग्रहको रूपमा व्याख्या गर्न जोड गरिरहेका छन् । भाङको नशामा चुर हुनु भनेर यस्तै हर्कतलाई भनिन्छ । १ नम्वर वुँदामा उल्लेखित अविभाज्य राष्ट्र भनेर ल्याप्चे ठोके पछि ६ नम्वर वुँदामा उल्लेखित विगतको जस्तो स्वतन्त्र मधेशको पर्चा पम्प्लेटवाजी नगर्ने कवुल गर्दै आफू लगायतका साथिहरूलाई माफि दिलाई सकेपछि, मूलधारको राजनीतिमा आउने वाचा गरिसकेपछि २ नम्वर वुँदाको ह्यॉङओभर नउत्रनु ताजुवको कुरा हो । अरूलाई मूर्ख वनाउने कोशिसमा खूद मूर्ख बनिरहेका छन् राउत । वुँदा नम्वर १, ६ लगायतले उनको अपव्याख्यालाई निर्ममतापूर्वक खारेज गर्दछ ।
जनअभिमतभनेको देशभित्र कस्तो राजनैतिक प्रणाली स्थापित गर्ने भन्नेसवालमा हो न कि अलग राष्ट्रका लागि । त्यसका लागि आवधिक निर्बाचन, मत सर्वेक्षण लगायतका विधिद्वारा राज्यको श्रोतसाधनमा सबैमा समान पहूँच अनि हिस्सेदारी कसरी मिलाउने भन्ने सवालमा लिईने अभिमतको कुरा २ नम्बर वुँदाको मर्म हो भन्ने कुरा लाटोले पनि बुझेको छ । र त्यस्तो अभिमत राष्ट्रको सार्वभौमसत्ता सम्प्रभूताको दायरा नाघेर हैन, वल्कि यसलाई अरू कसिलो घेरा बनाएर मात्र सम्भव हुन्छ भनिएको छ । देशको सार्वभौमिकताको रक्षा गर्नु प्रत्येक नागरीकको कर्तव्य हो भनेर ल्याप्चे मार्नुको अर्थ अखण्ड राष्ट्रका लागि सिके राउत स्वयं पनि कटिवद्द छ है भनेर स्वीकार गर्नु हो ।
यति विद्वान सिके राउत अझै पनि किन वुझ्दैनन, उनको विखण्डनको सपना ११ वुँदेमार्फत घाटमा जलिसक्यो भनेर । यो समय भनेको स्वतन्त्र मधेशको नाममा जनकपुरमा दीप जलाउने हुँदै हैन । वरू आफ्नो सपनाको मृत्यूको शोकमा पशुपतिनाथमा लाखवत्ति जलाउने समय हो । त्यै गर्नुस् सिके ज्यू । तर अहिले हैन, वालाचतुर्दशी आउँदैछ । मृतकको नाममा वत्ति जलाउन अरू पनि आउनेछन् । तपाइँको स्वतन्त्र मधेशको सपनाको मृत्युको स्मरण सोही तिथिमा गर्नुहोला ।
हेर्नुहोस्, ६ नम्बर बुँदामा के छ :
स्वतन्त्र मधेस गठबन्धन तथा यसका नेता तथा कार्यकर्ताहरुद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताव, पर्चा (पम्पलेट, घोषणापत्र, गीत नक्सा, नारा, झण्डा, अनलाइन सामाग्री आदिलाई भविष्यमा कारवाहीको विषय बनाइने छैन । आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्री उत्पादन तथा वितरण गरिने छैन ।
सहमति गर्नु गलत थियो त ?
राज्यले नागरिकलाई सुन्नुपर्छ । नागरिकले पनि राज्यप्रतिको कर्तव्य वोध गर्नुपर्छ । सिके गलत बाटोमा लागेपछि राज्य चिन्तित बन्नु स्वभाविक नैं थियो । वार्ताबाट हल हुन्छ भने त्यो कसर किन बॉकी राख्ने ? सम्भवतः त्यही मनन गरेर सहमतिको प्रयास भयाे । र कुरो ११ बुँदेसम्म पुगेर टुङ्गियो ।
मैले माथि नैं उल्लेख गरिसकेको छु, यहॉसम्म त ठीकै छ । जितें भन्दै दीपावली गरेर जतिसुकै मनोवैज्ञानिक युद्द लडे पनि यो सम्झौता सिकेको विखण्डनको पक्षमा छैन । त्यो प्रष्ट नैं छ । बरू बुँदानम्वर ६ अनुसार संविधानलाई स्वीकार्दै सिके समूहले आत्मसमर्पण गरेको छ र सरकारले उसका कार्यकर्तालाई आइन्दा हर्कत नदोहोर्याउने शर्तमा विगतको गल्तिप्रति माफी दिएको छ । सिद्धान्ततः सिके समूह तल परिसकेको छ । तर व्यवहारमा आफ्नो हर्कत त्याग्दैनन भने समस्या उनको हो, सम्झौताको हैन ।
अबको कदम के होला ?
आफैले हस्ताक्षर गरेको ११ बुँदे सहमतिको मसि सुक्न नपाउँदै सिके राउतले त्यसको उल्लङ्घन गर्न शुरु गरेका छन् । मधेश गठबन्धन, यसका नेता कार्यकर्ताद्वारा यस अगाडी निर्माण गरिएका बिखन्डन सम्बन्धि किताब-पर्चा, गीत, घोषणापत्र, नारा, नक्शा, झन्डा, अनलाइन सामाग्रीलाई आगामी दिनमा उत्पादन तथा वितरण गरिने छैन भनेर बुँदा नम्बर ६ मा यसरी झुकेका सिकेले जनकपुर पुगेर मुखमा मास्क लगाएर हुलिया छोपिएका मान्छेहरुलाई आफ्नो गार्डको रुपमा प्रश्तुत गरेर राज्यलाई चुनौती दिएका छन् । प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुसँग मंच शेयरको चाल रचेर आफ्नो प्रचार गर्ने रणनीतिलाई सफल बनाउँदै स्वतन्त्र मधेशको ब्यानरमा दिपावली मनाएका छन् ।
ती जवानहरु नेपाली नागरिक हुन् या बिदेशी सैन्य दस्ता हुन्, यसै भन्न सकिने अवस्था छैन । बिदेशी सैनिक सिके राउतको नकावमा नछिरेको होला भन्न सकिन्न । राज्यले अब खेलाची गरेर बस्न मिल्दैन । एउटा पक्षले सम्झौतालाई रद्दीको टोकरीमा मिल्क्याई सकेको अबस्थामा सरकारले मात्रै चुप लागेर बस्ने भन्ने कुरा हुँदैन । र अर्को कुरा, एक पटक हैन, पटकपटक सिकेलाई रिहाईको आदेश दिने निकायमाथि पनि आँखा लगाउन ढिला भैसकेको छ । के प्रमाण चाहिने हो त्यो निकायलाई ? संयुक्त राष्ट्रसंघको प्रमाणपत्र देखाए पछि मात्रै प्रमाण पुग्ने हो कि ?
अन्त्यमा, आन्तरिक एकता विग्रिएर भत्किएपछि विखण्डनकारीहरूले उभिने चेष्ठा राखेका हुन् । त्यसका लागि राष्ट्रिय एकता मजबुद बनाउनु पर्छ । पहिचान माग्ने थारू वर्गलाई नचिढाऊ । विप्लवसँगको सम्वन्धलाई पुनर्विचार गर सरकार । कुन समूह के हो, सरकारले चिन्न सकेको देखिएन । बैज्ञानिक समूह ठानिएको मानिस २४ घन्टामै बिखण्डनकारी कै रुपमा देखा पर्यो । लुटेरा भन्दै दुत्कारेको शक्ति के हो, तिमीले चिन्छौ र सरकार ?