हुम्लामा शिक्षाको सुनौलो घाम छर्ने गोठीगाउँ

हुम्ला । वर्तमानमा दुर्गम गाउँको रुपमा चिनिएको गोठी गाउँबाट नै हुम्लामा औपचारिक शिक्षाको शुरुवात भएको हो । जिल्लाको औपचारिक विद्यालय स्थापना भएको छ दशक पुगेको छ ।

गोठी गाउँ हालको सर्केगाड गाउँपालिको एक वडाको रुपमा चित्रित भएको छ । यो भन्दा अगाडि यो एक ऐतिहासिक गाउँको रुपमा चिनिन्थ्यो । यहाँ खशहरू वसोवास भएको हुम्लाको ऐतिहासिक, राजनीतिक र शैक्षिक महत्व बोकेको स्थान पनि हो । यसको कुल क्षेत्रफल ३९९.८१ वर्ग कि.मि. रहेको छ । यसले जिल्लाको कुल भूभागको ७.०७ % भाग ओगटेको छ । यहाँको जनसंख्या १४४४ छ भने बस्ती ६ वटा रहेका छन् ।

हुम्ला जिल्लामा आधुनिक शिक्षाको शुरुवात आजभन्दा ठीक ६० वर्ष अघि गोठी गाउँबाट भएको हो । यसका लागि यही गाउँका स्थानीय भलादमी सर्वश्री गोरखबहादुर शाहीको उल्लेख्य योगदान र लगानी रहेको छ । यसैको प्रतिफल स्वरुप आज गोठी गाउँ हुम्ला जिल्लाको एक शिक्षित गाउँको रुपमा चिनिएको छ तापनि सोचे अनुसारको गुणस्तर भने विकास हुन सकेन ।

भवानी प्राथमिक विद्यालयलाई हुम्ला जिल्ला कै पहिलो शिक्षण संस्थाको रुपमा लिइन्छ । यसको स्थापनासँगै हुम्ला जिल्लामा पनि औपचारिक रुपमा शिक्षाको विकासका लागि पाइला चालेको पाइन्छ । यसको श्रेय गोठी गाउँ निवासी गोरख बहादुर शाही र उनको सहयोगी समुहलाई दिइन्छ । राजनीतिक, प्रशासनिक, सामाजिक र बाहिर सम्पर्क नभएको समयमा पनि यस्तो दूरदर्शी विचारले हुम्लामा शिक्षाको उज्यालो छर्नु चानचुने कुरा थिएन ।

वि.सं. २०१४ साल चैत्र महिनाको बसन्तको शुरुवातसँगै कल्कलाउँदा मुना पालुवाहरूको उल्लासमय वातावरणको रमाइलो र घमाइलो याममा हुम्लाले एक नौलो आयामको आगतमा पाइला टेक्यो । जसले हुम्ली जनतालाई अ, आ, इ, ई र क, ख, ग, घको यात्रामा अगाडि बढाउने काम ग–्यो । यो यात्रा छ दशकदेखि हालसम्म निरन्तर रुपमा चलिरहेको छ र अझै निरन्तर चलिरहनेछ । यो यात्राले हुम्लीहरूलाई एक नौलो जीवन दिएको छ । नौलो समय दिएको छ । नौलो दिन दिएको छ । नौलो संसार दिएको छ । यसका यसका अगुवा थिए सर्वश्री गोरख बहादुर शाही, उनका सहयोगीहरू कुश बहादुर सिंह, सुरथ बहादुर शाही, गोर्ख बुढा, धर्मजीत शाही, रुपधन शाही र लोक बहादुर शाही आदिको भूमिका उल्लेख्य रहेको छ हुम्लाको शैक्षिक इतिहासको सुनौलो धरातमलमा ।

यो विद्यालय स्थापनाकाल वि.सं. २०१४ भएको हो भने स्थापनाकालदेखि २०१७ सालसम्म नीजिस्तरबाट सञ्चालित भएको थियो । यसका लागि गोठी गाउँका स्थानीय बासिन्दाहरूको मुठीदानको सरसहयोगले अविस्मरणीय र नौलो कामको शुरुवात गरेको थियो । उनीहरूकै श्रमको अनमोलताले यो विद्यालयले जीवन्तता पाएको हो ।

वि.सं. २०१४ सालदेखि २०२० सालसम्म यो विद्यालय संस्थापककै सञ्चालन भयो भने त्यसपछि चार कोठे भवन निर्माण गरिएको थियो । वि.सं. २०३५ सालबाट सरकारको आंशिक अनुदान र अधिकत्तम जनश्रमदानबाट यो विद्यालय भवनको पुनः निर्माण गरिएको थियो । हाल अति जीर्ण अवस्था रहेको यो विद्यालय भबन हुम्ला जिल्लाको शिक्षाको धरोहरको रुपमा विकास र विस्तार गरिनु पर्ने भए पनि स्थानीयहरूको उदासिनताका कारण भग्नाशेषका रुपमा उभिन बाध्य भएको छ ।

नयाँ शिक्षा लागु भएपछि यसैको धरतालमा उभिएर नजीकैको सर्केगाडमा जिल्लाको पहिलो माध्यामिक विद्यालय हिमचक्रको नाममा स्थापना हुँदा वि.सं. २०३२ सालपछि एकमुष्ठ सरकारी अनुदानमा स्थापना र निर्माण हुँदा झन यो विद्यालय ओझेल पर्दै गयो ।

यसपछि यो विद्यालय जिल्लाकै पहिलो विद्यालयको नाममा न त कुनै सेवा सुविधा र स्तर वृद्धि भयो न त विद्यालयको भौतिक, शैक्षिक तथा व्यवस्थापकीय पक्षमा सुधार भयो मात्रै सानो विद्यालयको भबनमा मात्रै विगत छ दशकदेखि निरन्तर यात्रामा अघि बढ्दैछ ।

जिल्लाबाट पहिलो प्रवेशिका तथा प्रविणता प्रमाणपत्र उतिर्ण गर्ने चक्र बहादुर शाही हुन् । यसैको परिणाम स्परुप यो गोठी गाउँले जिल्लामै पहिलो स्नातकोत्तर हुने अवसर पायो । जसको उदाहरण मंगल बहादुर शाही हुन् । जिल्लामै महिलाबाट पहिलो प्रवेशिका उत्तिर्ण गर्ने रत्ना शाही हुन् । जसलाई गाउँफर्क राष्ट्रिय अभियानमा नारी शिक्षाका लागि उदाहरण दिन गाउँ गाउँमा लिने गरिएको थियो । हाल यो गाउँ हुम्ला जिल्लाको एक शिक्षित गाउँको रुपमा परिचित भएको छ । यहाँको शैक्षिक जनशक्तिले गाउँदेखि राष्ट्रिय अन्तर्राष्ट्रिस्तरमा योगदान पु–याएको छ । साथै जिल्लाको शैक्षिक र राजनीतिक धरातलमा पनि गोठी गाउँको स्थान राम्रै रहेको छ ।

अमिवा आकारको हुम्ला जिल्लाभित्रको एक अनकण्टार गाउँ जसले हुम्लाको शैक्षिक धरातलमा सुनौलो अक्षर लेखिए पनि यसको बारेमा धेरै चर्चा परिचर्चा खोजीको विषय बनेको छ । यसको बारेमा धेरै सोधीखोजी गर्नु पर्ने देखिन्छ ।

Loading...