नेवाः समुदायलाई गाली गलौजका शब्दवाणहरू किन ?

 

ललितपुरमा बिहीबार रथ जात्रामा झडप भएपछि विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमा नेवाः समुदायलाई गाली गलौजका शब्दवाणहरू प्रयोग गरिएको देखियो । नेवा: सांस्कृतिक पहिचान र परम्परालाइ नबुझेर केवल झडपलाइ लिएर यसरी गालीगलाेज गरिनु नेवाः भावनामाथि गरिएको आक्रमण हो । जुन निन्दनीय छ । यस्ता कार्यको घोर बिरोध गरिनुपर्दछ ।

लेखक

यसअघि सडक विस्तारको नाममा नेवाःहरूको घर भत्काउन थालियाे । त्याे कार्यका बिरूद्धमा नेवाःहरू सडक आन्दोलनमा उत्रिए । त्यतिबेला पनि यस प्रकारका गाली गलौजका शब्दहरू नेवाः बिरूद्धमा प्रयोग गर्न थालिएको थियाे । राज्यले यसरी फुक्यो कि नेवाःहरू अतिक्रमणकारी, सरकारबाट मुआब्जा बुझेर पनि ठाउँ नछाड्ने अटेरी, विकास विरोधी, सरकारको काममा साथ नदिने आदि ईत्यादि मित्थ्या आराेपहरु लगाइयाे । यसरी फुकेपछि हो न हो, नेवाःहरू यस्तै हुन्छन् भन्ने अरू समुदायका मान्छे र उपत्यका बाहिर बस्नेहरु सबैमा यस्तै सोच बन्याे ।

देश विकासको नाममा जति पनि योजना परियोजनाहरू आए, ती पनि काठमाडौंमा नै केन्द्रीकृत हुने खालको ल्याएर यहाँका नेवाःहरूलाई चिढाउने र आन्दोलन गरे बदनाम गर्ने कुचेष्टा गरियो । गुठी विधेयकमा त्यस्तै भयाे । नेवा:हरु सडकमा उत्रिएपछि नै उक्त विधेयक फिर्ता लिइयाे ।

खोकनाको घाउ आलै छ । जो जो यस आन्दोलनमा सरिक भए तिनका बिरूद्ध नेवाः होस् वा गैर-नेवाः, सबै अरिङ्गाल जसरी खनिए । गाली गर्नेहरूको कमी थिएन । विकास बिरोधी नै भने । मुअब्जा बुझेर ठाउँ नछाड्ने पनि भने । केही मिडियाहरूले सकारात्मक समाचार संप्रेषण गरेपछि भने अन्तर्राष्ट्रियकरण भयो र सरकार पछि हट्यो ।

पछिल्लो समयमा जहाँ जे जसरी आन्दोलन भए नेवाःहरूको मात्रै भईरहेको छ । सरकारले नेवाःहरूकाे संस्कृति र सम्पदालाई समुल नष्ट गर्न खोजेको भान हुन थालेको छ । यसरी नेवाःहरूको भावनामा ठेस पुग्ने गरी गाली गलौजमा उत्रिई जातीय हिंसा गर्न उक्साईरहेको देखिन्छ । अबका नेवाः युवाहरू यस प्रकारको हिंसा सहने खालका छैनन् । जगजाहेर छ, नेवाःहरूको मनाेरञ्जनात्मक आन्दोलन हुने गर्दछ ।

नेवाःहरूको जस्तो मनोरञ्जनात्मक विविधता युक्त संस्कृति, परम्परा विश्वमा सायदै होला । साथै नेवा: आन्दाेलन पनि सधै शान्तिपूर्ण नै छ । जति नै शान्तिपूर्ण आन्दोलन भनिए पनि झडप हुने सम्भावनालाई नकार्न सकिन्न । आन्दोलनमा जाने भनेपछि ठाउँ अनुसार लाठो बोक्ने, सांकेतिक ब्यानर, टायर बाल्ने, पेट्रोलका पोका बोक्ने, नग्नता प्रदर्शन गर्ने लगायत सांकेतिक रूपमा अन्य कार्य गर्ने गर्दछन् । हामी नेवाः मात्रै हौं, जस्तोसुकै आन्दोलनमा पनि धिमे र झ्याली पिट्दै, तालमा नाच्दै मनाेरञ्जनात्मक आन्दोलन गर्छौं ।

अन्ततः आन्दोलन, आन्दोलन नै हो । जसको कुनै रूप र बाटो हुन्न । जस्तोसुकै रूप लिन सक्छ । यस्तो कार्य गर्न हुन्नथ्यो, यस्तो हुनुपर्थ्यो भन्ने हुँदैन । जित्न कै लागि लडिरहने छन् । त्यसैले सरकार र राज्यका तत् निकायहरूमा आसिन माेहोदयहरूले आफ्नो क्षमता देखाउन सक्नुपर्छ । दुबै पक्षबाट भएका यस्ता निन्दनीय हर्कतलाई समयमै समाधान गर्न सक्नुपर्छ । नत्र, विकराल रूप लिन समय लाग्दैन । 

Loading...