काठमाडौं, १६ असार । तराईका जिल्लाको रैथाने रोग मानिने कालाजार पछिल्लो समय पहाड हुँदै हिमाली जिल्लातिर पुगेको छ।
नेपालमा सन् १९८६ देखि कालाजार फेला परेको हो । प्रत्येक वर्ष विभिन्न जिल्लामा फैलिँदै गएको यो रोग यस वर्ष हिमाली जिल्लाका तल्लो भागहरूमा समेत देखिएको स्वास्थ्य सेवा विभाग इपिडियोमोेलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा भेक्टर कन्ट्रोल शाखाका अनुसार तीन वर्षयता हुम्ला, मुगु, बाजुरा, डोल्पा लगायतका हिमाली जिल्लाहरूमा पनि कालाजारका बिरामी भेटिएका छन् । ओखलढुंगा, प्युठान, पाल्पा, सुर्खेत, भोजपुर लगायतका जिल्लामा केही वर्षदेखि कालाजार बढ्दै गएको छ ।
सेनफ्लाइ भन्ने भसुुनाले टोकेपछि मानिसमा कालाजार संक्रमण हुन्छ । यो संक्रमण शरीरमा प्रवेश गरेपछि कलेजो, फियो हुँदै रगतका सेलहरूमा समेत पुगेर क्षति गर्छ । सेनफ्लाइ भुसुनाले लेसमिनियासिस नामक परजीवि सार्छ।
यो भुसुना गोबर, गुइँठा, गोठ, चिरा परेका पर्खाल, ओसिलो ठाउँ, मुसा बस्ने प्वाल, कच्ची घर तथा गाईवस्तु र मान्छेसँगै घरमा बस्छ । यो भुसुनाले टोकेको दुईदेखि ६ महिनाभित्र लक्षण देखिन्छन् । यो भुसुना फैलिने उपयुक्त तापक्रम १६ देखि ३० डिग्री हो । यो भुसुना फागुनदेखि असार-साउनसम्म बढी सक्रिय हुन्छ ।चालू आर्थिक वर्ष अर्थात् सन् २०१८ को मार्चदेखि हालसम्म मात्र कालाजारका ६० बिरामी भेक्टर नियन्त्रण शाखामा दर्ता भएको तथ्यांक छ ।
‘यो बढी संख्यामा छ । कतिपय जिल्लाबाट बिरामीको तथ्यांक आइपुगिसकेका छैनन्,’ शाखाका भेक्टर नियन्त्रक सहायक उत्तम प्याकुरेलले भने । गत वर्षको तथ्यांकअनुसार सबैभन्दा बढी पाल्पामा १७ जनामा संक्रमण देखिएको थियो । तराईका १३ जिल्लाबाट सर्दै गएर ५२ जिल्लामा देखापरिसकेका छन् । गत वर्ष सर्लाहीको राइटरखोर गाउँमा कालाजार प्रकोप फैलिएको थियो ।
पछिल्लो चरणमा पहाडदेखि हिमाली जिल्लाहरूमा कालाजार फैलिरहेको विषयमा विश्व स्वास्थ्य संगठनले अध्ययन गरिरहेको भेक्टर नियन्त्रण शाखाले जनाएको छ । यो रोग संक्रमित मानिसलाई भुसुनाले टोकेपछि सर्ने र संक्रमित भुसुनाले स्वस्थ मानिसलाई टोक्ने क्रममा नयाँ व्यक्तिमा सर्छ ।
विश्व तापमान असरकै कारण नेपालमा यो रोगका भुसुना फैलिन पाउने वातावरण बन्दै गएको हुन सक्ने अनुमान इपिडियोमोलोजी नियन्त्रण महाशाखाका प्रमुख डा.केदार सेन्चुरी बताउँछन् । उनी भन्छन् ,‘ग्लोबल तापमानकै कारण मलेरिया र कालाजार नियन्त्रण हुन सकेका छैनन्।’
सफाइको उचित व्यवस्थापन नहुनु, तापक्रम वृद्धिका कारण हिमाली तथा पहाडी जिल्लामा समेत यो भुसुनाका लागि अनुुकुल वातावरण बन्नु, आवातजावतमा भएको वृद्धि, खुला सीमानालगायत कारण यो समस्या बढेको हो । ‘गत वर्ष ललितपुरमा कालाजार देखियो । कारण थियो, ट्रकमा लिएको काठसँगै भुसुना आएका थिए,’ डा. सेन्चुरीले भने ।
पहाडी तथा हिमाली जिल्लाका बालबालिकामा मात्रै यो रोगको संक्रमण देखिनुले खुला सीमानाकै कारणले मात्र हुन नसक्ने अनुमान भेक्टर नियन्त्रण शाखाका भेक्टर नियन्त्रक सहायक प्याकुरेलको छ । ‘पछि मात्र पहिचान भएको हुन सक्छ।
यी भुसुना रैथाने पनि हुन सक्छन्,’ प्याकुरेलले भने । पहिलादेखि नै रहिरहेका कालाजार पछिल्लो समय सरकारले स्वास्थ्यकर्मीलाई तालिम दिएपछि पहिचान भएको हुन सक्ने प्याकुरेल अनुमान गर्छन् । यो कालाजारको भुसुनाले बसाईं सारेको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनको अनुमान छ । ‘अस्ति अस्पतालमा डोल्पाबाट कालाजारका बिारमी आए, यो हेर्दा कालाजारको भुसुनाले बसाईं सारेको देखिन्छ,’ उनले भने।
पहाडी र हिमाली जिल्लामा समेत कालाजार फैलिरहेका कारण सरकारले सन् २०१८ भित्र यो रोग नियन्त्रण गर्ने लक्ष्य अन्योलमा परेको नियन्त्रक प्याकुरेलले बताए । तर सबैतिर रोग पहिचान गरी समयमै उपचार गर्नमा भने सरकार सफल हँुदै गएको उनको दाबी छ । त्यसका साथै यो रोग नियन्त्रणका लागि सरकारले शंकास्पद ठाउँहरूमा विषादी छर्केर कालाजार फैलाउने भुसुना मार्दै आएको छ । बजेट अभावले सबै ठाउँमा पर्याप्त विषादी छर्किन नसकेको प्याकुरेलको भनाइ छ ।
चिकित्सकका अनुसार कालाजार भुसुनाले टोकेको दुईदेखि ६ महिनाभत्रि लक्षण देखिन सुरु गर्छ । विस्तारै कलेजो, फियो सुन्निने हुँदै रगतमा प्रवेश गरी रगतका कोषहरू पनि नष्ट गर्छ । समयमै उपचार नभएमा या योभन्दा पहिला नै अन्य रोगहरू भएका मानिसमा जटिल समस्या आउँछ ।
समयमै उपचार नपाएमा यो रोगको कारण मृत्युसमेत हुन सक्छ । यो रोग लागेपछि दुई हप्ताभन्दा बढी समय ज्वरो आउने, मान्छे दुब्लाउँदै जाने, भित्री अंग फियो र कलेजो सुन्निँदै जाने, दायाँ पेट ठूलो हुने र थोरै खाए पनि अघाएजस्तो हुने लगायतका लक्षण देखिन्छन् ।
यो रोग लागिसकेपछि नियमित औषधि सेवन गरेमा निको हुन्छ । औषधि लागि चिकित्सकको निगरानीमा मात्र सेवन गर्नुपर्छ । हाल नेपालका अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल र मेडिकल कलेजहरूमा कालाजारको उपचार हुने गरेको छ । शंका लागेको खण्डमा स्थानीय स्वास्थ्यकर्मीले सिफारिस गरी सुविधासम्पन्न अस्पतालहरूमा पठाउने व्यवस्था छ ।
यो रोगबाट बच्न पहिला त भुसुनाको टोकाइबाटै बच्नुपर्ने चिकित्सक बताउँछन् । गाईवस्तु र माटोका प्वाल भएको घरमा यो बस्ने हुनाले त्यस्तो वातवरण नराख्ने र घरका प्वालहरू टालेर वातवरण सफा राखेमा यो रागेगबाट बच्न सकिने उनीहरू सुझाव छ ।