रोजर फेडेररले आठौ पटक जिते बिम्वल्डन उपाधि

एजेन्सी । किर्तिमानी ग्रान्ड स्लाम संख्या १९ पुर्‍याउने क्रममा रोजर फेडेररले आठौं पटक बिम्बल्डन ओपन जितेका छन्।

फाइनलमा मारिन किलिकलाई हराउँदै आठ पटक उपाधि जित्ने किर्तिमान समेत राखे। ३५ वर्षका फेडेरर टेनिस इतिहासकै सबैभन्दा सफल पुरुष खेलाडी हुन्। यस उपाधिपछि उनले आफ्नो कद अझै बढाएका छन्। उनले फाइनलमा क्रोयशियाका मारिन किलिकलाई ६–३, ६–१ र ६–४ को सेटमा निराश पारे। १ घण्टा ४१ मिनेटमा जित निकाले।

अर्को महिनाबाट ३६ वर्षको लाग्ने फेडेररले यस जितपछि अमेरिकी ‘पेस्तोल’ भनेर चिनिएका पिट साम्प्रास, भिक्टोरिया युगका विलियन रेस र आफ्नै नाममा रहेको सर्वाधिक ७ पटक बिम्बल्डन जित्ने किर्तिमान भंग गरे।

फेडेररको यसपटकको यात्रा पनि उत्कृष्ट रह्यो। उपाधि यात्राका क्रममा उनले कुनै पनि सेट हारेनन्। यसअघि सन् १९७६ मा जोर्न बोर्गले बिम्बल्डन जित्दा पनि यस्तै भएको थियो। ‘आठपटक उपाधि जित्नु विशेष कुरा हो।

बिम्बल्डन सधैं मेरो फेवरेट प्रतियोगिता हो र बिम्बल्डनको इतिहासमा नाम लेखाउनु पाउनु निकै सुखद अनुभव हो,’ फेडेररले भनेका छन्।

फेडेररले पहिलो पटक सन् २००३ मा बिम्बल्डन जितेका थिए। उनले आफ्नो करियरमा ८ पटक बिम्बल्डन, ५ पटक अस्ट्रेलियन ओपन, ५ पटक युएस ओपन र १ पटक फ्रेन्च ओपन जितेका छन्।

Loading...