गोविन्द केसीलार्इ सर्वोच्चमा पेश गरियो, बाबुराम भट्टरार्इदेखि गगन थापासम्म सडकमा

काठमाडौँ, २५ पुस । महाराजगञ्ज टिचिङ अस्पतालमा अनसनस्थलबाटै पक्राउ परेका डा. गाेविन्द केसीलार्इ अाज बिहान ९ बजे नै सर्वाेच्च अदालतमा पेश गरिएकाे छ । सर्वाेच्च अदालतकै प्रधानन्यायाधिश गाेपालप्रसाद पराजुलीका विरुद्ध अनसन बसेका केसीलार्इ साेमबार प्रहरीले गिरफ्तार गरेकाे थियाे ।

केसीलाई अदालतको अबहेलना गरेकाे मुद्दामा सर्वाेच्चले पक्राउ गर्न अादेश दिएकाे थियाे । एक रात अनामनगरमा रहेकाे प्रहरी हिरासतमा राखेर केसीलार्इ बिहानै सर्वाेच्चका मुद्दा महाशाखाका प्रमुख नारायण पन्थीको कार्यकक्षमा पुर्याइएकाे हाे ।

केसीसँगै उनका कानुन व्यवसायी सुरेन्द्र भण्डारी मुद्दा महाशाखामा उपस्थित भएका थिए । केसीकाे पक्राउ विरुद्ध प्रदर्शन हुने अाशङ्कामा अाज बिहानैदेखि सर्वोच्च अदालत वरपर बिहानदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा कडा गरिएको छ ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली साढे ९ बजे अदालत आए पनि पेसी सूची सार्वजनिक भएको छैन । सर्वोच्च अदालतले चार वर्ष पुरानो मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा. शशि शर्मालाई पुनर्बहाली गरेको भन्दै केसी सोमबार अपरान्ह ४ बजेदेखि अनसन बसेका थिए । केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै अनशन बसेलगत्तै अदालतमा मुद्दा दायर भएको थियो ।

यसैबीच केसीकाे गिरफ्तारीकाे विराेध गर्दै अाज बिहानै माइतीघर मण्डलामा विराेध प्रदर्शन गरिएकाे छ । बिहान ८ बजेदेखि नै राजनीतिक दलका नेता, पेसाकर्मी, कलाकार, विद्यार्थी तथा केसी समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रलगायतका नेताहरु समेत सहभागी भएका थिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराई बिहानै केसीलार्इ राखिएकाे अनामनगरकाे प्रहरी कार्यालयमा पुगेका थिए ।

Loading...