प्रकृति स्वः सिर्जित हुन्छ, ईश्वरको देन भनौँ या संयोग, सबै ठाउँ सुन्दर हुँदैनन् । प्रकृतिका कुनै ठाउँ यस्ता हुन्छन्, जसको सुन्दरता शब्दमा अभिव्यक्त गर्न हम्मे पर्छ । ढपक्क हिउँरुपी घुम्टो ओढेर, नव दुलही झै थरीथरीका रंगीविरंगी फूलहरुद्धारा श्रृडगारित, कचौराकृत वैशालु जवानीले ढलपलाएकी, कन्चन तालको सुस्त बहावसँगै आफ्ना अन्त्यहीन पाइला चाल्दै, कोइलीको कुकिल स्वरमार्फत् प्रेमीलाई रसपानको आह्वान गर्दै, राजहाँस ताम्रहाँस, नीलहाँस र जलेवासँग जलक्रिडामा लिप्त दृश्यावलोकनको स्वर्गीय आनन्दमा डुबाउने प्रकृतिको अनुपम उपहार हो – रारा¬ ।
त्यही सुन्दरतामा लठिएका राजा महेन्द्रले स्वर्गकी अप्सरा उपमा मात्र दिएनन्, यसको महिमालाई यसरी साकार रुप दिए ः
सुन्दरताको भण्डार सारा
के खनाया यसै रारामा
रारा की अप्सरा १
आउनुहोस्, त्यही प्रकृतिको अनुपम उपहार स्वर्गकी अप्सराको बारेमा बुझौँ ।
ऐतिहासिकता
छायानाथ मन्दिरको ऐनाको रुपमा प्रतिविम्बित, कचौराकारमा उपत्यका जस्तो वरिपरि पहाडले घेरिएको, विचमा निलो मसि पोखिएजस्तो पानी, छेवैसम्म एकनासका हराभरा धुपी र सल्लाका रुखहरुले घेरिएको स्वच्छ र सुन्दर तालको उत्पत्ति कसरी भयो होला भन्ने कौतुहलता जो कोहीलाई हुने गर्दछ । उत्पत्तिको बारेमा अनेकौ किम्मदन्तीहरु रहेता पनि केही रोचक प्रसंगहरु यसरी बताउँछन् स्थानीयवासी ।
प्राचिन कालमा जब लंकामा राम र रावणको लडाई भयो रामद्धारा रावण मारिए । ऋषिपुत्र मारिएकोले रामलाई व्रम्हहत्या लाग्ने भएकोले ऋषिहरुले प्रायश्चितको लागि हिमालय पर्वतमा जान सल्लाह दिए । सोही अनुरुप राम यहाँ पुगे । त्यसबेला यो क्षेत्रमा पानी थिएन, तिर्खाले व्याकुल बनेका रामले जमिनमा वाण प्रहार गरी पानी निकाले सोही पानी विस्तारै जम्मा भएर ताल बनेको कुरा धार्मिक ग्रन्थहरुमा रहेको बताउँदै स्थानीय मान प्रसाद भट्ट अझै अर्को प्रसंग कोट्याउँछन् ।
यहाँ पहिले घना बस्ती थियो एक दिन बाबाजी भिक्षा माग्दै यहाँ आइपुगे, तर यहाँका स्थानीयले भिक्षा नदिई अपमान गरे, सो घटनाले बाबाजीलाई गहिरो चोट पर्यो, यो ठाउँमा मानववस्ती नरहोस् भ्न्ने सराप दिदै पानी भरिएको चिन्डो (लौका) फूटाए । जुन पानी नै जम्मा हुँदै ताल बन्यो ।
कुरुक्षेत्रबाट पाण्डवहरु हिमालय पर्वतमा तपस्या गर्न जुम्लाको पाण्डगुफामा आइपुगे । त्यही बसी तपस्या गर्न थाले, सोही क्रममा रारालाई राधा नामाकरण गरे र कालान्तरमा राधा शब्द नै अपभ्रम्स भएर रारा रहन गएको राय बुढापाकाको छ ।
त्यस्तै वि.स. २०२० मा राजा महेन्द्र विर विक्रम शाह सिकार गर्न भनेर रारा पुगेका थिएँ । जसको सौन्दर्यतामा चुर्लुम्मै डुबेका उनी प्रचार प्रसारमा लागे । सोही कारणले यसलाई महेन्द्रताल पनि भन्ने गरेको पाइन्छ । पछि २०३२ सालमा तालको सिरानमा रहेका रारा र छाप्रु वस्तीलाई हर्जाना दिएर अन्यत्र (नेपालगंज) सारेपछि यो क्षेत्रलाई निकुन्ज (रारा राष्टिय निकुन्ज) स्थापना गरी सिमसार क्षेत्र घोषणा गरियो । उक्त गाउँले पुजा गर्ने छाप्रु मन्दिर हाल पनि सोही ठाउँमा अवस्थित छ ।
राराको पूर्व गमगडी आसपासका केही वस्तीहरु श्रीनगर, कार्काीवाडा लगायतका गाउँलाई जोखिम भएकाले तालको पानी निस्कासनको लागि ठाकुरबाबाले पश्चिमपटि बाण प्रहार गरेर खत्याड खोला बनेको धार्मिक विश्वास छ ।
यस्तो छ रारा
मुगु जिल्लाको छायानाथ रारा नगरपालिकामा अवस्थित रारा ताल संसारकै सुन्दर तालहरु मध्येको एक हो । मुगु जिल्लाको सदरमुकाम गमगडी देखि पश्चिमतर्फको करिब ३ घण्टाको पैदल यात्रा पछि समुद्री सतहबाट करिब २९ सय ७२ मिटर उचाइमा अवस्थित यो ताललाई नेपालकै सबैभन्दा ठूलो स्वच्छ पानीको तालको रुपमा लिइन्छ । करिब ५ किलोमिटर लम्बाई र ३ किलोमिटर चौडाइ गरी जम्मा १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उक्त तालको गहिराई भने १६७ मिटर छ । विश्वमा अन्त कतै नपाइने असली (हिमाली) माछा यहाँ पाइन्नुले रारालाई थप रोचक बनाएको छ ।
दिनमा ३ पटकसम्म आफ्नो रंग बदल्नु राराको अर्को मुख्य विशेषता हो । घामको किरणसँगै रंग बदलिरहने सफा, स्वच्छ र कन्चन ताल हावाको वहावअनुसार एकनासको छालले मधुर संगीतको सिर्जना गर्छ । जसले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ । चैत्रको अन्तिम सातादेखि जेठको मध्यसम्म सेतो गुरासँ, लाली गुरासँ र चिमालोमय बन्ने रारा भने साउनदेखि असोज अन्तिमसम्म अनेकौ प्रकारका रंगी विरंगी फूलहरुले झकिझकाउ हुँदा दुलही सिंगारिएझै लाग्छ ।
मिलिचौरतिर बरालिने घुमन्तेहरु ड्डगा शयरतर्फ लाग्छन् । डुगा शयरको २५ मिनेटमा तालको वीचमा पुगिन्छ । जब बीच तालबाट चारैतिरको दृश्यावलोकन गरिन्छ तब सागरको बीच कमलको फूलमा आसिन आवास हुन्छ । मन कपास झै हलुगो हुन्छ अनि प्रफुल्ति मनले वायुपंखी घोडामा उडान भरी साँच्चीकै स्वर्गै पुगेको अनुभुति हुन्छ ।
चारैतिरबाट घनाजंगलसँगै करिब १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा राष्टिय निकुन्जले तालको सोभा झनै बढाएको छ । निकुन्जको मनोरम हरियालीमा नाच्दै गरेका डाँफे, मुनाल, कालिज र च्याखुराको चिरबिरमा, न्याउली र कोइलीका मधुर स्वरले विरही भाका मिलाउदा मन चडगा झै उड्न थाल्छ । बेला बेलामा कस्तुरी रतुवा, घोरल वा झारलको आगमनले उत्सुकतालाई थप रोचक बनाइदिन्छ । २ सय १४ प्रजातिका चरा, ५१ प्रजातिका स्तनधारी जनावर र १ हजार ७४ प्रजातिका वनस्पति सँगै थुपै्र खाले जडीबुटी पानइने यस क्षेत्रले स्वर्गीय भूमिको आवास गराउँछ ।
मुर्माटप पुग्न तालबाट झन्डै ३ घण्टा हिँडनुपर्छ । बिचबिचमा धुपी सल्ला र देवदारका घना रुखहरु छिचोल्दै त्यहाँ पुग्दा राराको विछटै लोभलाग्दो दृश्य देखिन्छ । जहाँबाट जुम्ला, हुम्ला, कालिकोट र बाजुराको हेरिरहँदा संसारमै आफू नै सबैभन्दा अग्लो भएको नसोच्ने कुरै भएन । सिस्ने, कान्जिरोवा र सुदुरपश्चिमको सैपाल हिमालको उज्वल आकृति र मुस्कुराहटलाई एकटकले हेरिरहँदा जो कोही आफूभित्रै हराउँछ ।
जति वर्णन गरे नि अपूर्ण नै हुने राराको सौन्दर्य र महिमाको गीत जति प्रिय छ त्यति नै दुखद् पनि । प्रचुर सम्भावनालाई गर्भमै राख्न विवस राराको कारुणिकता कस्ले पो सुन्छन् र ? नत खोतल्छन् सति देविको अन्तिम अस्तु रहेको छायानाथ मन्दिरको ऐतिहासिकता, न देख्छन् एक रुपैया नोटमा अंकित चंखेली हिमालको महत्व, न जोड दिन्छन् स्थानीय रैथाने वाली नालीको उपयोगिता नत छ भेषभुषा, संस्कार, रीतिरिवाज र चालचलनको पहिचानको सारगर्भिकता न छ थुपै धार्मिक तथा सांस्कृति धरोहरलाई रारासँग जोडन् नसक्नुको चित्कारको मर्म ? न कसैले चिन्छन् कस्तुरीको बिना यहाँ नत बुझ्छन् अभिभावक गुमाएको वेवारिसे वालकजस्तो देखिने घरछेउको हिराको टुक्राको भावविह्वल भाषा वा नेपाली भाषा उत्पतिको ऐतिहासिक थलो सिंजाको खस भाषा, न कोही देख्छन् खेर गइरहेको हिमा र तिलाको सेतो सुन, न कोही बुझ्छन राराको आशुको व्यथा । खोज्दै जवाफ देशका मालिकहरुसँग अनि गिज्याउँदै युरोप र अमेरिका घुम्दै स्तुति गाउने नेपालीहरुलाई । सबै पीडा र बेदना मनभित्रै लुकाइ लुकामारी गरिरहन्छ सधै ।
अन्तमा दिनभर घुमन्तेसँगै अव्यस्त रारा सुर्यस्तसँगै हुन्छ सुनसान– बनाउँछ सिरान छायानाथ र चंखेली हिमालको अनि गाँस्दै सामिप्यता मुगालीसँग – सुस्ताउँछ गहिरो निन्द्रामा अभिलाषाको भारी मनसँगै अवश्य आउने त्यो एक नयाँ सु्न्दर विहानीको प्रतिक्षामा ।