एक हप्तामै आन्तरिक हवाई उडान र लामो दुरीको यातायात खोल्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २९ भदौ । कोरोना भाइरसको महामारीका कारण बन्द भएको हवाइ यातायात र लामो दुरीका यातायात सेवा अब एक हप्तामै सुचारु हुने भएका छन् ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक हवाइ यातायात सेवा र लामो दुरीका यातायात सेवा असोज ५ गतेबाट खोल्ने निर्णय गरेको हो । यसअघि सरकारले यी दुबै सेवा खोल्नका लागि पटक पटक समय निर्धारण गर्दै र समय सार्दै आएको थियो । कोरोना भाइरस फैलिन नदिनका लाग देशमा लकडाउन र निषेधाज्ञा जारी गरिएपछि धेरै क्षेत्र बन्द भएका छन् ।

यसअघि लकडाउन खुकुलो बनाइँदा एकै जिल्लाभित्रका यातायात सेवा सूचारु भए पनि अन्तर जिल्लामा चल्ने यातायात भने खोलिएको थिएन । साथै यसअघि सरकारले काठमाडौ भित्रिनेहरुलाइृ अनिवार्य पिसिआर परिक्षण गरि रिपोर्ट देखाउनुपर्ने र १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम पनि बनाएको थियो ।

सरकारले गरेका उक्त निर्णयका बारेमा विभिन्न प्रतिक्रियाहरु आएका थिए । सोही अनुसार सरकारले अब असोज ५ गतेबाट सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको हो ।

चैत ११ बाट सुरु भएको १ सय २० दिन लामो लकडाउन सरकारले साउन ७ गते खोलेको थियो। कोरोना संक्रमण बढ्न थालेपछि फेरि भदौ ३ देखि २४ गतेसम्म २१ दिन निषेधाज्ञा लगाएको थियो।

निषेधाज्ञा खुलेलगत्तै सरकारले विस्तारै जनजीवन सामान्य बनाउँदै लगेको छ। सोही आधारमा आज बसेको मन्त्रिपरिषद यो निर्णय गरेको हो । सरकारले यसअघि नै अन्तराष्ट्रिय उडान खुला गरिसकेको छ।

Loading...