डियर सर्टिफिकेट !

पहाडको काखमा सानो गाउँ । गाउँको शिरानमा खरले छाएको एकतले मजेत्रो । कोठाको बीचमा अँगेनो । अँगेनोमाथि ओदानसँगै जोतिएका केही मलातेका नसुकेका दाउरा । धुँवाले भित्ता कालैकालो । भित्ताको काठमा झुन्ड्याइएको पुरानो रेडियो । धुरीसम्म जोड्ने खुर्सानीको माला । कुनाको खुट्टे खटियामाथि पुरानो च्याद्दर र डसना । डोरीमा टाँगिएका पुराना थोत्रा कपडा । घरको वरिपरि वर्षात्को पानी चुहिएर बनेका बाड्गाटिड्गा धर्सा । बाहिर आँगनमा आरुको बोट छ । त्यही बोटमा बाबियोको मालामा सजिएको एक हल गोरु हेर्दै बुवाले आँगनको डिलमा टुक्रुक्क बसेर सुल्पामा तमाखु तान्दै भन्नुभो – कहिले यो घरको स्वरुप फेर्न सकिएला !

घरको स्वरुप फेर्नु परिवारको सपनै थियो । त्यतिखेर म सानै थिएँ । दिन बित्दै गए, गाउँघरमा आपा टेपाको खुब चलन छ । मतलब आठ पास भएपछि हलो छोड्ने र टेष्ट पास पछि थलो छोड्ने । म त्यही सानो सपना पुरा गर्ने ठूलो सपना बोकी दुवै छोडेर शहर पसेँ ।

शहर पुग्दा अर्कै संसार पुगेझैँ लाग्यो । यसअघि कहिल्यै घर छोडेको थिइनँ । झिलिमिली बत्ती, गाडीको घाइँघुइँ, मान्छेको ठेलमठेल अनि दौडधुपमा अव्यस्त हुँदै गएँ व्यस्त शहरीया जीवनशैलीसँग । बुझ्दै, पढ्दै, सिक्दै, राम्रा–नराम्रा थुप्रै ।

पढाईसँगै सरकारी जागिरको तयारी गरेँ । राम्रो तयारीसँगै लोकसेवाको विज्ञापनको प्रतिक्षामा थिएँ । एकपटक असईमा विज्ञापन खुल्यो । फागुनको महिना थियो विहानै उठेँ । हाइट, वेट, चेष्ट सबै मिलेको, हृष्टपृष्ट खाइलाग्दो जीउडाल अनि मिहिनेत देखेर सबैले असईको सम्भावनालाई नकार्दैनथे । म नि सन्देह प्रायः थिएँ । फुर्तिकासाथ चिटिक्कै परेर महाराजगंज पुगेँ ।

मेरो सबै जाँच गरेपछि प्रवेश पत्रको पछाडि ३ नम्बर लेखेर थमाइदियो । अनि पछाडी धकेल्दै अर्कोलाई बोलायो – फलानो आइज !

मैले केही बुझिनँ अनि प्रश्न गरेँ – “के हो यो ३ नम्बर भनेको ?”

“पढेको छैनस् ? हेर्न आउँदैन ? पछाडि हेर् न राम्रोसँग ।” उसले आफ्नो पेशाको असली रुपमै जवाफ दियो ।

म रन्थनिएँ । केही मेलोमेसो पाइन । जीउ छेउको भित्तामा अड्याएर सोचमग्न भएँ । अलि पछि थाहा पाएँ यो एक राष्टसेवकमा हुनुपर्ने गुणहरुको सूचाकं पो रहेछ, जसले उसको क्षमता, नैतिकता, आचरण, राष्टप्रेम, भक्ति, समर्पण आदिको मापन गर्छ रे । मतलब “आँखा झिम्क्याउनु”, जो मैले सकिनँ ।

आँखा झिम्काउन नसकेकै भरमा म राष्टसेवक बन्न निकम्मा सावित भएँ । तीन छक्क पार्ने गहु्रगो ३ नम्बरलाई झोलामा बोकी नाजवाफ लुखुर–लुखुर घर फर्किए ।

स्नातक सकाएँ । निजामति हुने मति नदेखिएपछि प्राइभेटतिर छिर्न खोजेँ । त्यो पनि तुहियो । कारण अनुभव पत्र थिएनँ । काम नगरी अनुभव नहुने–अनुभव नभएकालाई काम नदिने । प्राइभेट पनि जुरेन । जुरोस् पनि कसरी ? कसैलाई रिजाउने, भिजाउने, फकाउने, चखाउने गरिएन, नेताका भाइ, भान्जा, साला, साली, ससुराली केही परिएन, कागताली परेर काम पाइहाले पनि आधुनिक दासताको चक्रव्यूमा नफसी कुनै गुन्जायसै थिएन ।

मास्टर सकियो । केही दिन अलि फ्रेस पनि भइन्छ भन्ठानेर बुवाआमासँगै बस्ने निधो गरी घरतिर हानिएँ । कहीँ नफापी हावा खाए पनि हरेश खाएको थिएन । घरमा सबैजना खाना खाँदै थिएँ । मैले समाचार सुन्न त्यही पुरानो रेडियो ट्युन गरेँ । गीत बज्यो– “काम पाइएन डिग्री पास गरेर. . . ।” हत्तपत्त ट्युन बदलेँ । फेरि अर्को गीत बजिरहेको थियोे – “सुन साइँली चालिस कटेसी रमाउलाँ . . . ।” रेडियो नै बन्द गरिदिएँ ।

सबैले मेरो मुखमा हेरे । अनुहारमा सबैले जवाफ खोजिरहेको प्रष्ट देखिन्थ्यो जुन स्वभाविक थियो । अब ढिला गर्ने कुनै बहाना थिएन । उमेर र पढाई भन्ने बहानाको म्याद सकिसकेको थियो ।

“घरमा भोलि के कामको योजना छ बुवा ?” मैले ध्यानान्तर गर्न खोजेँ ।

“भोलिको योजना त कति छ कति तर खै भोलिको पखाईमै तँ जन्मेको ३० वर्ष बितेको पत्तै पाइएन । मैले चाहेको भोलि कहिल्यै आएन ।” भावात्मक आशयको वाण प्रहारसँगै उहाँ आफ्नो शयनस्थलतर्फ लाग्नु भो । म भने नाजवाफ खटियामा गर्ल्याम्म ढलेँ ।

निदाउने कोशिस गरेँ । मनमा प्रश्नहरुको आधीँले निन्द्रालाई उडाइसकेको थियो । मेरो प्रिय सर्टिफिकेटलाई सम्झिएँ । कल्पनामै वाहुमा लिएँ । जोडले आलिंगन गरी छातिमा टाँसे । जोसँग जीवनको अमूल्य नाता छ, भाग्य र भविष्य जोडिएको छ । परिवारको सुन्दर सपना गाँसिएको छ । जसलाई हुर्काउन अथक मेहनत र तपस्या छ । रेखदेखमा सुम्पिएका जीवनका कैयौ उर्बर वसन्तहरु मात्र छैनन् सँगै छन् हुर्काउन वृद्ध आमाबुवाका सिंचित पसिनाहरु पनि ।

प्रिय तिम्लाई पाउन के गरिनँ । कुलतबाट जोगाउन कैयौ मनमिल्ने गजेडी जिग्री गुमाए । सांसारिक भोगविलासबाट बच्न थुप्रै प्रेम प्रस्तावहरु गलहत्याए । रेष्टुराँ, बार र ह्वीस्की जानिनँ । नामर्द, पाखे र साइकोको तिरस्कृत उपमा स्वीकार्दै प्रत्येक परीक्षामा पुरस्कृत गराएँ । स्वस्थ, सफा र निरोगी बनाउन आफ्नै छाक काटेँ । कोचिड र ट्युशनका क्याप्सुलरुपी खुराकको कहिल्यै कमि हुन दिइन । अनुहारमा रिंकलका दाग बसे पनि तिम्रो अनुहारमा स्टार चिन्हको दाग कहिल्यै बस्न दिइनँ ।

म जस्तै धेरैले तिम्लाई सर्वस्व ठाने । पुजा गरे । तर विडम्बना । लाज छोप्न काज नपाएपछि । नाडगो जीउ ढाक्न समाजमा आफू अउदाडगिए छि । गर्वले पेट नभरिएपछि । चुहिने घर नओभाउने निश्चित भएपछि, क्यान्सर झै विस्तारै डिप्रेसनले गाँजेपछि के गरुन ती बबुराहरु ?

जसले तिम्लाई मालिक बनाए, ती आज पेट पाल्नकै लागि अनपढ मालिकको दासताको पुजा गर्न विवश छन् । तिम्लाई लेमिनेशन गर्नेहरु आफ्नो परिवारको जीउमा एकसरो लुगा लेमिनेशन गर्न खाडीमुलुकमा पसिना चुहाउँदै छन् । उज्यालो भविष्य कल्पिदै आशाको दीप बाल्नेहरु अन्धकारमा भौतारिदै छन् । सुन्दर सपना साट्ने कैयौ तिम्रा प्रेमीहरु मरुभुमिको जहाजसँग वीरहका वेदना साट्दै छन्, त्यति मात्र होइन तिम्लाई वाकसमा थन्काएर परदेश हानिएकाहरु स्वयं विदेशको वाकसमा फर्किदै गर्दा कुन आदर्शले तिम्लाई नधिकारुन् प्रिय ?

आखिर दोष कसको ? कसले बुझ्ने यी लुकाइएका दर्दनाक कथा ? अब त मेरो सरकारले नै सर्टिफिकेटलाई निकम्मा सावित गरिसकेको छ । कवाडको भाउमा खाडी मुलुकसँगै कोरिया र जापानमा लिलाम लगाउँदै छ । अब म के गरौँ ? तिमी नै भनी देउ यति लामो हाम्रो प्रेमको सामिप्यता र समर्पणको औचित्यता डियर सर्टिफिकेट ।