कमल बुढा, काठमाडौं ।
जनयुद्धका बेला ओखलढुंगाका उज्जनकुरमा श्रेष्ठको हत्या गरेको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका पूर्वमाओवादी नेता तथा पूर्व सभासद बालकृष्ण ढुंगेल जेल मुक्त भएका छन् ।
सरकारले आममाफी दिएपछि जेल मुक्त भएका ढुंगेलले मंगलबार बिहान पेरिसडाँडास्थित शहिद स्तम्भमा फुलमाला अर्पण गरे । त्यसपछि त्यहाँ उपस्थित उनका समर्थक शुभचिन्तकलाई सम्बोधन गर्दै सरकारको यो निर्णयप्रति खुसी वा दुखी केही पनि नभएको बताएका छन् ।
सम्बोधनका क्रममा उनले आफ्नो गिरफ्तारी र त्यसपछि जेल जीवन विताइराख्दा पनि आफुले गणतन्त्रका लागि गरेको योगदानप्रति सद्भाव दर्साएर निरन्तर उत्प्रेरणा दिने साथीहरूलाई अभिभादन गरे ।
‘म रिहाइ हुनुहुदैन भनेर जसरी रिट पर्यो, त्यो युद्धमा शान्ति र शान्तिमा युद्ध चाहने, गणतन्त्र नचाहाने र डलरको खेती गर्नेहरूप्रति घृणा गर्दछु ।’ उनले भने- ‘एउटा मान्छेले समाज परिवर्तनका निम्ति गरेको त्याग र योगदानको अवमूल्यन गर्दै देशमा गणतन्त्र माग गर्दाखेरी सङ्कटकाल लगाइयो, मलाई हिरासतमा ल्याइयो, त्यहाँ दिएको यातनाले किड्नी ड्यामेज गराइयो ।’
आफुले गणतन्त्र माग्दा त्यतिबेला गणतन्त्र किन मागिस् भनेर किड्नी ड्यामेज गर्ने शेरबहादुर देउवाहरू फेरि गणतन्त्र आएपछि गणतन्त्रका मालिक बनेर आफुलाई गिरफ्तार गरेर जेलमा सडाउने कोसिस गरेको भन्दै ढुंगेलले आक्रोश पोखे ।
‘र अहिले जुन परिदृश्यमा घटनाक्रमहरू विकास भइरहेका छन्, त्यसले गणतन्त्र जसले लडेर ल्यायो त्यसकोे गणतन्त्र अपहरण गर्ने दुस्साहस गरिएको छ ।’ उनले भनेका छन्- ‘म र मेरो ज्यान रहेसम्म गणतन्त्र अपहरण गर्न दिने छैन । म आफ्नो कर्तव्यमा लागिरहने छु । म अहिले त्यति धेरै खुशी र धेरै निराश पनि छैन । यो एउटा सङ्घर्षको जीवन हो । यस क्रममा फेरि मेरो कारागार बाहिरको जीवन सुरु भएको छ ।’
उनले आगमी दिनमा यो देश र जनताका लागि आफ्नो क्षतमाले भ्याएसम्म काम गर्ने बचन पनि ब्यक्त गरेका छन् । जनयुद्धमा ज्यान गुमाउने शहिदहरुले देखाएको सपना पुरा गर्न आफु लागिपर्ने ढुंगेलले बताए । उनले आफु द्वन्द्व व्यवस्थापन र राज्यको समृद्धिका लागि, समाज, न्याय, समानता र स्वतन्त्रताका लागि लड्ने प्रतिबद्दता पनि जाहेर गरे ।
आफु जेलबाट छुट्दा फेरि पनि डलरवादीहरूले आफुलाई मैदानमा आउन नदिनका लागि दुस्साहस गरेको भन्दै उनले त्यसका विरुद्ध सरकारले पनि आँट गरेकोले सरकारलाई पनि धन्यवाद दिएका छन्।
आफ्ना बिरुद्ध सड्यन्त्र गर्ने ओकिल र प्रायोजित समाचार लेख्ने पत्रकारहरुलाई उनले एक थाल भातमा बिक्री हुने पत्रकार, एक थाल भातका निम्ती कालो कोट लगाएर अदालत धाउने कथित वकिलहरू भनेका छन् ।
‘बालकृष्ण ढुङगेललाई सजाय भुक्तान गरिसकेपछि पनि छोड्नु हुँदैन भनेर रिट हाल्दा म सर्वोच्च अदालतालाई सम्मान गर्छु तर त्यो रिट खारेज हुनुपथ्र्यो । यति लामो बहस गरिराख्नुपर्ने विषय थिएन भन्ने मेरो बुझाइ छ ।’ उनले भने- ‘यो फेरि मेरो अदालतप्रतिको अपमान होइन । मेरो अनुरोध थियो, यो सुरुमै खारेज हुनुपथ्र्यो ।’
उनले यत्रो नौटङ्की गर्नुपर्ने र दिनेश त्रिपाठीजस्ता मान्छेलाई फोरम दिनुपर्ने अवस्था नै नरहेको भन्दै यो देश सङ्कटकालमा लपेटिँदै गर्दा दिनेश त्रिपाठीहरू कसका जुत्ता चाट्दै थिए ? भन्ने प्रश्न गरे ।
आफुलाई जनयुद्धकालमा जेल हालेर, हिटरमा पिसाब फ़ेराएर किड्नी ड्यामेज गराउने र देशमा संकटकाल लगाएर गणतन्त्र माग गर्नेहरुका टाउकाको मूल्य तोक्नेहरुको हिसाबकिताब गणतन्त्र प्राप्तिपछि हुन्छ होला भन्ने सोचे पनि त्यस्तो हुन नसकेको बताए ।
बाँकी थप उनको सम्बोधन उनकै शब्दमा जस्ताको त्यस्तै
यस्ता अपराधीहरुले देशको गणतन्त्र हेरेर पश्चतापका आशुं बगाउछन् होला भन्ने सोचेको थिए तर पछि तिनै टाउकाका मूल्य तोक्नेहरु, संकटकाल लगाउनेहरु, नागर्जुङ्गका जंगलमा लगेर योद्धाहरु बेपत्ता पर्नेहरु मालिक बन्न पाएपछि बालकृष्ण ढुंगेल जानु थियो । कारागार म गए आज फेरी रिहा भएको छु । म न्यायालयको बेन्चबाट न्याय बलात्कार भएको बलात्कृत पात्र हुँ ।
मेरो भागमा परेको गणतन्त्र अपहरणमा परेको बालकृष्ण ढुंगेल हुँ । अब अरु बालकृष्ण बन्न नपरोस कसैको पनि गणतन्त्र अपहरणमा नपरोस । म जस्तै अरु कसैको न्याय बलात्कृत नहोस ! म सर्बोच्च अदालतको बेञ्चमा बस्नुहुने सम्माननिय न्यायाधिशज्यूहरुलाई अनुरोध गर्न चाहन्छु । त्यो न्यायालयबाट जनताले न्यायको अपेक्षा गर्दछन ।
बालकृष्ण ढुंगेलकै जस्तो न्याय बलात्कार गरेर अपराधि कसैलाई पनि नबनाइयोस । म सम्मान गर्छु उहाहरुको इजलासलाई, मलाइ अहिले सर्बोच्च अदालतमा मानहानिको मुद्दा छ ।
मैले हजारौ पटक बोले होला म बाल कृष्ण ढुंगेल राजनीतिक योद्धा हु । म राजनीतिक आन्दोलनमा समाहित थिए । दश बर्षको जनयुद्दमा जति पनि घटनाहरु घटे, ति पार्टीका निर्णय अन्तर्गत घटे, यी पार्टीका कुरा हुन् मेरा कुरा हैनन् । तर नत पत्रकार मित्रहरुले ति कुराहरुलाई लेखि दिनुभयो । न न्यायाधिशहरुले मिसिल पढि दिनुभयो। न ओकिल मित्रहरुले बहस गरि दिनुभयो ।
सबैलाई चाहिदो रहेछ एक थाल भात, त्यो पनि मिठो स्वादको ! सबैलाई चाहिदो रहेछ एक गिलास रक्सि त्यो पनि निकै ठुलो ब्रान्डको ! मैले भात खुवाउन सकिन होला, मैले रक्सि पिलाउन सकिन होला । त्यसकारणले मेरो समाचार, समाचार बनेन तर म दिनेश त्रिपाठीलाई धन्यबाद दिन चाहन्छु । उहाँले पछिल्लोपटक बालकृष्ण ढुंगेलको मुद्दा राजनीतिक मुद्दा हो भनेर आफै लेख्नुभयो ।
र आज प्रत्येक मिडियाका कभरेज फोटोहरुमा बालकृष्ण ढुंगेलको मुद्दा टीआरसी माफर्त हल गर्नुपर्छ । जेनभा कन्मेन्सन अन्तर्गत हल गर्नुपर्छ । यो सामान्य न्यायालयको मात्रै क्षेत्राधिकार भित्रको कुरा हैन । त्यस कारणले गर्दा यसलाई युद्द अपराधि घोषणा गर्नुपर्छ भनेर उनीहरुले नै भने । र मैले बच्चाबेला देखि नै सुन्दै आएको थिए अन्तत: सत्यको जित हुन्छ ।
दिनेश त्रिपाठी र सुबोध प्याकुरेल जस्ता एक थाल भातका भतुवाहरुले पनि अन्तिममा आएर बालकृष्ण ढुंगेल योद्दा हो भनेर भने । त्यस कारणले मैले उनीहरुलाई धन्यबाद दिन चाहन्छु । सत्य ओकलिदो रहेछ । जिब्रोमा लुतो सल्किए जस्तै सकसक लाग्दो रहेछ । उहाँहरुले सक्सकाउदै सर्बोच्च अदालतमा रिट हालीदिनुभयो । त्यसकारणले आज प्रमाणित भयो । मैले बोल्नु परेन ।
हाम्रो पार्टीका आदरणीय अध्यक्ष जनयुद्धका कमाण्डर प्रचण्डले बिज्ञप्ति निकाल्दा पनि बालकृष्ण ढुंगेलको मुद्दा राजनीतिक मुद्दा बनेन । तर आज आएर सुबोध प्याकुरेल जस्तो मान्छे जो मानबअधिकारको ठेकेदार हुनुहुन्छ । उहाँको सस्थाबाट निकालेको बिज्ञप्ति म पत्रकार, ओकिल, बिद्यार्थी, बुद्धिजिबी साथीहरु सबै लेखपढ गर्न सक्ने, जान्ने मित्रहरुलाई एक पटक अध्ययन गर्नका निम्ति अनुरोध गर्छु ।
बेइमानी कति हुन्छ ? पैसाका निम्ति पैसा कमाउनका निम्ति ? बेइमानी गर्नेहरुलाई मानबअधिकारबादी हौ भन्ने छुट हुन्छ कि हुदैन ? म एउटा यो सहिद स्तम्भका अगाडी उभिएर प्रश्न गर्न चाहन्छु । म आज त्यति धेरै कुरा राख्ने पक्षमा छैन। शहिदहरुको रगत बेचेर खान नपरोश, शहिद परिवारहरुको मझेरीमा गएर उहाँहरुका भाबनामा लात हान्दै ठगेर खान नपरोस । जबसम्म यो धर्तीमा म बालकृष्ण जीवित रहन्छु । कसैलाई ठगे भनेर मैले आत्मगलानी भएर चाही स्लिपिङ् ट्याब्लेटसंग मेरो जिन्दगी साट्न नपरोस ।
आज मुटु बिरामी जाच्ने मेसिन रहेछ, किड्नी बिरामी जाच्ने मेसिन रहेछ, तर आट जाच्ने मेसिन आएको दिन म त्यो मेसिनमा बस्न तयार छु । पाप जाच्ने मेसिन एक्सरे आयो भने म त्यो मेसिनमा बस्न पनि तयार छु । झुपडी र आगन छैन । मर्दा पोल्ने चिहान छैन। अझै हामी श्रमिकहरुको झुल्के घामको बिहान छैन ।
अनबरत त्यही बिहानीको निम्ति लडिरहनुहुने सम्पूर्ण आम क्रान्तिकारी जनसमुदायप्रति क्रान्तिकारी अभिबादन गर्दै म पनि तपाइहरुसंगै अनबरत लडिरहनेछु । जबसम्म यो माटोमा ज्युदो रहनेछु भन्दै बिदा हुन्छु र शहिदहरुप्रति बेपत्ता योद्धाहरुप्रति र गणतन्त्रका निम्ति डालोको डालो पिठो सिध्याउने, कान्लाका कान्ला सिस्नो सिध्याउने सबै बाआमाहरुप्रति हार्दिक सम्मान ब्यक्त गर्दछु । हवस अभिबादन !!