सूर्यबहादुर थापाका छोरा बनाइए काँग्रेस सहमहामन्त्रीमा मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापा नेपाली काँग्रेसको सहमहामन्त्री बनेको छन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा थापा समूहको व्यवस्थापन गरे प्रस्ताव पेस गरेका थिए । सोही अनुसार थापासँगै काँग्रेस प्रवेश गरेका अन्य ७ जना नेतालाई काँग्रेसको केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टि.एन. योगी (ललितपुर), दिलीप राई (झापा)लाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ भने कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्य रहेका छन् । साउन १३ गते सानेपामा सुनिल समूह राप्रपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेको थियो ।

यस्तै बैठकले सांसद सूर्यबहादुर केसीको निधनका कारण रिक्त समानूपातिक कोटाको सांसदमा मोहन पाण्डेलाई पठाउने निर्णय गरेको छ ।

यस्तै बैठकले क्रियाशील सदस्यताको विवाद विधिसम्मत टुंग्याउने निर्णय गरेको छ । अब मंसिर मसान्तसम्म ७७ वटै जिल्लाले केन्द्रलाई सदस्यताको सूची पठाउने निर्देशन दिएको छ ।

Loading...