स्वास्थ्य संस्थाका नयाँ भवन चाबी लगाएर राखियो, बिरामीलाई ट्रस्टबाट सेवा

ओखलढुंगा, २ असोज । मोलुङ गाउँपालिकाको दुई स्वास्थ्य संस्थाका भवन प्रयोगविहीन भएका छन् । नयाँ भवन निर्माण भए पनि आवश्यक पूर्वाधार व्यवस्थापन नहुँदा प्रयोगविहीन बनेका हुन् ।

मोलुङ गाउँपालिका-२ स्थित रामपुरमा पाँच वर्षदेखि निर्माणाधीन भवन अझै हस्तान्तरण भएको छैन । ठेकेदारले निर्माण सके पनि हस्तान्तरण नगर्दा पुरानो जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । भवनका झ्याललगायत केही काम बाँकी छ ।

त्यस्तै, मोलुङ ४ हर्कपुरको भवन निर्माण सकिएर हस्तान्तरण भइसकेको छ । भवन हस्तान्तरण भए पनि आवश्यक फर्निचर तथा अन्य भौतिक सामग्री नहुँदा प्रयोगमा ल्याइएको छैन । अस्थायी रूपमा निर्माण गरिएको साँघुरो ट्रस्टाबाट स्वास्थ्य चौकीले सेवा दिइरहेको छ ।

साँघुरो भवनमा विरामी बस्ने प्रतीक्षालय र प्रशासनिक कक्षसमेत अभाव छ । भवन बने पनि यसलाई आवश्यक फर्निचरलगायत अन्य उपकरण नहुँदा भवन प्रयोगमा नआएको वडाध्यक्ष मानबहादुर तामाङले बताए । ‘नयाँ भवनमा आवश्यकताअनुसार उपकरण तथा फर्निचर छैनन्, त्यही कारण उपयोगमा नल्याएको हो,’ तामाङले भने ।

वडा कार्यालयले खरिद गर्न नसक्ने, पालिकाले योजना बनाए पनि कोभिड नियन्त्रणमा बजेट खर्च भएकाले भवन प्रयोगमा नल्याएको उनको दाबी छ । सुविधा सम्पन्न भवन चाबी लगाएर राखिएको छ, तर सेवाग्राही बस्ने प्रतीक्षालयसमेत नभएको सँगैको अस्थायी ट्रस्टबाट सेवा दिन बाध्य भएको स्वास्थ्यकर्मी बताउँछन् ।

गाउँपालिकाको स्वास्थ्य शाखाले चासो नदिएपछि भएका पूर्वाधारसमेत प्रयोगमा आउँदा सेवा प्रवाह प्रभावित भएको छ । साँघुरो ठाउँमा सेवा दिनुपर्ने, गोप्य परामर्श दिनुपर्ने विषयमा छुट्टै व्यवस्थित कक्ष नहुँदा समस्या हुने गरेको छ । रामपुर र हर्कपुरका भवन प्रयोगमा ल्याउनेबारे पालिकाले चासो दिएको छैन । पालिकाले दाताले स्वास्थ्य चौकीहरूलाई पठाएका स्वास्थ्य उपकरणसमेत वितरण नगरेर स्टोरमा राखेको छ ।

नागरिक समाजका प्रतिनिधि तथा पत्रकारहरूले स्वास्थ्यसंस्थाको सेवा प्रवाहको अनुगमनसमेत गरेर ध्यानाकर्षण गराए पनि कार्यान्वयन भइनसकेको नागरिक समाजका बोधनाराण श्रेष्ठले बताए ।

Loading...