काठमाडौं, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।
सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दामा सफाइ पाएका हुन् । सर्वाेच्चले २ वर्षपछि खारेज गर्ने फैसला सुनाएको हो ।
२०७३ मंसिर १ गते अधिवक्ता दक्षबहादुर क्षत्रीले उनीहरुको योग्यता नपुगेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले मंसिर ५ गते कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा झिकाएकी थिइन् ।
अख्तियारका कार्यवाहक प्रमुख आयुक्त नवीन घिमिरे, पूर्वप्रमुख आयुक्त दीप बस्नेत र आयुक्तहरु सावित्री गुरुङ, गणेशराज जोशीको योग्यता अख्तियारको आयुक्त हुन संविधानले तोकेको योग्यता नपुगेको दाबी गरिएको थियो ।
४ जना आयुक्त नियुक्ति हुँदा कायम रहेको अन्तरिम संविधान २०६३ को धारा ११९ (५) (ग) ले तोकेको योग्यता नपुग्ने दाबी निवेदकको थियो । उक्त धारामा उल्लेख भएअनुरूप प्रमुख आयुक्त र आयुक्त हुनका लागि अन्य सर्तसँगै लेखा, राजस्व, इन्जिनियरिङ, कानुन विकास वा अनुसन्धानका क्षेत्रमा कम्तीमा २० वर्ष काम गरी अनुभव र ख्याति प्राप्त गरेको व्यक्ति योग्य हुने उल्लेख छ।
सर्वाेच्चले सोमबार सुनुवाइ गर्दै योग्यता नपुगेको दाबी ठहर नहुने भन्दै रिट निवेदन खारेज हुने फैसला सुनाएको हो । सर्वोच्चले मुद्दा खारेज गरेपछि कार्यवाहक प्रमुख आयुक्त नवीन घिमिरेलाई प्रमुख आयुक्तका पदमा प्रतिस्पर्धाका लागि बाटो खुला भएको छ।