केही दिनको यात्रापछि सामाजिक सञ्जालमा फोटा पोस्ट गरेँ र क्याप्सन लेखे ‘…साँझपख इस्लामाबाद मुनाल भ्यू टावरबाट सबैको जय होस ।’
आफन्त तथा साथीसंगीहरुले सजिलै थाह पाए ‘यो पाकिस्तान पुगेछ’ भन्ने ।
त्यही क्याप्सन र तस्विरहरुलाई लक्षित गर्दै एकजना मित्रको कमेन्ट आयो, “जय होस आतङ्ककारीको भय नहोस ।”
यो एक प्रतिनिधि मुलक भनाई थियो । यसो त दक्षिण एशियाको एक आणविक शक्ति राष्ट्र पाकिस्तान यस्तै यस्तै प्रोपोगान्डाबाट प्रताडित छ । त्यही राष्ट्रको भित्री कथा बुझ्न केही थान पाका पत्रकारहरुका साथ म लागेकाे थिए ।
लामो समयको जहाजको सफर पहिलो थियो मेराे । काठमाडाैंबाट उड्नु अघि नै साथीहरुले सामाजिक सञ्जालबाट अनेक प्रतिक्रिया दिइरहेका थिए । हामी फ्लाइ दुबर्इकाे एयरक्राफ्टमा चढेका थियाै । जहाजमा फरक फरक अनुहार थिए । जहाजकाे ककपिटमा बसेर अबिराम उडाइरहेका चालक र यी जहाजहरु भित्र उड्ने यात्रुहरुका मन पनि सायद फरक फरक थिए । कहिले लाग्थ्याे कि त्याे कोलाहलमय परिवेशबाट उम्केर आकाशमा मन चङगा भयर कति उडेको होला । नेपालको आकाश छोडेर पराईको आकाशमा पुग्दा केही अर्कै अनुभूति भइरहेकाे थियाे ।
पुस्तकहरुमा पढेको र कतै सुनेको इस्लामावाद भन्दा प्रत्यक्ष आँखाले देखेकोे इस्लामावाद निक्कै भिन्न पाएँ मैले । पाकिस्तानी जनताको राष्टप्रतिको समर्पणभाव र राष्ट्रभाव सहजै बुझ्न सकियो । पाकिस्तानले पछिल्लो समय सुरु गरेका पुर्बाधार र भौतिक संरचना विकासका कामले अझ बढी मन तान्यो ।
फ्लाइ दुबईको मजदुरे व्यवहार पनि कम्ता थिएन । जहाजमा रोजगारीका लागि खाडी उडेका युवाहरुको जमात ठूलै थियो । जहाजमा देखिएका ती युवाहरुमध्ये कमैको मात्र थियो हँसिलो मुहार । घर, आमाबुवा, जहान परिवार छोडनुको पीडा तिनका अनुहारले बोल्थ्यो ।
जिन्दगीका केही थान सपनाका लागि आफ्नो मातृभूमी छाडेर आकाशमा कावा खाँदै उडिरहेको विमान भित्र रहेका ती युवाहरुको मुहार पढ्ने कोशिस गरे । मलाई महशुस भयो देशको अवस्था अनि युवाहरुका विश्रृङ्खलित मनभित्रका पीडा । कसै कसैका आँखामा आँसुका छापहरु पनि सुकेका थिएनन् । एकातिर परिवारका साना साना सपना पूरा गर्न मातृभूमी अनि परिवार छाडेर पराइभूमीतिर जान बाध्य ती अनुहार, तिनलाई ओढाइएका खादा अनि अर्कोतिर जहाजका सहयोगीहरुको व्यवहार !
जहाजमा धेरै पटक समृद्ध नेपाल र सुखी नेपालीको सपना बोकेको सरकारलाई सम्झेँ । मेरो उमेर जस्तै जसले आफनो मातृभूमी छोडेर रोजीरोटीको जोहो गर्न बाहिरिएका युवाहरुको अनुहार नियालेँ । सरकार नभएको अनुभूती गरेँ ।
केही काउकुती अनि खुलदुली मनमा बिछट्टै उर्लिए । बेलाबेला जहाजको झ्यालबाट बाहिर हेर्छु । त्यहाँ बिल्कुल शुन्यता शिवाय केही पाउन सकिन । हिउ फुले जस्तै कपाल, उमेरले नेटो काटे पनि जोस जाँगर र उमङ्गले भर्खरका १६ वर्षे जवान जस्ता लाग्ने केही आदरणीय व्यतिmत्वहरुसँग म यो यात्रा गरिरहेको थिए । उनीहरुको जोसिलो प्रस्तुतिले मलाई मनभित्र औडाहा हुन्थ्यो । त्यो प्रस्तुति अनि त्यो उमेर । बेला बेला सोच्थे मेरो पोल्टामा कहिले आउला ?
“मातृभूमी छाडेर आकाशमा कावा खाँदै उडिरहेको विमान भित्र रहेका ती युवाहरुको मुहार पढ्ने कोशिस गरे । मलाई महशुस भयो देशको अवस्था अनि युवाहरुका विश्रृङ्खलित मनभित्र पीडा”
हाम्रो टिम लिडर हुनुहुन्थ्यो बुद्धिनारायण श्रेष्ठ । उहाँ बेला बेला हामीलाई केही कुराहरु सम्झाउनुहुन्थ्यो । राजन कार्की हाम्रो यात्रा रसिलो बनाउँदै हुनुहुन्थ्यो । राजन कार्की र निमकान्त पान्डेय सरको गफले बेला बेला सबैको ध्यान तान्थ्यो । उहाँहरु एकआपसमा निकै रसिक शब्दबाण चलाइरहनुभएको थियो । टिममा लक्ष्मण हुमागाई, शरदचन्द्र भण्डारी, शुशिल अर्याल, नन्दलाल तिवारी, टेकनाथ न्यौपाने, झपेन्द्रराज बिष्ट पनि हुनुहुन्थ्यो । सबैका आआफ्नै स्वभाव, सबैका आआफ्नै शैली । ती परिदृष्यहरु नियाल्दै, पढ्दै र कल्पदै म जहाजको सिटमा कल्पिरहे ।
पाकिस्तान बेला बेला आफ्नो शक्ति परिक्षण गर्दै आएका खबर हामी सुनिरहन्छौ । पाकिस्तानले दक्षिण एशियामा आफनो बेग्लै पहिचान बनाउदै गएको छ । दक्षिण एशियाको शक्तिशाली कहलिने भारतलाई चुनौती दिँदै आएको छ । उसको समिप जाँदै गर्दा त्यसबारे जान्न पनि म उत्सुक थिए ।
हामी पाकिस्तानको राजधानी इस्लामावाद पुग्यौ । राजधानी अरु सहर भन्दा फरक हुनु स्वभाविक छ । वातावरणीय हिसाबले काठमाडौँसँग मिल्दोजुल्दो । सफा र सुन्दर सहर । अनि उसको विकासोन्मुख रफ्तार पनि निक्कै प्रशंसनीय लाग्यो ।
“नेपालका नेताहरु भारतको डरले पाकिस्तानको भ्रमण गर्न पनि डराउने गरेको प्रसंग कुराकानीमा निस्किए । त्यो कुरा निक्कै अर्थपूर्ण थियो”
इस्लामावादको सरिना होटल । कोठा नम्बर ४८३ । टेबलमा आफैले बनाएको कफी हातमा थियो । एकछिन झ्यालबाट बाहिर नियाले । फेरि आएर सोफामा बसे । दिमागमा जहाजभित्रकै परिदृष्य खेलिरहेकै थियो । सोच्दा सोच्दै कफी कतिखेर सकियो र कफीको स्वाद कस्तो थियो भन्ने पनि थाहा पाइन । म कोठामा बस्न सकिन । एकचोटी होटल बाहिर निस्कन्छु भन्ने लाग्यो । म निस्के । होटलको लबीमा झरे । लवीमा रहेका सोफाहरुमा बसेर ग्राहकहरु गफिदै थिए । होटेलका स्टाफहरु आआफ्नो डेस्कमा सेवाका लागि तम्तयार भइरहेको देखिन्थ्यो । म होटलभन्दा बाहिर निस्के । तर, त्यो मेरा लागि नौलो ठाउँ थियो । न त भूगोल थाहा थियो । न त त्यहाँको अरु वातावरण । केहीबेर यताउती हिडेर म फेरि होटलको लवीतिरै फर्किए अनि लवीमा बसेर सोच्न थाले ।
सरिना होटलको बसाई र इस्लामावादसँगको साउती गजवको संयोग नै थियो । महत्वपूर्ण भेटघाट र कुराकानीले म उत्साहित भए । मानिसले विज्ञान र प्रविधिसँगै भौतिक संरचनामा गरेको विकास अदभूत छ । विश्वको पछिल्लो विकासतिर सबैको आकर्षण हुनु स्वभाविक नै हो । प्रायः भेटहरु देशको सामयिक परिस्थिति र भौगोलिक अवस्थाबारे केन्द्रित रहन्छन् । हामीले पनि त्यस्तै कुराकानी गर्यौ ।
हाम्रो भेट पाकिस्तानका लागि नेपाली राजदुत सेवा लम्सालसँग भयो । उनीसँग निकै रमाइलो कुराकानी पनि भयो । अनि केही अरु भेटघाटहरु पनि भए । ती सबैमा पाकिस्तानका बारेमा बुझ्ने मौका पाइयो । पाकिस्तानीहरुको नेपालीहरुप्रतिको सदभाव बेग्लै पाए मैले । भारतीय दबदबाबाट प्रताडीत चाहे पाकिस्तानी जनता होउन, चाहे नेपाली जनता सबैको आआफ्नै स्वाभीमान छ ।
राजदुत लम्सालले पाकिस्तान आत्मनिर्भर बाटोमा हिडिरहेको र पाकिस्तानी ब्यवसायीहरुले नेपालमा लागानी गर्न खोजिरहेको जानकारी दिँदै त्यसका बारेमा केही कुरा गर्नुभयो । नेपालसँग विकासका दृष्टिले पनि पाकिस्तान जोडिन खोजेको कुरा बताउदै हुनुहुन्थ्यो । हल्लाको पाकिस्तान र वास्तविक पाकिस्तान आकाश पातलको फरक भएको उहाँको भनाई थियो । नेपाल सरकार र पाकिस्तान सरकारको सम्बन्धका बारेमा पनि उहाँले बताइरहनु भएको थियो ।
उसो त दक्षिण एशियाको राजनीतिकोे बागडोर जर्बजस्त भारतले आफनो पोल्टामा पारिरहेका कुरा जगजाहेर छ । पछिल्ला दक्षिण एशियाली राष्ट्रका नाममा बनेका संघ संस्था या जुनसुकै बहानाबाजीमा बनेका प्रपोगान्डा किन नहोउन, ती सबै भारतले दक्षिण एशियाली राजनीतिलाई आफ्नो पोल्टामा पार्न गरेका तिकडम हुन । सार्क सम्मेलन, बिमिस्टेक सम्मेलन या जेसुकै सम्मेलनले पनि ती कुरालाई प्रस्ट पारिरहेका छन ।
“भारतीय इतिहासमा तक्षशिला निकै पढिने गरिन्छ । तत्कालीन भारतको ज्ञानको केन्द्र नै थियो तक्षशिला । सयौ राज्यमा विभक्त भारतलाई अखण्ड भारत बनाउने यात्रा त्यहीबाट सुरु गरिएको थियो । चाणक्यको ज्ञानको महिमा ततसमयमा भारतवर्षमा मात्र होइन संसारभर फैलिएको थियो ।”
इस्लामावादको बसाई धेरै हिसाबले महत्वपूर्ण रह्यो । हामीले तक्षशिलाको अवलोकन गर्यौ । खासगरी भारतीय इतिहासमा तक्षशिला निकै पढिने गरिन्छ । तत्कालीन भारतको ज्ञानको केन्द्र नै थियो तक्षशिला । सयौ राज्यमा विभक्त भारतलाई अखण्ड भारत बनाउने यात्रा त्यहीबाट सुरु गरिएको थियो । चाणक्यको ज्ञानको महिमा ततसमयमा भारतवर्षमा मात्र होइन संसारभर फैलिएको थियो । भारतका ठूला ठूला राज्य तथा गणराज्यका राजकुमारहरु तक्षशिलामै गएर ज्ञान आर्जन गर्दथे । तत्कालिन तक्षशिलाको महिमा संसारभर फैलिएको थियो । मेरा लागि त्यो निकै उत्सुकताको केन्द्र थियो । यसपटक त्यहाँ पुगियो । तक्षशिलामा उभिएर सम्झनाका लागि केही झलक फोटोहरु पनि खिचियो ।
पाकिस्तानमा भएका सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसँगको निक्कै महत्वपूर्ण भेटघाटले मनमा उत्साह थप्यो । इमरान खानले पाकिस्तानी सत्ताको बागडोर सम्हालेपछि पाकिस्तानको प्रतिबिम्व बदलिदैछ भन्ने अनुभूति पनि ती भेटघाटहरुबाट भयो । विकास मात्र होइन, शान्ति, सुव्यवस्थाका दृष्टिले पनि नयाँ प्रधानमन्त्री इमरान खानले पाकिस्तानलाई अर्को उचाइमा पु¥याउँदै छन भन्ने कुरा सबैमा झल्किन्थ्यो ।
पुस्तकहरुमा पढेको र कतै सुनेको इस्लामावाद भन्दा प्रत्यक्ष आँखाले देखेकोे इस्लामावाद निक्कै भिन्न पाएँ मैले । पाकिस्तानी जनताको राष्टिप्रतिको समर्पणभाव र राष्ट्रभाव सहजै बुझ्न सकियो । पाकिस्तानले पछिल्लो समय सुरु गरेका पुर्बाधार र भौतिक संरचना विकासका कामले अझ बढी मन तान्यो । राष्ट्रियताका सन्दर्भमा पाकिस्तान निक्कै बलियो भएको प्रमाण यहाँका आन्तरिक उत्पादन नै हो । सबै हिसाबले आत्मनिर्भरताको बाटोमा हिडिरहेको पाकिस्तान पछिल्लो बिश्व बनिरहेको थाहा भयो । मलार्इ लाग्याे पाकिस्तान अाफ्नै कर्ममा विश्वास गरिरहेकाे छ । अाफ्नै पाखुरीमा विश्वास गरिरहेकाे छ ।
बाटोमा नेपालको आन्तरीक राजनिति र नेपाली राजनितिको संस्कारको बारेमा थुप्रै टिका टिप्पनी भए । नेपाली राजनीतिमा भारतीय दवदवाको बारेमा पनि निक्कै बहस भयो ।
निमकान्त सर सुनाईरहनु भएको थियो, कुनैबेला पाकिस्तानको भ्रमणबारे एक पूर्व गृहमन्त्रीले गरेको बयान । भारतीय दास मनोबृतिबाट ग्रसित उक्त गृहमन्त्रीको नाम उच्चारण गर्न उपयुक्त चाहिन । नेपालका नेताहरु भारतको डरले पाकिस्तानको भ्रमण गर्न पनि डराउने गरेको प्रसंग कुराकानीमा निस्किए । त्यो कुरा निक्कै अर्थपूर्ण थियो ।
इस्लामावादमा मिडिया सम्बन्धी बिभिन्न कार्यक्रम पश्चात् हामी लाहोरतर्फ हान्नियौँ । पाकिस्तान युनिर्भसिटीले राखेको आमसञ्चार सम्बन्धी कार्यक्रम निकै महत्वपूर्ण थियो । विश्वका बिभिन्न मुलुकका मिडिया सम्बन्धी प्रयास र पत्रकारिताको पछिल्लो अभ्यासबारे गरिएको छलफल निक्कै उपलब्धीपूर्ण रह्यो । पछिल्लो विश्व राजनीतिमा मिडियाको प्रभावबारे गरिएको छलफल महत्वपूर्ण रह्यो ।
लाहोर पुग्दा बाटोमा भएका हिन्दु मन्दिरहरुको पनि अवलोकन गरियो । पाकिस्तानको विकासको पूर्वाधारलाई नजिकबाट नियाल्ने अवसर जुटयो ।
फराकिलो सडक सडकका बीचबीचमा हरिया रुख । त्यसैमा दुलही झैँ सिंगारेर अविराम घुईकिरहेका गाडी साँच्चिकै अविस्मरणीय लाग्थ्यो । १२ बर्ष अगाडि पाकिस्तान पुग्नु भएका निमकान्त पाण्डेय र राजन कार्की सर निक्कै मन्त्रमुग्ध बनिरहनुभएको थियो । १२ वर्षमा पाकिस्तानले मारेको विकासको फड्को उहाँहरुकै अनुभूतीबाट निक्कै प्रशंसनीय थियो । हामी लाहोरमा पुग्यौ । लाहोरमा केही भेटघाटहरु भए । लाहोरसँगको त्यो सामिप्यता पनि बिर्सनै नसकिने रह्यो ।
त्यसपछि करिब २ घण्टाको जहाज यात्रापछि कराँची पुगियो । समुन्द्री छेउमा रहेको कराँची अरु सहर भन्दा केही भिन्न देखियो । कराँची व्यस्त थियो । कराँची पाकिस्तानको पुरानो राजधानी भएर पनि होला अरु सहर भन्दा उसको छनक केही भिन्न थियो । कराँचीमा एउटा कार्यक्रम सकेर हामी त्यहाँका मिडिया अवलोकनतिरै लाग्यौँ । पाकिस्तानले गरेको मिडिया अभ्यासको बिषयमा जानकारी लियौँ । कराँची केही अर्थमा भिन्न थियो त्यहाँको सामाजिक जीवन अरु सहर भन्दा फरक लाग्थ्यो ।
पकिस्तानले पछ्याएको पछिल्लो समृद्धिको बाटो अरुले कल्पना गरेको भन्दा निकै भिन्न लाग्यो । पाकिस्तान आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिडिरहेको सजिलै अनुभूति भयो । लाग्यो कि पाकिस्तान यस्तो चाहन्छ जुन अरुले पढोस्, देखोस र बुझोस् हल्लाको भरमा कोही नलागोस । विकास र समृद्धिका हिसाबले नेपालले पाकिस्तानबाट सिक्नु जरुरी लाग्यो ।
बहुसंख्यक मुस्लिम समुदाय रहेको पाकिस्तान अन्य धर्मप्रति अनुदार रहेको आरोप र हल्लाहरू निरन्तर भइरहन्छन् । तर, पाकिस्तान भ्रमणका क्रममा हिन्दु, बौद्ध लगायतका समुदायका धार्मिक आस्थाका केन्द्र मानिने मन्दिर र गुम्बाहरू लगायतलाई जसरी संरक्षण र प्रवद्र्धन गरिएको पाइयो, सबै समुदायका धार्मिक आस्थालाई प्रवद्र्धनका लागि पाकिस्तानले पछिल्लो समय गरिरहेको प्रयासले पाकिस्तानमाथि लाग्ने गरेका आरोपलाई गलत सावित गरेको महशुस भयो । अन्य समुदायमाथि गरेको सम्मान र आदर निक्कै प्रशंसनीय लाग्यो ।
पाकिस्तानको यात्रा मेरा निम्ति एक अविस्मरणीय यात्रा रह्यो । इस्लामावाद, लाहोर र कराचीमा हामीले गरेका भेटघाट, कुराकानी र त्यहाँको विकास तथा संघसंस्थाको संस्थागत विकासको अवलोकनले निकै उर्जा थपियो । हामी ८ दिनको यात्रा सकेर हामी जिनाह इन्टरनेशनल एअरपोर्टमा पुग्यौ ।