कालोपत्रे सडक भन्दा ढलान सडक गुणस्तरीय र टिकाउ बन्दै

रसुवा, २ असोज । रसुवामा कालोपत्रे सडकभन्दा सिमेन्टेड (ढलान) सडक गुणस्तरीय र टिकाउ बन्दै गएको पाइएको छ । अधिक वर्षा, हिमपात तथा चिसो हुने रसुवाको उच्च हिमाली क्षेत्रमा कालोपत्रे सडकभन्दा ढलान सडक बढी टिकाउ बन्दै गएको पाइएको हो ।

सडक डिभिजन कार्यालय नुवाकोटले कालोपत्रे सडक टिकाउ नभएपछि अघिल्लो वर्षदेखि सडकमा सिमेन्टेड (ढलान) सुरु गरेको थियो । अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी पुग्ने जिल्लाको स्याउवारिदेखि रसुवागढीसम्मको सडक साँघुरो र खाल्टाखुल्टी रहेको छ । जसले गर्दा आवतजावतमा कठिनाइ हुने गरेको छ ।

सवारी सञ्चालनमा कठिनाइ भएका स्थानमा सडक ढलानको कार्यलाई तीव्रता दिँदै गएको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।
भौगोलिक अवस्थितिका कारण पासाङलाम्हु सडकअन्तर्गत रसुवाको स्याउवारिदेखि स्याफ्रुबेसीसम्म २८ किलोमिटर सडक मध्ये आठ किलोमिटर सडक ढलान गरिसकेको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०७८/७९ मा राम्चे, ग्राङ, मुलखर्कलगाएका असहज स्थानमा सडक ढलान गरिने सडक डिभिजन कार्यालय नुवाकोटका इन्जिनियर राजेन्द्र महर्जनले बताए ।

ग्रेड नमिलेका, पानी जम्ने, घुम्ती तथा दोहोरो यातायात सञ्चालन भएका स्थानमा ढलानको कामलाई प्राथमिकता दिइएको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ । दुई दशक अघिदेखि मूलखर्क तथा राम्चेका विभिन्न स्थानमा सडकको अवरोध भोग्दै आएका यातायात सञ्चालक तथा रसुवाका उत्तरी क्षेत्रका बासिन्दामा पनि सिमेन्टेड खालको कामले दिगोपन बन्दै गएको बताएका छन् ।

स्थानीय छिरिङ तामाङले भने, ‘सडक कालोपत्रे त गरिएको छ । तर, एक वर्ष पनि टिकेन । विगतका वर्षमा गरिएको कालोपत्रेको कामलाई हेर्ने हो भने दुई महिना पनि टिकेको छैन । त्यो भन्दा सिमेन्टेड गरिएको सडक नै बलियो हुने गरेको छ।’

उत्तरी नाका रसुवागढीबाट चीन हुँदै आएको व्यापारलाई समेत सडक ढलानले सहजता मिल्ने देखिएको व्यवसायीहरूले बताएका छन् । प्रारम्भिक चरणमा कालोपत्रे सडकभन्दा ढलान सडकलागत बढी देखिए पनि दीर्घकालीन आर्थिक विश्लेषणले लागत न्यून हुने देखाएपछि सडक विभागले धेरै वर्षा तथा हिमपात र चिसो हुने उच्च हिमाली क्षेत्रमा कालोपत्रे सडक भन्दा ढलान सडक निर्माणलाई जोड दिएको हो ।

सडक विभागले गरेको पछिल्लो अध्ययनले आस्फाल्ट (बिटुमिन) कालोपत्रे सडक भन्दा सिमेन्टेड (ढलान) सडकको लागत १३ दशमलव ११ प्रतिशत न्यून पर्ने देखाएको छ । कालोपत्रे सडकको तुलनामा ढलान सडकको आयु लामो हुने, पानीले नबिग्रने, इन्धन खपत न्यून हुने जस्ता फाइदा रहेको बताइएको छ । दीर्घकालीन विकासको पक्षबाट हेर्दा ढलान सडक निर्माण गर्नुपर्ने देखिन्छ ।

Loading...