गठबन्धनबाटै ठाउँ ठाउँमा बुथ कब्जा गर्ने प्रयास, धादिङ र दाेलखामा झडप

धादिङ, १० मंसिर । देशका विभिन्न भागमा चुनावी गठबन्धनमा उत्रेकाहरुले नै बुथ कब्जा गर्ने प्रयास गरेकाे खबर प्राप्त भएकाे छ । बुथ कब्जा गर्ने प्रयास गरिएपछि ती क्षेत्रमा झडपका घटना पनि भएका छन् ।

यसैक्रममा धादिङमा वाम गठबन्धन र लाेकतान्त्रिक गठबन्धनकाबीच झडप भएकाे छ । धादिङको खनियाबास गाउँपालिकाको झार्लाङ बेन्दिदेवी मतदान केन्द्रलाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले कब्जामा लिएपछि त्यहाँ झडप भएकाे हाे । मतदान केन्द्रमा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई जानै नदिएपछि झडप भएकाे र प्रहरीले हस्तक्षेप गर्न खाेज्दा प्रहरी नै जान नसकेकाे बताइएकाे छ । झडपका कारण त्यस मतदान केन्द्रमा मतदान नै सुरु हुन नसकेको बताइएकाे छ ।

मतदान गर्न गएका वाम गठबन्धनका मतदातालाई लोकतान्त्रिक गठबन्धनका कार्यकनर्ताले ढुंगामुढा समेत गरेका थिए। ढुंगा लागेर वाम कार्यकर्ता अभिषेक तामाङ घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले वाम गठबन्धनका प्रतिनिधिलाई मतदाना केन्द्रमा जान नदिएका कारण मतदान रोकिएको बताए ।

त्यसैगरी दाेलखाकाे तामाकोशी गाउँपालिकामा पनि बुथ कब्जा गर्ने प्रयास भएकाे खबर अाएकाे छ । तामाकाेशी गाउँ पालिकाकाे जामुने मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । बुथ कब्जा गर्ने काेशिस भएपछि अहिले त्यस ठाउँमा थप सुरक्षाकर्मी बाेलाइएकाे छ । बुथ कब्जा गर्न नेपाली कांग्रेसका कार्यकर्ता लागेकाे वाम गठबन्धनले अाराेप लगाएकाे छ । वाम गठबन्धनका एक नेताले नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्व बुथ कब्जा गर्ने प्रयास भएकाे दावी गरे । 

बुथ कब्जा गर्न आएको समूहले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरेका थिए । उनीहरूले टाढाबाट गुलेलीले ढुङगा समेत प्रहार गरेका थिए । त्यसरी ढुङ्गा प्रहार भएपछि त्यहाँ भएकाे प्रहरीले समेत केही गर्न नसकेपछि थप सुरक्षाकर्मी माग गरिएकाे हाे । यही मतदान केन्द्रमा गत स्थानीय तहको चुनावमा पनि झडप भएकाे थियाे । त्यतिबेला पनि बुथ कब्जा गर्न खोज्दा झडप भएको थियो ।

Loading...