कोरोना लागेर विमान चार्टर गरी काठमाडौं ल्याइएका जनकपुरका पूर्व मेयरको मेडिसिटी अस्पतालमा निधन

काठमाडाैं । कोराना भाइरस संक्रमणको कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ । ७३ वर्षका गिरीकाे मंगलबार राति काठमाडौंमा मृत्यु भएकाे हाे ।

१५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका गिरीको मंगलबार राति १२ बजेर १० मिनेटमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

जनकपुरको मिल्स एरियास्थित रामा होटलका सञ्चालकसमेत रहेका गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि श्री एयरलायन्सको विमान चार्टर गरेर काठमाडौं लगिएको थियो । कोरोना भाइरस संक्रमणसँगै उनमा अन्य जटिल समस्या पनि देखा परेका थिए ।

नेपाल परिवार नियोजन संघ धनुषाको २५ वर्षसम्म अध्यक्ष रहेका मृतक गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए । गिरीका दुई छोरा र श्रीमती छन् । उनका दुवै छोरा डाक्टर हुन् । ब्रुनाईमा रहेका गिरीका जेठा छोरा काठमाडौं फर्किसकेका छन् । कान्छो छोरा भने अस्‍ट्रेलियाको सिड्नीमा बस्छन् ।

Loading...