काठमाडौँ । सरकारले चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीलाई औषधि सिफारिस गर्दा ‘जेनरिक’ नाम लेख्नुपर्ने कानुनी व्यवस्था गर्न लागेको छ । संसद्मा दर्ता भएको जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा अनिवार्य रूपमा जेनरिक नाममा औषधि सिफारिस गर्नुपर्ने प्रावधान छ ।
जेनरिक नाममा सिफारिस गर्दा गुणस्तरीय औषधि कम मूल्यमा पाइने स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । ‘जेनरिक नाममा औषधि प्रस्तावित गर्दा यसको मूल्य सोझै घटछ,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने, ‘अमेरिकाको गत वर्षको तथ्यांकअनुसार जेनरिक नामले ८९ प्रतिशतसम्म औषधिको मूल्य घटेको छ ।’ नेपालमा जेनरिक नामले औषधि सिफारिस गर्दा शतप्रतिशत वा योभन्दा बढी घट्न सक्ने उनको दाबी छ । यो प्रक्रिया सुरु हुँदा सबै औषधि कम्पनीले गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्नुपर्ने उनले बताए ।
जेनरिक नाम चलनचल्तीमा आउँदा कुनै खास ब्रान्ड नामको औषधि लेखेबापत पाइने उपहार, पुरस्कार र प्रलोभन आदि बन्द हुने अवस्था आउने उनले जानकारी दिए । ‘यसले औषधिको अनुचित प्रयोग हुँदैन, बलजफ्ती औषधि भिडाउने प्रवृत्तिमा पनि कमी आउँछ, औषधि प्रस्ताव प्रक्रियामा हुने अनुचित क्रियाकलाप रोकिन्छ ।’
नेपाल, बंगलादेश, भारतजस्ता मुलुकमा जेनरिक औषधिलाई समेत ब्रान्ड नाम राखेर बेच्न पाइने अवस्था औंल्याउँदै ढकाल भन्छन्, ‘जेनरिक नाममा औषधि प्रस्तावित गर्दा चिकित्साकर्मीलाई पुर्जा लेख्न सजिलो हुन्छ, हिज्जेमा त्रुटि हुने सम्भावना घटछ ।’ अहिले बिक्री वितरण भइरहेको जेनरिक औषधिमा समेत ब्रान्ड नाम राखेर महत्त्व थपेकाले यसको मूल्य बढी परेको बुझाइ उनको छ ।
यतिमात्र नभई जेनरिक नाममा औषधि सिफारिस गर्ने प्रक्रिया अनलाइन प्रेस्किप्सन, कम्प्युटराइज्ड प्रेस्किप्सनका लागि समेत अति उपयोगी छ । एउटा जेनरिक उत्पादनको १० देखि २० ब्रान्डका औषधि फार्मेसीलाई राख्नुपर्ने हुन्छ । जेनरिक नामले फर्मासिस्टलाई औषधि प्रबन्धन, स्टक आदि गर्नसमेत सजिलो हुन्छ ।
युरोपेली मुलुकमा चिकित्सकले जेनेरिक नामबाटै औषधि सिफारिस गर्छन् । एसियाली मुलुकमा उपलब्ध औषधिको गुणस्तर भरपर्दो नभएकाले जेनरिक नामबाट औषधि लेख्दा बढी समस्या उत्पन्न गर्ने भन्दै केही विशेषज्ञले भने विरोध गरेका छन् । ‘यो ऐन लागू हुनुअघि बजारमा पाइने औषधि गुणस्तरयुक्त भएको ग्यारेन्टी हुनुपर्छ,’ प्रा.डा. शरद वन्त भन्छन्, ‘जेनरिक नाममा लेखिएका पुर्जा व्यावसायिक हितबाट मुक्त हुन्छन् तर हामी अहिले तयार छौं वा छैनौं भन्ने प्रश्न मात्र हो ।’
जेनरिक नाममा पुर्जा लेख्नुपर्ने कुरा ऐनले व्यवस्था गर्नुभन्दा पनि नीतिले व्यवस्था गर्नुपर्ने औंल्याउँदै डा.वन्त भन्छन्, ‘हामीकहाँ एउटै जेनरिक औषधि २० वटा ब्रान्ड नामले आउँछ र २० किसिमको गुणस्तर देखिन्छ, फरक–फरक ब्रान्ड नामको विश्वसनीयता फरक–फरक हुन सक्छ ।’
ढकालले भने गुणस्तर हेरेर नै औषधि बिक्री वितरण गर्ने अनुमति दिइएकाले मूल्य बढी हुँदैमा वा ब्रान्ड नाम राख्दैमा औषधि गुणस्तरीय हुन्छ भन्ने बुझाइ गलत भएको बताए ।
के हो जेनरिक ?
पेटेन्टको अवधि पूरा भएपछि सोही औषधिमा भएको सक्रिय तत्त्वको नाम राखी बिक्री वितरण गर्ने औषधिलाई जेनरिक भनिन्छ । कुनै एउटा रोगको उपचारका लागि विभिन्न प्रकारको अध्ययन अनुसन्धानपछि एउटा रसायन (साल्ट) तयार गरिन्छ ।
जसलाई सहजै उपलब्ध गराउन औषधिको रूप दिइन्छ । यो साल्टलाई हरेक कम्पनीले भिन्दाभिन्दै नामले बिक्री वितरण गर्छन् । कसैले महँगोमा त कसैले सस्तोमा । तर यो साल्टको जेनरिक नाम त्यसको कम्पोजिसन र रोगलाई ध्यानमा राख्दै एउटा विशेष समितिद्वारा निर्धारित हुन्छ । कुनै पनि साल्टको जेनरिक नाम विश्वभरि एउटै हुन्छ ।
विभिन्न दाबीअनुसार महँगो औषधि र त्यही साल्टको जेनरिक औषधिको मूल्यमा कम्तीमा पाँचदेखि १० गुणासम्म अन्तर हुन्छ । कतिपय समय जेनरिक र ब्रान्डेड औषधिको मूल्यमा ९० प्रतिशतसम्म फरक हुन्छ ।